ललितकला – कलामा भिन्न पहिचानको खोजी

सुनिता महर्जन

‘बाँडिएका आकाश’ शीर्षकमा कलाकार सुनिता महर्जनको एकल कला प्रदर्शनी चलिरहेको छ । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा आयोजित पाँच हप्ते प्रदर्शनीमा सुनिताले मुस्ताङको मार्फा, काठमाडौं उपत्यकामा बनाइने कौसी वास्तु संरचना, भूकम्प र त्यसको प्रभावलाई कलामा उतारेकी छन् ।  जनवरी १० सम्म चल्ने प्रदर्शनीमा रङ, रेखा, धागो, कपडा लगायतका सामग्री प्रयोग गरिएको छ । प्रदर्शनीमा राखिएका कलाकृतिका बारेमा कलाकार सुनिता महर्जनले गरेको अनुभूति उनकै शब्दमा 

 

मेरो उत्सुकताको विषय मानिसले आफ्नो वातावरण र आवश्यकताअनुसार कसरी आफूलाई सुहाउँदो ठाउँको सिर्जना गर्दछ ? ती ठाउँलाई उनको दैनिक जीवन र क्रियाकलापले कसरी एकअर्काबाट भिन्न बनाउँछ ? ती ठाउँमा अनेकौँ क्रियाकलापहरू निरन्तर चलिरहन्छन् जहाँ हरेक क्षण अद्वितीय हुन्छ र हरेक गतिविधि पृथक हुन्छ । मलाई प्रकृति, जीवन र कला पनि यसरी नै पृथक र निरन्तर हुन्छ, जस्तो लाग्छ ।

मार्फा शृंखला
२०१२ मा सुरु गरेको मार्फा सिरिज मार्फा गाउँको वास्तुकलासँग सम्बन्धित छ । यो गाउँ नेपालको मुस्ताङ जिल्लाको उत्तरी भेगमा पर्दछ । यो एकदम हावा लाग्ने ठाउँ हो र हावाबाट बँच्नका लागि र आफ्नो घरलाई न्यानो बनाउन यहाँका बासिन्दाले ढुंगाको पर्खालले घेरेर सानो सानो चोकहरू बनाउने गर्दछन्् । यी चोकहरूमा सूर्यको उज्यालो र न्यानो ताप पर्दछ । सूर्यको प्रकाश र न्यानोपनका लागि घरको बीचमा र माथि सिसाको छाना हालिएको पाइन्छ । यस्ता ठाउँहरूमा घरको सबैे मान्छेहरू भेला भई लुगा धुने, सुकाउने, भाँडाहरू सुकाउने, कुरा गर्ने, घाम तापी आराम गर्र्नेे गर्दछन् । उनीहरूले आफ्नो गाईवस्तुका लागि पनि गाउँको माथि पहाडमा पर्खालले घेरेर खुला गोठहरू बनाउँछन्, जहाँ घाम लाग्छ र चिसो हावालाई पर्खालले छेक्दछ । पहाडमाथि गएर गाउँलाई हेर्दा ती पर्खालबाट घेरिएका ठाउँहरू साना साना खाल्डा जस्ता देखिन्छन् र त्यहाँ मानिसको विभिन्न दैनिक क्रियाकलाप भइरहेको देख्न सकिन्छ । यी दृश्यहरूलाई नै मैले आफ्नो काममा अति सूक्ष्म तरिकाले वस्तुगत आकार र धागोकोे रेखामार्फत प्रस्तुत गरेकी छु ।

कौसी शृंखला
यही कामलाई काठमाडौं फर्किएपछि पनि निरन्तरता दिएँ । यी कामहरू गर्ने क्रममा यही विषय र सोचलाई मैले काठमाडांैका घरमाथिका कौसीहरूमा जोड्न पुगेँ । ती ठाउँहरू पनि काठमाडौंका बासिन्दाले आफ्नो आवश्यकता र परिवेशअनुसार बनाएको देखिन्छ । यी कौसीहरू व्यक्तिगत स्थल भए तापनि खुला हावा, पानी र घामसँग नजिक छन्् । अहिलेको बढ्दो सहरीकरणको परिप्रेक्ष्यमा यी स्थलहरूको महत्व अझ बढेको देखिन्छ ।

बाल्यकालदेखि नै मलाई कौसीप्रति एक किसिमको आकर्षण थियो । म सानो छँदा मेरो घरमा कौसी थिएन । झिंगिटिको छाना थियो । हामी लुगा धुने, भाँडा माझ्ने, नुहाउनेजस्ता दैनिक कार्यहरू घरबाहिर नै गर्ने गथ्र्यौँ । समुदायका सबै मानिसहरू एकै ठाउँमा मिलेर आआफ्ना कामहरू गर्थे ।

एकजना बाजेले भनेका थिए, ‘घर भनेको खान र सुत्नलाई मात्र हो ।’ साँच्चै त्यस्तै थियो । मलाई थाहा भएअनुसार, दिनभरि मेरा आमाबुबा घरबाहिरैै हुन्थे । स्वच्छ हावा र घामका लागि बाहिर नै आउनुपथ्र्यो । बिस्तारै कौसी बन्न थाल्यो । मेरो घरमा पनि बन्यो र घरबाहिर गर्ने गरेका कामहरू आफ्नो घरमाथिकोे कौसीमा हुन थाल्यो । एउटा कौसीबाट अर्को कौसीमा जान पनि मिल्थ्यो । सामानहरू पनि कौसीबाट नै साटासाट हुने गथ्र्यो । सबै आआफ्नो पर्खालले घेरिए तापनि ती कौसीहरू खुला थिए । कौसीको चहलपहल आकाश नजिक बनेको छुट्टै समुदायजस्तो लाग्थ्यो ।

घरबाहिर बाटोहरू बन्न थाले, गाडी गुड्न थाले, विभिन्न पसलहरू बढ्दै गए । चोकहरू पनि मोटरसाइकल तथा गाडीहरू पार्किङ गर्ने र ठुल्ठूला पसलको गोदामका लागि प्रयोग हुन थाले । खाली ठाउँहरू मान्छे र उनीहरूका सरसामानहरूले भरिँदै गए । मानिसहरूको आवश्यकताअनुसार घरका तल्लाहरू थपिँदै गए । तलाअनुसार मानिसको स्तर पनि छुट्टिन थाल्यो । प्रायः माथिको तल्लामा घर धनीले बसोबास गर्ने र तल्लो तलाहरू भाडामा दिन थालियो । जसमा अधिकांश काठमाडौं बाहिरबाट आएका मानिसहरू हुन्थे ।

हामीसँग भएको जमिनलाई हाम्रो आवश्यकताअनुसार बढाउन सकिँदैन । त्यसकारण हामी या त ठाडो रूपमा तल्ला थप्दै जान्छौँ या भएको जमिनलाई नै टुक्राटुक्रामा बाँड्छौँ ।

कीर्तिपुर शृंखला
यसै सन्दर्भमा त्रिभुवन विश्वविद्यालय रहेको ठाउँ कीर्तिपुरलाई हेर्न सकिन्छ । विश्वविद्यालय बन्नुअगाडि कीर्तिपुरको आफ्नै पहिचान र अस्तित्व थियो । विश्वविद्यालय बनेपछि यसको स्वरूप फेरिँदै गयो । पहिले प्रायः किसानको बसोबास भएको ठाउँ अहिले विद्यार्थीको गन्तव्य स्थल बनेको छ ।

यहाँका घर, कोठा, गल्ली र बाटोघाटो विद्यार्थीले भरिएका छन् । बाहिरबाट देखिने यहाँको सिंगा घरहरू भित्र चाहिँ सानोभन्दा सानो टुक्रामा विभाजन गरिएको हुन्छ । हरेक विद्यार्थीका लागि मानौं, घरको एउटा झ्याल जतिको ठाउँ भए पुग्छ । ती झ्यालहरू रंगीचंगी पर्दाले ढाकेका हुन्छन् । जुन घरमा पर्दाविनाको झ्याल देखिन्छ, त्यो कोठा खाली छ र नयाँ विद्यार्थीको पर्खाइमा छ भनेर बुझे हुन्छ । यसरी एउटै कोठामा अनगिन्ती नयाँ बासिन्दा आउँछन् र पुराना भएर फर्किन्छन् । बाहिरबाट हेर्दा, जति थरीको विद्यार्थी फेरिए पनि कोठा र वातावरणमा केवल झ्यालको पर्दा मात्र फेरिएको देखिन्छ । तर, भित्र नियालेर हेर्ने हो भने ती कोठाका दलिन, भित्ता र कुना–कुनामा कति विद्यार्थीहरूको अनुभव र सपनाहरू लुकेका होलान् । छाडेर जाने विद्यार्थीले आफ्नो सबै सामानहरू बटुलेर, कोठा रित्तो पारेर जीवनको एक अंशको अन्त गरेर गएको हुन्छ । कोठा त्यहीँ रहन्छ र नयाँ विद्यार्थी आएपछि फेरि त्यसको रूप फेरिन्छ । यसरी आउने जाने क्रम चलिरहन्छ ।

भूकम्प शृंखला
भूकम्पपछिको मेरो भान्साकोठा
सन् २०१५ मा आएको भूकम्प पश्चात् मेरो विषय अझ फराकिलो बन्दै गयो । समय र परिस्थितिअनुसार मानिसले कसरी आफ्नो बासस्थानको सिर्जना गर्छ, त्यो प्रक्रियालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाएँ । एक क्षणको भूकम्पले सबैको जनजीवनमा प्रभाव पारेको थियो । मान्छेहरू वर्षाैंदेखि बस्दै आएका घरहरू भत्किए । त्यहाँ भएका सामानहरू छरपष्ट भए । आफूलाई एकदम सुरक्षित, न्यानो लाग्ने घरबाट एक्कासि बाहिर निस्केर खुला आकाशमुनि बस्न बाध्य भए । एकतर्फ भूकम्पले मनमा डर जन्माइरहेको थियो भने अर्कोतर्फ ठाउँ सरिरहनु पर्ने हुन्थ्यो । कुनै कुरा स्थिर थिएन । आफूलाई चाहिने सरसामान, ओछ्यान, खानेकुरा बोकेर ठाउँ खोज्दै हिँड्नुपथ्र्यो । त्यस समयमा आफ्नो शरीर मात्र ओगट्ने ठाउँ पाउन पनि गाह्रो थियो ।

भूकम्प गएको करिब एक महिनापछि मानिसहरू बिस्तारै आफ्नो घर फर्किए । जजसका घरहरू भत्किएका थिए, तिनीहरू टहरा बनाएर सुरक्षित स्थानमा बस्न थाले । छरिएका सामानहरू बटुलेर पुनः व्यवस्थित गर्न थाले । यस भूकम्पले मेरो घरलाई पनि छोडेन । छाना पूरा भत्किसकेको थियो । त्यसकारण घरको दोस्रो तल्ला, जहाँ हामी सुत्ने गथ्र्यौँ, त्यहाँ खाना पकाएर खान थाल्यौँ र बेलुकी टहरामा सुत्न जान्थ्यौँ । एक रात वर्षाको कारण दोस्रो तलाको पर्खाल पनि भासियो र पुनः भान्छाका सामानहरू भुइँ तलामा सार्नु प¥यो ।

माटोको घर भएको हुनाले भुइँ तला बस्न योग्य थिएन । जमिन चिसो र ओसिलो हुन्थ्यो । खाना पकाउन र खानका लागि मात्रै घर आउने र अरू समय टहरामै बित्थ्यो । कुन समय जमिन हल्लिन्छ थाहै हुँदैनथ्यो र डरले खाना पनि छिटोछिटो पकाइ, खाइ बाहिर निस्किन्थ्यौँ । घरमा कौसी हँुदा सबै काम घरभित्रै गथ्र्यौँ भने यस समयमा फेरि पहिलाजस्तै सबै बाहिरै गर्नुपर्ने भएको थियो । आफ्नो व्यक्तिगत ठाउँ नै थिएन ।

घर झन् झन् असुरक्षित हुँदै गएपछि घर नजिकै छुट्टै टहरा बनायौँ र त्यहाँ खान र सुत्न मिल्ने गरी ठाउँ मिलायौँ । त्यस टहरामा हामी दुई वर्ष जति बस्यौँ । यस अनुभवबाट मलाई लाग्यो कि मानिस समय र परिस्थितिअनुसार जस्तो अवस्थामा पनि आफ्नो जीवन गुजारा गर्न सक्ने रहेछ । यही बुझाइलाई आत्मसात् गर्दै केही समयपछि म गत्लाङ गएकी थिएँ ।


गत्लाङ शृंखला
गत्लाङ नेपालको रसुवा जिल्लामा रहेको एक तामाङ बस्ती हो । रसुवा भूकम्पबाट सबैभन्दा प्रभावित जिल्ला मध्येमा पर्दछ । त्यहाँ जानु अगाडि गाउँको फोटोमार्फत यहाँको वास्तुकलाको विशेषताबारे केही बुझेकी थिएँ । त्यस ठाउँको पाँच सय घरको वास्तुकला प्रायः एकैनासको देखिन्थ्यो । मेरो मनमा उठेको प्रश्न थियो, ‘यी घरहरू बाहिरबाट उस्तै देखिए तापनि हरेक घर कुन किसिमले पृथक होला ?

मानिसका जीवनका अनुभवले कसरी हरेक घरलाई भिन्न बनाएको होला ? तर, घरहरू सबै खाली थिए । पूरै गाउँ नै खाली थियो । सबैजना आफ्नो खेतहरूमा त्रिपाल टाँगेर बसेका थिए । मैले खोजेको पृथकता ती घरहरूमा पाउनै सकिनँ । मानिसको उपस्थिति र दैनिक जीवनविना सबै घरहरू एउटै लाग्यो । घरलाई बाहिरबाट हेर्दा सधँैभित्र के–के छ र के भइराखेको बुझ्ने इच्छा हुन्थ्यो । तर, त्यहाँ घरको फसाद मात्र उभेको भान भया े। त्यसकारण गत्लाङ सिरिजको काममा घरहरूको फसाद मात्र देख्न सकिन्छ ।

गाउँको खुला र सुन्दर वातावरण विपरीत उनीहरू बसेका टहराहरू पूरा सामानले भरिएका थिए । ती टहराहरू जीवित स्थल बनेका थिए । हरेक सामान र त्यसलाई मिलाएको तरिकामा उनीहरूको जीवनशैली झल्किन्थ्यो । मार्फाको कामदेखि कौसीको काम र भूकम्पपछिका सबै कामहरूमा मेरो खोजीको विषय एउटै थियो । मानिसले आफ्नो परिस्थिति, समय र परिवेशअनुुसार कसरी आफूलाई सुहाउँदो ठाउँको सिर्जना गर्दछ र हरेक व्यक्ति फरक भएजस्तै हरेक ठाउँ पनि कसरी एक अर्काेदेखि भिन्न हुन्छ ?

प्रतिक्रिया