धर्मको सवालमा कांग्रेस

जनअभिमतसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय मुद्दाहरूमा आंशका उत्पन्न गर्नु त्यति युक्तिसंगत कदम मान्न सकिँदैन, किनकि मुलभूत रूपमा छिनोफानो नभएका राष्ट्रिय सरोकारका विषयमा द्वन्द्व अगावै द्वन्द्वगत मानसिकतालाई शान्त पार्न अथवा केही समय पश्चात् पनि जनमत संग्रहको विधिलाई आत्मसात् गर्न सकिने विश्व प्रचलित संस्कारसमेत हो । यस प्रकारका मुद्दाहरूमा समयको कुनै पनि पावन्दी लगाउन मिल्दैन

विगत आमनिर्वाचनमा नेपाली कांग्रेस पार्र्टीले सहजता प्राप्त गर्न नसकेपछि यो समूहमा पराजयको मूल कारक तत्व पहिल्याउने क्रम तीव्र रूपमा जारी रहेको छ । जबसम्म पराजयको वास्तविकता पत्ता लाग्न सक्दैन, तबसम्म पराजय उन्मुख खराब परिसूचकको परिणति स्वरूप भविष्यमा हुने निर्वाचनजन्य गतिविधिमा पनि हार सहन गर्नुपर्ने हो कि भन्ने भय कांग्रेसी समूहमा रहेको पाइन्छ ।

तसर्थ, लोकतान्त्रिक समूहको संज्ञा पाएको यस समूहले आत्मसमीक्षा गर्दै भावी रणनीतिक कार्यक्रमहरू नेपाली जनतासमक्ष पस्कनु लाभदायक सिद्ध हुनेछ । क्रान्तिगत मनोभावको समयमा भएको असहजतालाई सच्चाउनुपर्ने तर्क उत्पन्न भएको वर्तमान भ्रमित परिस्थितिका कारण यस समूह थप रणभुल्लमा फस्न गएको हो ।

धर्मनिरपेक्षताका सन्दर्भमा द्विविधा उत्पन्न भएको उच्च तहका नेताहरूको अभिव्यक्तिको कारण आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । निःसन्देह यो हुनु भनेको तत् सम्बन्धमा दलीय हिसाबमा अझै केही भ्रमहरू जीवन्त छन् भन्ने बुझ्नु जरुरी छ ।

किनकि, विगतमा आफ्नो लोकतान्त्रिक छवि दर्शाउन मात्र यी बुँदागत व्यवहारलाई समावेशगरी आन्दोलनको पक्षमा वकालत गर्दै लोकतान्त्रिक आन्दोलनमा होमिएको हो भन्ने प्रश्नका सन्दर्भमा हाल आएर नेपालको राजनीतिक वृत्तमा सूक्ष्म रूपमा विभिन्न खालका टीका टिप्पणी सुरु नभएको पनि होइन । यस कार्यलाई बढ्वा दिन सम्बद्ध प्रजातान्त्रिक पार्र्टीका केही नेतागण स्वयं भ्रमित भएका हुन् वा अन्यथा केही छन् भने नेपाली कांग्रेसले नागरिक समाजलाई प्रस्टाउनु राजनीतिप्रति इमानदारिता प्रस्तुत गर्नु हो ।

आज २१आैँ शताब्दीको पूर्ण राजनीतिक चेष्टामा अब्बल रहेका नेपाली जनमतलाई कुनै पनि बहानामा विलखबन्दमा राख्न सकिँदैन भन्ने तथ्यलाई आत्मसात् गर्दै सफल राजनीतिको प्रयासले नै नेपालका लोकतान्त्रिक समूहको साखमाथि चुलिने कुरामा हामी कसैको पनि दुइमत हुन सक्दैन

यदि, वास्तवमै परिवर्तित समयमा प्रस्तुत अवधारणाले मुलुक र जनहित हुन सक्छ भन्ने अवस्था रहे सोही अनुकूलको पार्र्टीगत राजनीतिक व्यवहारलाई क्रमशः परिवर्तन एवं परिमार्जित गर्दै अगाडि बढ्न सक्ने क्षमताको अभिवृद्धि गर्नुपर्ने हुन्छ । यो नै लोकतान्त्रिक चरित्र एवं यथार्थसमेत हो ।

वर्तमान अवस्थामा नेपाली कांग्रेसका कतिपय नेतागणका वाणीगत व्यवहारलाई अवलोकन गर्ने हो भने धर्मनिरपेक्षताको सन्दर्भमा आन्दोलनको चक्रमा कांग्रेसले लिएको रणनीति ठीक थियो वा थिएन भन्ने थप अन्योलता छाएको छ । किनकि, यदि, हिन्दू धर्मकै पक्षमा जनअभिमत भए नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक संस्कृति बोकेको समूहले तत्कालीन परिवेशमा आफ्नो बोली, वचन एवं व्यवहारमा किन परिवर्तन गर्न सकेन ।

प्रस्तुत तथ्यलाई समायनुकूल सही हेक्का राख्न नसकेको परिणाम स्वरूप विगतका निर्वाचनजन्य गतिविधिमा पराजयको मार सहन खप्नुपरेको हो अथवा आफ्नो पूर्ववत् लोकतान्त्रिक व्यवहारको वर्चश्वसहितको साखलाई यथास्थानमा राख्ने चाहनाबाट अभिप्रेरित भई आएका राजनीतिक दिग्दर्शन मात्र हुन् सोसमेत प्रस्ट्याउन जरुरी छ ।

यदि, यस्तै प्रकारको विसंगतियुक्त व्यवहार कायम राख्दै आपसमा सद्भाव नभई ईष्र्या उन्मुख राजनीतिक व्यवहारले पार्टी एवं मुलुक हाक्ने चेष्टा भए त्यो मित्थ्या सावित हुनेछ । यस प्रकारका द्वैध चारित्रिक व्यवहारका पक्षमा कुनै पनि नेपाली जनअभिमत प्राप्त हुन नसक्ने प्रस्ट छ ।

आज २१आैँ शताब्दीको पूर्ण राजनीतिक चेष्टामा अब्बल रहेका नेपाली जनमतलाई कुनै पनि बहानामा विलखबन्दमा राख्न सकिँदैन भन्ने तथ्यलाई आत्मसात् गर्दै सफल राजनीतिको प्रयासले नै नेपालका लोकतान्त्रिक समूहको साखमाथि चुलिने कुरामा हामी कसैको पनि दुइमत हुन सक्दैन । किनकि, यो राजनीतिक धु्रवसत्य हो ।

धर्म निरपेक्षताका सन्दर्भमा नेपाली जनअभिमतको वास्तविकता जान्ने चाहना भए सोका लागि निर्भयतापूर्वक जनमत संग्रहको माग गर्नु प्रजातान्त्रिक संस्कृति हो । लोकतन्त्रमा बहुमतको कदर गर्दै अल्पमतको रक्षा गर्नु प्रजातान्त्रिक अभ्यास हुन् । जसमा लोकतन्त्र जीवन्त रहन्छ ।

नेपाली कांग्रेसमा वेलाबखत मुखरित हुने यस्ता द्वैध चरित्रले के पुष्टी गर्छ भने, पार्टीको आधिकारिक धारणामा आधारित नभई कतै हतारमा निर्णय गरी पश्चातापको आगोले वर्तमानमा सम्बद्ध पक्षलाई पिरोलेको त होइन भन्ने सन्देहमूलक प्रश्न चिह्न लागेको छ । प्रस्तुत विषयका सन्दर्भमा कारण सहितको प्रस्ट आधिकारिक धारणा जनसमुदायसमक्ष ल्याउन नसके मुलुक र जनताको हितको खातिर वैकल्पिक लोकतान्त्रिक छवि बोकेको अन्य कुनै समूहलाई रोज्न बाध्यात्मक अवस्था सिर्जना गर्न नेपाली जनतमत मनोवैज्ञानिक रूपमा नै तयार भएको छ ।

तत्पश्चात् नेपाली कांग्रेसको अवस्था हालको भन्दा पनि अत्यन्त नाजुक एवं दयनीय हुन सक्ने भएकोले समयमै सतर्कता अपनाउनु बुद्धिमानी हुनेछ । धर्मका सवालमा अत्यधिक जनमत हिन्दूको पक्षमा रहेको समाजमा यसको वकालत गर्दा अन्य कुनै पक्षलाई असहज हुन नपर्ने हो । यो नै धार्मिक स्वतन्त्रता पनि हो । तर, वास्तविक वकालत गर्ने कार्यमा कांग्रेस किन पछि परेको हो नागरिक समाजले सहज रूपमा बुझ्न सकेको छैन ।

द्वन्द्वगत मानसिकता रहेको अवस्थामा धर्म निरपेक्षताको विपक्षमा लाग्दा कतै नेपाली कांग्रेस अग्रगमनको विरुद्धमा गएको हो कि भन्ने भान जनमतलाई पर्ने भयले मात्र यस समूहले तत्कालीन परिवेशमा ठोस निर्णय लिन नसकेको त होइन, भन्ने अर्को धार्मिक राजनीतिक प्रश्न खडा भएको छ ।

यदि, धर्मको सवालमा हिन्दूत्वलाई आत्मसात् गर्ने चेष्टा राख्दा सोही बलमा मृत प्रायः अवस्थामा रहेको राजतन्त्रको पुनर्बहाली हुन्छ कि भन्ने अर्को आशंका रहेकै कारण नेपाली कांग्रेसले समयानुकूल आवश्यक निर्णयहरू लिन नसकेको मात्र हो । यसमा केही सत्यता पनि रहेको छ । विश्वमा मृत प्रायः भइसकेका राजतन्त्रात्मक पद्वतिहरू पुनर्बहाली भएका प्रशस्त ऐतिहासिक तथ्यहरू विश्व इतिहासमा जीवन्त रहेको पाइन्छ ।

जनअभिमतसँग प्रत्यक्ष सरोकार राख्ने राष्ट्रिय मुद्दाहरूमा आंशका उत्पन्न गर्नु त्यति युक्तिसंगत कदम मान्न सकिँदैन, किनकि मुलभूत रूपमा छिनोफानो नभएका राष्ट्रिय सरोकारका विषयमा द्वन्द्व अगावै द्वन्द्वगत मानसिकतालाई शान्त पार्न अथवा केही समय पश्चात् पनि जनमत संग्रहको विधिलाई आत्मसात् गर्न सकिने विश्व प्रचलित संस्कारसमेत हो । यस प्रकारका मुद्दाहरूमा समयको कुनै पनि पावन्दी लगाउन मिल्दैन ।

तत्पश्चात् जनमत संग्रहको नतिजाले औँल्याएको मार्ग दर्शनलाई आत्मसात् गर्दै सोही अनुकूलको गन्तव्यलाई आफनो लक्ष्य बनाउने दृढ रणनीतिक योजनामा लाग्ने चेष्टा गर्ने हो भने धेरै हदसम्म कांग्रेसी समूहले चाहे अनुद्वपको सकारात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ, तर जनव्यवहार के हुन्छ अहिल्यै भन्न सकिँदैन । त्यसैले, वाणीगत व्यवहारमा संयमतामा अपनाउनु श्रेयकर रहन्छ ।

यदि, वामलोकतान्त्रिक समूहको कारण धर्मनिरपेक्षताको सवालमा द्विविधा भएको भए अन्यथा हुने छैन । किनकि, यस समूहमा पनि हिन्दू धर्मका हिमायतीहरू नभएका भने होइनन् । तत्कालीन पूर्ण क्रान्तिगत अवस्थामा धर्मनिरपेक्षता, गणतन्त्र एवं समावेशिताको सन्दर्भमा मौनता साचेको तथा सो सन्दर्भमा यदि वास्तवमै परिमार्जन गर्न आवश्यक छ भने सम्पूर्ण पार्टीको एकै स्वर रहनु आवश्यक छ ।

यसले नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्रलाई अझमाथि चुल्याउन मद्दत गर्नेछ । धर्म निरपेक्षताको सवालमा नेपाली कांग्रेसमा मात्र नभई वाम समूहमा पनि केही अन्योलता रहेकै कारण सो समूहका केही नेता गणले पहिलो संविधान सभाको बहस चलेका बखत जनमत संग्रहको सान्दर्भिकतालाई औँल्याएको तथ्य नेपालको राजनीतिक वृत्तमा अझै जीवन्त रहेकै छ । यसमा कसैको पनि दुइमत हुन सक्दैन ।

तसर्थ, वर्तमानलाई सोच विचार गरी जनअभिमत धर्म निरपेक्षताको पक्षमा अझै पनि ढुलमुले अवस्थामा रहेको छ, भन्ने पार्टीगत धारणा एवं नेता गणको विचारमा रहे भएको भए किन्चित अप्ठ्यारो नमानी जनमत संग्रहका लागि आह्वान गर्न नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक समूह कदापि चुक्नु हुँदैन ।

यदि, होइन पार्टीमा रहेको द्वन्द्वगत मनोविकृतिका कारण उब्जेको द्विविधायुक्त असहज मनोवैज्ञानिक चारित्रिक विशेषता हो भने पूर्ण रूपमा यस्ता असान्दर्भिक गतिविधिलाई त्याग्ने चेष्टा देखाउनु सक्नुपर्छ । यसलाई नै मूलतः प्रजातान्त्रिक अभ्यास एवं व्यवहार मान्न सकिनेछ । जसमा सत्य, निष्ठा एवं धर्मसमेत निश्चित रूपमा युग अनि युगान्तरसम्म जीवन्त रहनेछ । तसर्थ, दलीय हिसाबमा कायम रहेका विविध द्विविधायुक्त व्यवहारलाई नेपाली कांग्रेसको आसन्न महाधिवेशनले मूर्तरूप दिन सक्ने वातावरण तयार गर्न सकोस् भन्ने शुभकामना दिनु समयसापेक्ष हुनेछ ।

प्रतिक्रिया