विद्यार्थी अभावमा बन्द हुँदै विद्यालय

नीता राउत, दोलखा । विद्यार्थीको अभावमा नगरपालिका क्षेत्रकै सामुदायिक विद्यालय बन्द हुन थालेका छन् । चालु शैक्षिक सत्रको हालसम्म भीमेश्वर नगरपालिका क्षेत्रका दुई वटा सामुदायिक विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीको संख्या अत्यन्तै न्यून तथा नयाँ विद्यार्थी भर्ना शून्य भएपछि विद्यालय बन्द गरिएको भीमेश्वर नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

विद्यार्थीको अभाव भएपछि भीमेश्वर नगरपालिका–८ बोचको शेरास्थित शेरादेवी प्राथमिक विद्यालय र वडा–५ मा रहेको कालीदेवी प्राथमिक विद्यालय कात्तिके गएको जेठ महिनादेखि बन्द छ । विद्यार्थी संख्याभन्दा बढी शिक्षक भएपछि विद्यालय बन्द गरिएको भीमेश्वर नगरपालिका–८ का अध्यक्ष नकुल केसीले जानकारी दिए । शेरादेवी प्राविको सम्पूर्ण सम्पत्ति सोही वडामा रहेको देवी माध्यमिक विद्यालयलाई बुझाइएको छ ।

त्यसैगरी कक्षा ३ सम्म पढाइ हुँदै आइरहेको लामिडाँडा प्राथमिक विद्यालयमा विद्यार्थी संख्या दुई जना रहेको र नयाँ विद्यार्थी भर्नासमेत शून्य भएपछि बन्द गरिएको हो । सदरमुकाम चरिकोटसमेत पर्ने भीमेश्वर नगरपालिकाको वडाहरूमा रहेको विद्यालयमा क्रमशः विद्यार्थी संख्या न्यून रहेको जनाएको छ ।

नगरपालिका शिक्षा शाखाप्रमुख अर्जुन कार्कीले बालबालिकाको शिक्षाका लागि अभिभावक सदरमुकाम चरिकोटदेखि काठमाडौंसम्म जाने गरेकाले विद्यालयमा विद्यार्थी अभाव भएको बताए । सामुदायिक विद्यालयप्रति अभिभावकले विश्वास नगरेकै कारण पनि विद्यालयहरू बन्द हुने अवस्थामा पुगेका हुन् ।

प्रतिक्रिया