नेपाली कांग्रेस निर्णायक र जीवन्त राजनीतिक शक्ति हुँदा हुँदै पनि आज आएर किन जनताको रोजाइमा पहिलो राजनीतिक शक्तिको रूपमा उदाउन सकेन ?
नेपालको वैधानिक राजनीतिको इतिहासमा नेपाली कांग्रेसको उच्चतम तथा विशिष्ट स्थान छ । आधुनिक राजनीतिक मूल्यमान्यता र विधि शासनको आधारमा मुलुकको शासन व्यवस्था सञ्चालित हुनुपर्छ भन्ने मान्यतालाई संस्थागत गराउन, स्वतन्त्र अर्थ व्यवस्थाका आधारमा नेपाली अर्थतन्त्रको दीगो आधार निर्माण गर्न र जनताप्रति उत्तरदायी राज्य व्यवस्थाका आधारमा सामाजिक न्याय र नागरिक राज्यको स्थापनामा नेपाली कांग्रेसको अग्रणी भूमिका छ ।
बाह्य राजनीतिक शक्तिका कारण लामो समयदेखि अस्थिरतामा रहँदै आएको नेपालमा आधुनिक मूल्य मान्यताको राजनीति स्थापित गराउने काममा पनि भूमिका महत्वपूर्ण छ । स्थापना काल ०३ सालदेखि कांग्रेस नेपाली राजनीतिको निर्णायक शक्तिका रूपमा रहँदै आएको थियो ।
०७ सालपछि मातृका बिपीबीच केही समय टकराव भए पनि त्यसपछि बिपी कोइरालाले एकछत्र १९ वर्ष, सुवर्णशमशेरले दुई वर्ष, कृष्णप्रसाद भट्टराईले १७ वर्ष, गिरिजाप्रसादले वर्षौं कार्यबाहकदेखि सभापतिसम्म सुशील कोइरालाले ६ वर्ष र अहिले विगत २ वर्ष अगाडिदेखि शेरबहादुर देउवा सभापति भएका छन् । नेपाली कांग्रेस महत्वपूर्ण, ऐतिहासिक, लोकतान्त्रिक र निरन्तर रूपमा राजनीतिमा स्थापित शक्ति मानिँदै आएको छ ।
नेपाली कांग्रेस निर्णायक र जीवन्त राजनीतिक शक्ति हुँदा हुँदै पनि आज आएर किन जनताको रोजाइमा पहिलो राजनीतिक शक्तिको रूपमा उदाउन सकेन ? कांग्रेस कमजोर हुनुमा विगतमा यसले लिएका गलत राजनीतिक निर्णय र आत्मसात् गरेको राजनीति जिम्मेवार छ । वर्तमान नेतृत्वका कारण कांग्रेस आजको यो अवस्थामा आइपुगेको हो ?
राष्ट्रिय स्वार्थ र नेपालको वस्तुस्थितिमा संस्थागत गर्न नसक्नु, राष्ट्रिय एकता र मेलमिलापको राजनीतिलाई निरन्तरता दिन नसक्नु, आफ्ना स्थापनाकालीन मूल्य र मान्यताको राजनीतिबाट विचलित हुनु र राजनीतिलाई सत्ता र शक्तिका रूपमा मात्र बुझ्नु कांग्रेसका ऐतिहासिक कमजोरी हुन् । मूलतः नेपाली कांग्रेस प्रजातन्त्रमा विश्वास गर्ने राष्ट्रवादी शक्ति हो भने राजनीतिक रूपमा यो एउटा मध्यमार्गी दल हो । सबै किसिमका विचारहरू संगठितरूपमा मौलाउन सक्ने राजनीतिक संरचना र विचारमा यसले विश्वास राख्दछ ।
विशेषगरी, ०७ सालदेखि ०३३ सालसम्म नेपाली राजनीतिमा बाह्य तथा आन्तरिक अन्योल, त्यसले नेपालको राजनीतिक अस्थिरतामा खेलेको भूमिकाको आधारमा राष्ट्रियता र प्रजातन्त्रको संस्थागत विकासका लागि कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अख्तियार ग¥यो, तर सफल भने हुन सकेन । प्रजातन्त्र पुनस्र्थापनाको बाटो रोज्न पुग्यो । ०३६ सालको जनमत संग्रह, ०३९ सालमा बिपीको निधन र ७ फागुन ०४६ सालबाट प्रजातन्त्रको पुनस्र्थापनाको बाटो रोजाइँमा अल्झिएर रह्यो, बिपीले देखाएको बाटो नै बिर्सन पुग्यो ।
०४६ सालपछि नेपाली कांग्रेस राष्ट्रिय एकता र मेलमिलाप तथा मध्यमार्गी मान्यतामा विश्वास राख्ने शक्तिबाट रेडिकल शक्तिको रूपमा रूपान्तरण भई वामपन्थी राजनीतिको नजिक हुन पुग्यो र बाह्य शक्तिको संलग्नता र स्वार्थमा सञ्चालित परिवर्तनले दीगो शान्ति, स्थायित्व र सुरक्षित प्रजातान्त्रिकीकरणको अवसरबाट नेपाल वञ्चित हुन पुग्यो ।
नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिलाई निर्णायक शक्तिको रूपमा स्थापित गरायो । ०५२ सालबाट देशमा सुरु भएको हिंसात्मक राजनीतिलाई कांग्रेसले बुझ्ने र जान्ने प्रयास नै गरेन । हिंसाको राजनीतिलाई दुरुत्साहित गर्नुको सट्टा कांग्रेसको अग्रसरतामा सात दल र माओवादीका बीचमा दिल्लीमा १२ बुँदे सहमति भयो, त्यसले एकातर्फ हिंसाको राजनीतिलाई वैधानिकता दियो भने अर्कोतर्फ स्थापनाकालीन ‘संवैधानिक राजतन्त्र’ को मान्यता त्याग्न पुग्यो ।
परम्परागत भोट बैंक खल्बलियो भने मुलुक अस्थिरताको बाटोमा अघि बढ्यो । फलस्वरूप पहिचानको नाममा जातीयता, संघीयताको नाममा बिखण्डन, अग्रगामी र पुनर्संरचनाको राजनीतिका नाममा राज्यसंरचना कमजोर पार्ने राजनीतिका लागि कांग्रेस प्रयोग हुन पुगेपछि कांग्रेसको परम्परागत जनाधारलाई पनि जातीय र क्षेत्रीयताको मुद्दामा राजनीति गर्ने शक्तिहरूले खोस्ने आधार प्राप्त गरे र थिलोथिलो हुन पुग्यो ।
०६२-६३ को राजनीतिक परिवर्तनले संघात्मक गणतन्त्रका लागि आधार निर्माण मात्र गरेन, मुलुकको राजनीतिलाई अस्थिरता र उग्रधारतिर बढाउने नेपालको अन्तरिम संविधान नै निर्माणमा सहयोग पुर्याएर बाह्य स्वार्थमा सञ्चालित हुने परिस्थिति निर्माण ग¥यो । अन्ततः कांग्रेसले आफैँलाई कमजोर बनाउने र पहिचान संकटमा पार्ने राजनीतिक कित्तामा उभिन पुग्यो । ०६२-६३ सालको आन्दोलनपछि जारी भएको अन्तरिम संविधानका व्यवस्थाविरुद्ध मधेसमा उठेको आन्दोलनलाई व्यवस्थापन गर्ने नाममा कांग्रेस नेतृत्वमा रहेको सरकारले मधेस केन्द्रित दलसँग आठ बुँदे सहमति गर्यो ।
त्यसले एकातर्फ मधेस आन्दोलनमा सक्रिय राजनीतिक दल तथा समूहलाई मधेसमा स्थापित गराई मधेस १ प्रदेशको नारालाई वैधानिकता दिने काम ग¥यो र मधेसमा रहेको कांग्रेसको पकडलाई कमजोर बनायो । लामो समयदेखि कांग्रेसलाई कमजोर बनाउने काम पार्टीभित्रैबाट सञ्चालित गरियोे भने कांग्रेस प्रयोग हुँदा पहाड, मधेस र परम्परागत मान्यतामा विश्वास गर्ने जनसमुदायमाझ कांग्रेस कमजोर बन्न पुग्यो ।
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको मियो शक्ति हो । यो कमजोर हुँदा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राजनीति कमजोर हुन्छ । जनताको सहमति र सहभागितामा मुलुकको शासन व्यवस्था सञ्चालित हुनुपर्छ । राज्य सदैव जनताप्रति उत्तरदायी हुनुपर्छ । नेपाली कांग्रेसको विधानमा एकजुट भएर छिनोफानो गरी पार्टीलाई एक ढिक्का बनाउन सक्यो भने अपूरणीय क्षतिबाट जोगिन सक्छ र विकास निर्माणमा अघि बढ्न सक्छ ।
प्रतिक्रिया