प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले लगभग साढे तीन महिनापछि पूर्णता पाएको छ । नेपाल सरकारले प्रतिष्ठानका प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्य नियुक्त गरी प्रतिष्ठानलाई पूर्णता दिएको हो । यसअघि २१ असोजमा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्य सचिवमा जगतप्रसाद उपाध्याय नियुक्त गरेका थिए ।

त्यसपछि अन्य प्राज्ञ नियुक्त हुन नसक्दा प्रतिष्ठानको कुनै विभागीय काम हुन सकेको थिएन । प्राज्ञ सिफारिस छनोट समितिले उपकुलपतिसहित सदस्यहरूलाई प्राज्ञ सभामा सिफारिस गरेपछि सोमबार शपथसँगै सदस्यले पदभार गरेका छन् ।

यस्तै, उपकुलपतिमा जगमान गुरुङ, प्राज्ञपरिषद् सदस्यमा दिनेशराज पन्त, डा. गोपिन्द्र पौडेल, प्राडा योगेन्द्र यादव, माया ठकुरी, उषा ठाकुर, हेमनाथ पौडेल, देवी नेपाल र लक्ष्मी मालीको नियुक्ति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारीले नवनियुक्त उपकुलपति तथा प्राज्ञपरिषद् सदस्यलाई प्रतिष्ठानमा शपथ गराउँदै साहित्य र प्राज्ञिक गतिविधिका माध्यमबाट प्रज्ञा–प्रतिष्ठानले हरेक जाति तथा समुदायका भाषा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका कुलपति उप्रेतीले आगामी दिनमा प्रतिष्ठान देशका सबै प्रदेशमा साहित्य, संस्कृति लगायतको खोज र अनुसन्धानमा क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।  त्यसैगरी, प्राज्ञ सभामा राम विनय (रामकुमार श्रेष्ठ), प्राडा खेम कोइराला, प्राडा कपिल लामिछाने, प्राडा गोपालप्रसाद पोखरेल, प्राध्यापक केशव सुवेदी, रामबाबु सुवेदी, लक्ष्मी उप्रेती, शशी लुमुम्बू, हरिप्रसाद तिमिल्सिना, डा. गीता त्रिपाठी, आरडी प्रभास चतौत, विवश पोखरेल, रमा शर्मा, डा. रजनी ढकाल, डा. वीणा सिन्हा त्यस्तैगरी महेश्वर राय, हरिशचन्द्र लावती, गोविन्द आचार्य, सुभद्रा भट्टराई, ध्रुव मधिकर्मी, डा. हरिदत्त पाण्डे, डा. विजयकुमार दत्त, सूर्य खड्का विखर्ची, र नन्दुप्रसाद उप्रेती रहेका छन् ।

प्रतिष्ठानको ऐन ०६४ अनुसार प्रज्ञामा प्राज्ञ सभा र प्राज्ञ परिषद् गरी दुई निकाय हुन्छन् । प्राज्ञसभा प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा रहन्छ । यसले प्राज्ञ परिषद्लाई वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने, मार्गनिर्देशन गर्ने लगायतका काम गर्छ । यसमा कुलपति, उपकुलपति, सदस्य सचिव, संस्कृति मन्त्रालयका सचिव (पदेन सदस्य) र नेपाली कला–साहित्य तथा दर्शनको क्षेत्रमा सहयोग पु¥याएका मध्येबाट ३५ जना प्रधानमन्त्रीद्वारा मनोनित हुन्छन् ।

त्यस्तै, प्रज्ञा परिषद् प्रतिष्ठानको कार्यकारी निकाय हो । यसले प्राज्ञ सभाका निर्णय कार्यान्वयन गर्ने, निर्देशन पालना गर्ने, गराउने र प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेट परिचालन तथा सञ्चालन गर्ने गर्दछ । यसमा कुलपति, उपकुलपति, सदस्य सचिव र प्रधानमन्त्रीबाट विभिन्न विद्या र क्षेत्रलाई समेट्ने गरी आठ जना सदस्य रहन्छन् ।

प्रतिक्रिया