अब स्कुल कलेजहरूमा पनि कक्षा कोठा र बाहिरसमेत सिसी टिभी क्यामरा जडान गरी स्कुल कलेजमा शिक्षक र विद्यार्थीले नचाहिँदो क्रियाकलाप गरेमा रेकर्ड हेरी कारबाही गर्ने व्ययस्था मिलाउन जरुरी देखिन्छ । कुरा कारबाहीको भन्दा पनि बच्चाको भविष्यको हो ।
विद्यार्थीलाई शिक्षकद्वारा यातना दिइने घटनाका बारेमा पत्रपत्रिकामा पटक–पटक पढ्न पाइएको छ तर शिक्षकहरूको चेत भने अझै खुल्न सकेको देखिन्न । कस्तो मानसिकता हो, यो विद्यार्थीलाई सुधार्न कुट्नैपर्ने ? शारीरिक यातना दिनैपर्ने ? विद्यार्थीले नपढ्नु, पढ्ने मन नगर्नु, कक्षामा जान अनकनाउनु, बहनाबाजी गर्नुमा विद्यार्थी मात्र दोषी हुँदैनन् । स्कुलका शिक्षक शिक्षिकाको व्यवहार, विद्यार्थीको अनिवार्य व्यस्तता, बिरामी पर्नु, घरका मानिसलाई परिआएको सामाजिक अवस्था जस्ता विभिन्न कारणहरू पनि हुन सक्छन् ।
फेरि किन विद्यार्थी मात्र दोषी ? मानी लिऊँ एकछिनलाई विद्यार्थी नै दोषी छन् भने पनि के विद्यार्थीलाई नीलोकालो अनुहार भइन्जेल उठबस गर्न लगानु, जिउमा निलडाम, घाउ भइन्जेल कुट्नु, कसैको कानको जाली फुट्नु, घण्टौंसम्म घुँडा टेकेर बस्न लगाउनु र कसैको आँखै फुटाइ दिनु के यही हो त उपचार ? के यसले विद्यार्थीमा स्थायी सुधार ल्याउँछ त ? यो त शिक्षकको आक्रोश मात्र हो ।
बच्चालाई डर त्रासको भरमा होइन मायाको वातावरणमा मात्र पढाउन सकिन्छ भन्ने ती शिक्षकले आजसम्म सुनेका छैनन् ? यसको नकारात्मक असरको बारेमा शिक्षकहरूले कहिल्यै सोचेका छन् ? अभिभावकवर्ग र स्वयं विद्यार्थीमा पर्न जाने यसको नकारात्मक असरबारे कुनै पनि निकायले गम्भीर भएर सोचेको छ ? पाइलट बन्ने भविष्य बोकेको विद्यार्थीको त एउटा आँखा फुटेपछि उसले जतिसुकै गरे पनि जीवनमा ऊ पाइलट बन्नै सक्तैन । कुटाइ खाने र त्रसित हुने विद्यार्थीको स्कुलप्रतिको धारणा कस्तो होला ? तिनीहरूको भविष्य अकल्पनीय रूपले अन्धकारतिर नमोडिएला भन्न सकिन्छ ? यस्तै हुन गएमा यसको जिम्मेवारी कसले लिने ?
यस्तो घटनालाई लिएर अभिभावकले आफ्नो बच्चालाई स्कुलै छुटाएर अन्य स्कुलमा हालेका घटनाहरू अगाडि नै छन् । विद्यार्थीले पढाइ छाडेर कुमार्गमा लागेका उदाहरणहरू पनि धेरै छन् । यस्तो हुँदा विद्यार्थीको जीवनमा हुने क्षतिपूर्ति कसले गर्ने ? के सरकारले ? कि त्यही शिक्षकबाट भराउने ? कि बालीनाली बिग्रेमा बिमा कम्पनीले क्षतिपूर्ति दिएजस्तै विद्यार्थीले पनि नपढेमा क्षतिपूर्ति दिने गरी बिमा गर्नुपर्ने हो ? अभिभावकले तिरेको पैसाले तलब खाने अनि विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने शिक्षकको केही पनि जिम्मेवारी छैन ? विद्यार्थी पनि कसैका छोराछोरी हुन्, कसैका नातिनातिना हुन् ।
घरमा सुखमय, स्वच्छ वातावरणमा माया ममताले प्रेमले हुर्काइएका छोराछोरीको स्कुलबाट घर आउँदा कानबाट रगत बगाउँदै आएको हालत देखेर बाबुआमा र हजुरबुवा हजुरआमाको मन कस्तो होला ? कुनै ठाउँमा त बच्चाको बाबुले तत्कालै शिक्षकसँग बदलाको भौतिक कारबाही गरेको घटना पनि सुनिएको छ । त्यति चेतना त ती बच्चालाई निर्घात कुट्ने शिक्षकमा अवश्य हुनुपर्ने हो । यस्तो लाग्छ बाल मनोविज्ञानको ज्ञान शिक्षकमा छँदै छैन, त्यति मात्र होइन साधारण मनोविज्ञान पनि ती शिक्षकको छैन ।
सुनिँदै छ अब नयाँ भर्ना हुने शिक्षकको शैक्षिक योग्यता कम्तीमा स्नातक सरह अनिवार्य हुनुपर्ने रे । यस्तो नीति बन्दै छ रे । तर, त्यति मात्र शिक्षकको योग्यताका लागि पर्याप्त होलाजस्तो लाग्दैन । अब त हरेक शिक्षकलाई मनोविज्ञानको पढाइ गरेको पनि अनिवार्य हुनुपर्ने थप योग्यता चाहिने भएको छ, चाहे ठूला कक्षाका शिक्षक हुन् वा बाल शिक्षक । सानो कक्षाका शिक्षकलाई त बालमनोविज्ञानको ज्ञान हुनैपर्छ । अन्यलाई पनि कम्तीमा बाल मनोविज्ञानको अनिवार्य तालिम दिएर मात्र बच्चालाई पढाउने शिक्षक शिक्षिकालाई कक्षामा पठाउनुपर्ने हुन्छ ।
बाल मनोविज्ञान नै नभएका शिक्षकले के बुझ्लान् बच्चाको मनको कुरा र के कसरी पढाउलान् बच्चाहरूलाई । तर, शिक्षकहरूमा नपढे कुटी कुटी पढाउने, घोकाउने उही पुरानै ढर्रा यथावत कायम छ । एउटा स्कुलको घटनाले अर्को स्कुलले पनि शिक्षा लिनुपर्नेमा हेडमास्टरले नै शिक्षकको पक्ष लिएर एक सय पचास चोटि विद्यार्थीलाई उठबस गर्न लगाएर विद्यार्थीले जिउ थाम्न नसकी बेहोस भएर ढलेको घटनामा उभिन मात्र लगाएको तर आफ्नै पुरानो बिमारीले गर्दा ढलेको भनेर बयान दिनुमा सजाय दिनेभन्दा ढाकछोप गर्ने बढी दाषी देखिन्छन् । घटनालाई नदेखे झैँ गर्ने अन्य शिक्षक पनि मतियार हुन् । ती पनि दोष मुक्त हुन सक्तैनन् ।
स्कुल सञ्चालन गर्ने एउटा सञ्चालक समिति हुन्छ । यो समितिले शिक्षकलगायत स्कुलसँग सम्बन्धित सबै गतिविधिहरूको अवलोकन गर्छ । नियमित अनियमित सबै कार्यको मूल्यांकन गर्छ तर यति मात्र पर्याप्त छैन । एउटा ‘न्यायिक समिति’ पनि हुन आवश्यक छ । वास्तवमा अन्याय नै गरेको हो भन्ने पुष्टि भएमा दाषीलाई ‘माफी दिने र एकपटकलाई भइगयो’ भन्ने होइन । गल्ती गर्नेलाई हरेक हालतमा नियम कानुनबमोजिम सजाय हुनैपर्छ । यदि, ‘न्यायिक समिति’ को सजाय गर्ने अधिकार पुग्दैन भने उसले अधिकार सम्पन्न निकायमा गल्ती गरेको प्रमाणसमेत सजायका लागि सिफारिस गरी
‘न्यायिक समिति’ ले गर्ने कर्तव्य पूरा गर्नुपर्छ । यसो हुन सकेमा मात्र अभिभावकले ढुक्क भएर आफ्नो बच्चालाई स्कुल पठाउने वातावरण सिर्जना हुन सक्छ । म अभिभावकलाई सोध्न चाहन्छु कि, यो सान्दर्भिक विषय हो कि होइन ? सम्बन्धित निकायले यस विषयमा गम्भीर चासो देखाउनुपर्ने हो कि होइन ? आफ्नो बच्चाको हित चाहने अभिभावकको यस विषयमा ध्यान जान्छ कि जाँदैन ? हरेक अभिभावकले विचार गर्नुपर्ने विषय यसलाई बनाइएन भने जहिले पनि शिक्षकले घरको चिन्ता स्कुलमा लिएर आउने अनि पढाइ सिकाउने बहनामा बच्चालाई कुट्ने र अरूले ढाकछोप गर्ने अवस्था रहिरहे बच्चा कुट्न र कारबाहीबाट उम्कन पल्केका शिक्षकहरूको झन् झन् हौसला बढ्दै जानेछ । वर्षौंदेखि बच्चाहरूले असहाय भई भोग्नु परेको नियति निरन्तर भोगी नै रहनुपर्नेछ ।
विद्यार्थी कुट्ने मानसिकता छिमेकी मुलुक भारतमा पनि रहेको कुरा वेला–वेला सार्वजनिक हुने भिडियो र टेलिभिजनको माध्यमबाट पनि पुष्टि हुन्छ । भारतको एउटा कलेजमा कलेजका टिचरले लामो छडी लिएर विद्यार्थीलाई कक्षाबाहिर निकालेर निर्घात कुटेको र वरिपरिकाले हेरिरहेको दृश्य सो ठाउँमा जडान गरेको सिसी टिभी क्यामरामा रेकर्ड भयो ।
भारतीय टेलिभिजनले त्यो दृश्यलाई समाचार बनाएर प्रसारण गरेपछि मात्र त्यस कलेज र टिचरको क्रियाकलाप जनतासामु उदांग भयो । यस अर्थमा अब स्कुल कलेजहरूमा पनि कक्षा कोठामा र बाहिरसमेत सिसी टिभी क्यामरा जडान गरी स्कुल कलेजमा शिक्षक र विद्यार्थीले नचाहिँदो क्रियाकलाप गरेमा रेकर्ड हेरी कारबाही गर्ने व्ययस्था मिलाउन जरुरी देखिन्छ । कुरा कारबाहीको भन्दा पनि बच्चाको भविष्यको हो, सबैले एकपटक विचार गर्न जरुरी छ ।
प्रतिक्रिया