जनकपुरमा जानकी विवाह यसवर्ष पनि भव्यताका साथ मनाइँदै छ । पूर्वीय चिन्तनमा परमेश्वरकोे चर्चा सबैतिर पाइन्छ । परमेश्वर, परमतत्व, ब्रह्मभाव सबै जीवात्मामा निराकार रूप लिएर चित्तस्वरूपमा रहेको र जगत्मा सगुण, साकार स्वरूप लिएर सर्वत्र, सर्वव्यापी भएको कुरा धर्मशास्त्रहरूले व्याख्या गरेका छन् । हाम्रा श्रुति (वेद) हरूले परमतत्व जीवात्मामा आराम तत्व लिएर हर प्राणीमा राम रहेको कुरा पुष्टि गरेका छन् भने स्मृति (पुराण) हरूले परमेश्वरका परमलीला प्रसंग, अवतार कथाहरू अत्यन्त रसिलो ढंगले प्रस्तुत गरेका छन् ।
परमेश्वरका अनेक अवतारहरूमध्ये त्रेतायुगीन ज्ञानको युग मानव जीवनको अध्ययनको आरम्भ दिन स्मरणस्वरूप चैत्र शुक्ल मध्याह्न १२ बजे धर्तीमा अवतरित श्रीराम अवतारलाई श्रीहरिको पूर्र्ण र शान्त अवतारको रूपमा मानिएको छ । अयोध्या नरेश दशरथका कुलमा कौशल्याको गर्भबाट प्रकट भएका श्रीरामअघि स्वायम्भूमनु एवं शतरूपा महारानीका तीनवटा वरदान पूरा गर्ने क्रममा प्रथम पुत्रका रूपमा श्रीराम भई धर्तीमा अवतरित भएका प्रसंगहरू प्रशस्त पाइन्छन् । उनै रामसँग सीताको विवाह भएको प्रसँग नै विवाह पञ्चमी हो । अर्थात् मार्ग शुक्ल पञ्चमी ।
संस्कृत साहित्यका आदिकवि वाल्मीकिले रामायणको विराट् चर्चा गरेका छन् । यद्यपि, वाल्मीकि सुरुमा एक व्याधा थिए । मरा मरा भन्ने नाम जप्दा राम राम भन्ने शब्द उच्चारण हुुन पुगी तपश्वी साधकका रूपमा श्रीरामका पावन कथा प्रसंगहरूको सविस्तार उल्लेख गर्न पुगेका वाल्मीकिका मुखबाट स्वयं वेद प्रस्तुत भई रामायणको एक रूप लिएका प्रसंगहरू पनि यत्रतत्र भेटिन्छन् । सबैै मानिसका लागि वेद सरल र सहज छैन परन्तु, आज वेदको सविस्तार वर्णित रामायणको गाथा विभिन्न भाषामा समेत प्रस्तुत हुँदै संसारभरि फैलिएको छ ।
रामको गाथा गाइएको रामायण साँच्चै साहित्यको आधार नै हो भनिन्छ, जसले रामको नाम लिन्छ, रामायण काव्यको अध्ययन गर्छ ऊ स्वयं कवि बन्न पुग्छ । आज विश्वभरि नै चर्चा पाएको रामायण, महाभारत र गीताशास्त्रले सम्पूर्ण भवरोगको औषधि दिन्छ पनि भनिएको छ । शोक भय, चिन्ता व्याकुलतामा परेकाहरूको सही र शुद्ध औषधि तत्व भनेको रामायण पाठ, रामको स्मरण मन्त्रोच्चारण, श्रीरामको कथा अवतार र पावन लिलाहरूको संकीर्तन नै हो ।
व्यवहार परस्त तुलसीदास सन्त भए रामकै कृपाले, हिन्दी भाषाका कवि मैथिली भाषादेखि नेपाली भाषाका अदिकवि भानुभक्त आचार्यसमेतले रामायणको चर्चा गर्न छाडेका छैनन् । अजन्मा भएर पनि स्वर्गलाई भन्दा धर्तीलाई प्यारो गर्ने, धर्तीका समस्त जीवहरूको उद्धार गर्ने मानव जीवनका आदर्शको संकेत दिने श्रीराम स्वयं महालक्ष्मी सीतालाई लिएर धर्तीमा प्रस्तुत हुँदा ब्रह्माण्डका सारा विषय वासनाहरूसमेत मोहित बन्न पुग्छन् । धर्तीमा रहेको प्रदूषणलाई हटाइ आदर्श घर, परिवार र राज्य स्थापना गर्न वेलाबखत धर्तीमा देखिने दुष्ट राजाहरूको अन्त्य गर्न पूरै धर्तीलाई दुष्परिणामबाट बचाउने क्रममा श्रीनारायणबाट श्रीरामको उदय भएको पावन दिनलाई भने रामनवमीको नामले पुकारिन्छ ।
दशरथले राममा पाएको पितृस्नेह, पत्नीव्रत धर्म अर्धांगिनी सीताको स्वभाव, भरतप्रतिको उदारभाव, शत्रुघ्नको सेवाभावले आज पनि जीवनोपयोगी यथार्थ र आदर्श समाज निर्माणमा थप सन्देश दिएको छ । रामायण मानवजीवनको यथार्थपरक आस्था हो, व्यवहारतः एउटै कडी हो जसबाट नजिकै आएको राज्य सुखभोग, ऐस आरामलाई सिधै तिरस्कार गरी सरल र पवित्रोत्तम जीवन सञ्चालन गर्न सवैलाई संस्मरण गराउँछ । राम वनबास जाँदा दुुःखी छैनन् र राज्य प्राप्तिमा हर्षित पनि देखिन्नन् ।
जीवनका लागि योभन्दा ठूलो त्याग के पाइन्छ ? बाबुको वचनलाई एक रत्तिभर उल्लंघन नगर्ने मर्यादाका प्रतिक श्रीराम आदर्श पति, आदर्श पुत्र आदर्श भाइ र आदर्श राजासमेत हुन् । सदाचारको आदर्श र व्यवहार प्रयोगको असल नमुना रामायणले हर मानवलाई अनुशासित बन्न प्रेरित गर्दछ । गृहस्थ जीवनका लागि रामायण सर्वाेत्कृष्ट र सर्वाेत्तम शास्त्र हो ।
नेपालभूमि, जानकीको जन्मभूमि जनकराजको जन्म र कर्म थलो पूर्वीय चिन्तनको भण्डार जनकपुरक्षेत्रमा सत्संगकै क्रममा राजा जनकले देवर्षि नारदसँग भगवान्को अवतार प्रसंगबारे प्रश्न राख्दा भगवान्का अंशांश, अंश, आवेश, कला, पूर्ण एवं परिपूर्णतम् गरी मुख्य ६ अवतार बताइएको थियो ।
पूर्वीय दर्शनमा बहुदेवता विविधताको चर्चा भएको छ । सृष्टिको उषाकालमा मरिचि आदि ऋषिमुनिहरूलाई अशांशका अवतारका रूपमा लिएको पाइन्छ भने ब्रह्मा आदिलाई अंशअवतार कपिलदेव, कच्छपअवतारलाई कलाअवतार, परशुरामलाई आवेशअवतार, रामलाई पूर्णअवतार र श्रीकृष्णलाई परिपूर्णतम्अवतार मानिएको छ । युगयुगमा परमेश्वरले आवश्यकताअनुसार अवतार लिनेबारे शिवगीतादेखि रामगीता, महाभारतदेखि श्रीमद्भागवत् गीतासम्ममा चर्चा भएको पाइन्छ ।
शिवगीतामा देवी पार्वतीलाई र रामगीतामा भाइ लक्ष्मणलाई यी प्रसंगहरू सुनाइएको छ । कसैलाई दिइएको वरदान पूरा गर्नदेखि कसैलाई गरिएको श्राप पूर्णताका लागि पनि देवताले अवतार लिएको देखिन्छ । सृष्टि सञ्चालनका लागि, बाधा फुकाउन लौैकिक, अलौकिक दुवै कार्यका लागि अवतारको प्रसंग देखापर्छ ।
हिरण्यराजले उपद्रव गरिएकी पृथ्वीलाई बचाउन वराह, हिरण्यकश्पिुको आवेगवाट प्रल्हादलाई बचाउन नृसिह, समुद्रमन्थनबाट प्राप्त अमृतको दुरुपयोगबाट रोक्न मोहिनी, समुद्रमन्थनलाई साथ दिन कुर्म, वेदको रक्षा गरी धर्तीलाई त्राण दिन मत्स्य, धर्ममा विकृति रोक्न हंस अवतारदेखि सँख्य योग सिद्ध गर्न कपिल एवं ऋषभ अवतार र रावणादि असुरहरूबाट धर्तीलाई संरक्षण दिन रामअवतार भएको चर्चा पाइन्छ । दुष्ट राजाहरूको संहार गर्न परशुराम अवतार लिने भगवान् कंस आदिको भयबाट दूर गर्न कृष्णदेखि संसारमा अहिंसा धर्म स्थापनाका लागि बुद्धअवतार लिने प्रसंग पनि शास्त्रहरूमा वर्णित छ । त्यस्तै, महाकलिका अन्त्यमा उनै परमेश्वरले कल्किअवतार लिने पनि भविष्यवाणी गरिएको छ ।
सूर्यवंशमा मध्याह्नमा धर्ती अवतरित श्रीरामको जन्मदिन रामनवमीपर्व हामी सबैका लागि महत्वपूर्ण दिन हो । यसपर्वमा मुलुकभरका राममन्दिर एवं अन्य देव, तीर्थस्थलहरूमा विशेष भिडभाड नै हुन्छ । त्रेतायुगमा रावणले ब्रह्माण्डलाई नै असह्य कष्ट दिएपछि धर्तीमाता गाईका रूपमा ब्रह्मासामु पुगेको र ब्रह्मा आदि देवताहरूले क्षीरसागरबासी श्रीनारायणसामु रोदन प्रकट गरेपछि आफूले धर्तीमा मानवरूपमा आई संसारलाई त्राण दिने वचन पूरा गर्न अयोध्याका नरेश दशरथका कुलमा चारभाइ चारअंशका रूपमा जन्म लिने वाचा पूरा गर्न श्रीविष्णुले राम अवतार लिएका हुन् ।
सूर्यवंशी अयोध्या नरेशको सन्तान नहुँदा गुरु वशिष्ठ सामु दुःख प्रस्तुत हुँदा गुरु आज्ञाले पुत्रेष्टि यज्ञ गर्ने सन्दर्भमा श्रृङिऋषिबाट सो महायज्ञ हुँदा यज्ञबाट अग्निदेव प्रकट भई हातमा रहेको पायस राजालाई दिई रानीहरूलाई बाँड्नू भनेपछि रानीहरूमा गर्भ रहँदा खीर पायसका प्रभावले वीर चार पुत्ररत्नहरू प्राप्त भएको प्रसंग शास्त्रहरूमा चर्चा भएको छ ।
रामायणको विविधताअनुसार पायसको चर्चा पनि फरक–फरक भएको देखिन्छ । रानी कौशल्या र कैकेयी नजिक रहेकी र सुमित्रापछि आइपुगेकीले दुईभागमा विभक्त कौशल्या र कैकेयीका खीर भाग रानी सुमित्रालाई बाँडेर दिँदा सुमित्रामा दुई गर्भ रही लक्ष्मण र शत्रुघ्न दुई पुत्र प्राप्त भएको चर्चा पाइन्छ । कौशल्याको भागको पायसबाट लक्ष्मण र कैकेयीको भागबाट शत्रुघ्न भएकाले स्वभाव पनि उस्तैउस्तै राम र भरतसँग मिल्दोजुल्दो भनिएको छ ।
पायस वितरणको प्रसंगले हनुमानको उदयको चर्चा पनि जोडिन पुग्छ । रानीहरूले पाएको खीर पायस दरबारको कौसीमा गएर खाँदा आकाशबाट एउटा चील आएर सुमित्राको हातको पायस टपरी लिएर गयो । आफ्नो पायस उडाएर लैजाने चील भने देवसभाकी अप्सरा भएकी र इन्द्रसभामा नृत्य प्रस्तुत गर्दागर्दै खुसी भएका इन्द्रको आग्रहमा मोतीको माला लगाई दिँदा ब्रह्माले यो देखेर रिसाएर चीलले सिनो झम्टेर लिएझैँ माला लिएकीले चील योनिमा जन्महोस् भनी श्राप दिएपछि देवताहरूको आग्रहमा चीलले देवताको सहयोगमा सुकर्म गरेपछि यो योनी छुट्ने वचन ब्रह्माजीले नै दिएकाले सुमित्राको पायस लिने यही चीलले त्यो पायस लगेर किष्किन्धाको गुफामा बसेकी पवनपत्नी अञ्जलीसामु राखिदियो ।
देवलोकबाट प्रसाद प्राप्त सम्झी अञ्जलीले त्यो पायस खाँदा पवनपुत्रका रूपमा शिवस्वरूप हनुमानको जन्म भएको र रामलाई आपत् उद्धारहेतु सहयोग गरेको चर्चा पनि रोचक छ । तिथिका हिसाबले रामनवमीको लगत्तैपछि चैत्र शुक्लत्रयोदशीमा हनुमान जयन्ती मनाउनुको पछाडि यो रहस्य सान्दर्भिक नै ठहरिन्छ । नेपालको कर्णाली र महाकाली भारतको सरयु नदी बन्न पुग्छ, यसैका किनारमा अयोध्या क्षेत्रमा सूर्य मेष राशिमा, ५ ग्रह उच्च भएका वेला, कर्कटलग्न, पुनर्वसु नक्षत्र, अभिजित मुहूर्तमा श्रीरामले धर्तीअवतरण गरेको र यो समय देवताहरूले पुष्पवृष्टि गरेका रोचक प्रसंगहरू शास्त्रकारहरूले निकै भावपूर्ण ढंगले वर्णन गरेका छन् ।
कौशल्याको प्रसूतिकक्षमा श्रीराम प्रकट हुँदा २० फिट लामो आकार, हातमा शङ्ख, चक्र, गदा, पद्यसहित, श्यामवर्ण, पीताम्बरधारी, मुकुटको पहिरनसाथ भएकी मातालाई यो अद्भूत दर्शनले चकित तुल्याएको, माताको आग्रहमा वाल्यभावमा प्रस्तुत भएपछि कोठामा बच्चा रोएको आवाज आएको तुरुन्तै अन्य रानीहरूका कोठाबाट बच्चाको रोदन सुन्न थालिएको, राजप्रसाद हर्षले विभोर भएको, अनेकौँ शुभकामना आदानप्रदान, गोदान, नान्दीमुखी श्राद्ध आदि कर्म भएको, जात संस्कार कार्यमा प्रचुर धनदान भएको प्रसंग सन्त तुलसीदासले वर्णन गरिएको छ भने जताततै वेदध्वनि, शङ्ख, घण्टका आवाज, भक्तिगीतहरू, भजन र संगीतहरू गुञ्जिएका अयोध्याका सारा स्थानहरू सजिएको चर्चा पनि रामायणहरूमा भएका छन् ।
धर्तीमा बालरूप अवतार प्रसंगको दर्शन गर्न नपाएका आकाशका चन्द्रमाले अयोध्या प्रवेशगरी आपूmले सो दृश्य हेर्न नपाएको गुनासो गरेपछि अर्काे अवतार चन्द्रवंशमा, मध्यरात्रिमा, द्वापरयुगमा श्रीकृष्ण अवतार पूरै बाललीला अवतरण दृश्य हेर्न पाइने आश्वासन दिँदा एकयुगसम्म आफू पर्खन नसक्ने दृढता व्यक्त गरेपछि हालै आफ्नो मस्तकमा विराजमान गर्न चन्द्रमालाई आदेश दिँदा श्रीरामको नाम रामचन्द्र बन्न पुगेको, नामले पूर्णता प्राप्त गर्न भक्त चन्द्रमाले सहयोग गरेका र कोमल मस्तकमा चन्द्र शोभा भएको प्रसंग पनि काव्यकारहरूले बडो राम्ररी प्रस्तुत गरेका छन् ।
श्रीरामको अवतार प्रसंगको चर्चा गर्दा यो सारा दृश्य अयोध्यावासीकै वेशभूषामा रहेर आफूले अवलोकन गरेको कुरा शिवजीले माता पार्वतीलाई समेत बताएका छन् । रामायणको बालकाण्डले रामलीला अवतारको जन्म प्रसंग रोचक ढंगले बताएको छ, । भनिन्छ, राम सीताको विवाह र श्रीरामको जन्मोत्सव पर्वभरि नै एक वर्षसम्म सूर्यास्त नै भएन रे । यसबारेमा सन्त तुलसीदासले आफ्नो कृति राम चरित्र मानसमा बढो सुन्दर ढंगले चर्चा गरेका छन् ।
श्रीरामका तीन प्रमुख स्वरूपमध्ये आधिभौतिकस्वरूपमा–कर्मयोगी आदर्श मानवका रूपमा चिनिन्छन् भने आधिदैविक स्वरूपमा भन्नुपर्दा उनी व्यापक ब्रह्म हुन् । आध्यात्मिक दृष्टिले उनी ज्ञानरूपी सबैका अन्तरआत्मा हुन् ।
त्यस्तै, दशरथका तीन स्वरूपमध्ये आधिभौतिक–अयोध्याका नरेश धर्मभिरु राजा, आधिदैविकमा भन्नुपर्दा उनी देवांश स्वरूप मनुका सन्तान र आध्यात्मिक रूपमा जीवरूपी दशरथ १० इन्द्रिय मानव स्वरूप भन्ने बुझिन्छ ।
सरयु नदीका विषयमा चर्चा गर्दा–आधिभौतिकरूपमा देवनदी, आधिदैविकरूपमा देवांशस्वरूपा, आध्यात्मिकरूपमा मानवका सुषुम्ना नाडीहरू हुन् ।
अयोध्याको चिन्तन गर्दा बजारसहितको ९ प्रवेशद्वार भएको सुन्दरनगरी आधिभौतिक रूपमा बुझिन्छ भने आधिदैविकस्वरूपमा बुझ्दा श्रीविष्णुको साकेतपुरी र आध्यात्मिकरूपमा बुझ्नु पर्दा मानवहृदयरूपी अयोध्या भन्ने बुझिन्छ । त्यस्तै, यज्ञलाई बुझ्नुपर्दा सकाम कर्मयज्ञ, विष्णुस्वरूप यज्ञ र निष्काम कर्म, भक्ति या ज्ञानयज्ञ भन्ने बुझिन्छ । वशिष्ठ गुरुको चिन्तन गर्नुपर्दा आधिभौतिकमा कुलपुरोहित गुरुदेव, आधिदैविक रूपमा उनी देवांशस्वरूपा र आध्यात्मिकरूपमा भन्नुपर्दा उनी ब्रह्मनिष्ठ भन्ने बुझिन्छ ।
माता कौशल्या आधिभौतिक रूपमा आदर्शमाता कौशल्या रानी हुन् भने आधिदैविकरूपमा शतरूपाअवतार र आध्यात्मिकरूपमा भन्नुपर्दा सत्वगुणप्रधान मानवहृदयको वृत्ति भन्ने बुझिन्छ । सुमित्राचाहिँ क्रमशः आदर्शमाता, देवांशस्वरूपा र वृत्तिरूपा नै बुझिन्छ । कैकेयीलाई क्रमशः कुमातारूपी, देवांश सदगुणी र राजसिक प्रवृत्तिपरायण कैकेयी भन्ने बुझिन्छ । लक्ष्मणको चिन्तन गर्दा विनयी भाइ, देवांशरूप शेष र प्रेमरूपी सखा बुझिन्छ ।
शत्रुघ्न भने आदर्श, देवांश र विवेकी भन्ने बुझिन्छ । १४ वर्ष वनबासको चिन्तन भने समय १४ वर्ष, रावण, कुम्भकर्ण जय विजयरूपी र आध्यात्मिकरूपमा भन्नुपर्दा ५ प्रकारको मानवकर्म र ९ प्रकारको नवधाभक्ति भन्ने बुझिन्छ । मन्त्री सुमन्त्र भने श्रेष्ठ सल्लाहकार, देवांश र संयम, एकाग्रताको प्रतीक मनरूपी मन्त्री बुझिन्छ । स्थूल सिर्जनासँग सम्बन्धित आधिभौतिक, देवतासँग सम्बन्धित आधिदैविक र आत्मासँग सम्बन्धित आध्यात्मिक विषय हुन् ।
प्रतिक्रिया