यदि, योगी आदित्यनाथ साँच्चै नै हिन्दू धर्मको समृद्धि चाहन्छन् भने उनले भनिदिनुपर्छ कि, ‘हिन्दू धर्ममा महिलाको स्थान उच्च हुन्छ, तीन वर्षअघि जनकपुरमा जे भयो त्यो हिन्दू धर्मका लागि ठूलो कलंक थियो ।’
विराटनगरको एक अस्पतालले गत सातादेखि ‘छोरी बचाऔँ’ अभियान सुरु गरेको छ । आफ्नो अस्पतालमा भर्ना भएर छोरी जन्माउने सुत्केरी महिलाको सम्पूर्ण उपचार निःशुल्क गर्ने अस्पतालले जनाएको छ । साथै, अपरेसनको शुल्कसमेत नलिने जनाएको छ । यसैगरी, केही दिनअघि राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रदेश–२ का ८ जिल्लामा ‘छोरी बचाऔँ’ अभियान सुरु गरेको जनाएको थियो ।
करिब दुई महिनासम्म चल्ने त्यो अभियान अहिले पनि जारी छ । केही दशक अघिसम्म भारतमा ‘बेटी बचाआँै’ अभियान सुरु भएका समाचार नेपालीहरूका निम्ति आश्चर्य लाग्दा हुन्थे । छोरीलाई जन्मनासाथ हत्या गरिएका समाचार छ्यापछ्याप्ती आउँथे । तर, केही दशकपछि विज्ञान प्रविधिले फड्को मा¥यो । गर्भमै लिंग पहिचान गर्न सकिने प्रविधि आएपछि कतिपय छोरीहरूले यो संसार देख्नै नपाउने अवस्था सिर्जना भयो । गर्भमै छोरीको हत्या हुन थाल्यो । जन्मिसकेपछि हत्या गर्ने प्रचलनलाई रोक्न जति सजिलो थियो, गर्भमै हत्या गर्ने प्रचलनलाई रोक्न त्यति सजिलो भएन ।
भारतका कतिपय समुदायमा छोरीको संख्या कम हुन गई केटाले विवाहका लागि केटी नपाउने अवस्था उत्पन्न हुन थाल्यो । अनि सरकारले ‘बेटी बचाओ’ अभियान सुरु ग¥यो । यो अभियानअन्तर्गत भारत सरकारले छोरीका लागि निःशुल्क शिक्षाको व्यवस्था धेरै पहिले गरेको हो । कुनै वेला नेपालीका निम्ति आश्चर्य लाग्दो बनेको यो अपराधले यतिवेला नेपाली समाजमै जरा गाड्न थालेको छ ।
गर्भ पहिचान गरी छोरीको हत्या गर्ने अपराध बढेकै कारण ‘छोरी बचाऔँ’ अभियान सुरु भएको हो । महिला र पुरुषको सन्तुलन प्रकृतिले नै मिलाएको हुन्छ । कृत्रिम उपायद्वारा यसको नियन्त्रण गर्न खोजियो भने कतिसम्म भयावह अवस्था आउनसक्छ ? भन्ने कुरा हालै चीनमा देखिएको छ । करिब दुई दशकसम्म चीनले जनसंख्या वृद्धि रोक्नका लागि एक दम्पत्ति एक सन्तानको अवधारणा लागू गरेको थियो । यो अवधारणापछि चीनमा यस्तो अवस्था आयो कि विवाह योग्य उमेरका किशोर तथा किशोरीहरूको संख्यात्मक सन्तुलन बिग्रियो ।
विवाहयोग्य किशोरीहरूभन्दा किशोरको संख्या ३ करोड ५२ लाख बढी भएको सरकारी तथ्यांक छ । यो तथ्यांकपछि चीनले एक दम्पत्ति दुई सन्तानको अवधारणा ल्याएको छ । तर, किशोरीहरूभन्दा किशोरहरूको संख्या ३ करोड ५२ लाख बढी भएको कहालीलाग्दो अवस्थाबाट पार पाउन चीनले छिमेकी मुलुकमा हस्तक्षेप गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् । म्यानमारका गरिब परिवारका किशोरीहरूलाई आकर्षक तलबको रोजगारी दिएर आफ्नो देशमा तान्ने रणनीति चीनले तयार गरेको छ । म्यानमार जस्तै अब नेपाल अछुतो नरहने हो कि भन्ने चिन्ता देखिएको छ ।
शताब्दीऔँ पहिलेका घटनाहरू हेर्ने हो भने जति पनि युद्ध भएका छन् सबै महिला प्राप्तिका निम्ति नै भएका छन् । लडाइँ गरेरै महिला प्राप्ति गर्ने प्रचलन विश्वमा लामो समय चलेको पाइन्छ । महाभारत ग्रन्थमा हेर्ने हो भने पनि गान्धारीको धृतराष्ट्रसँग भएको विवाह र द्रौपदीको पाण्डवहरूसँग भएको विवाहमा जबरजस्तीका पक्ष केही न केही देखिन्छन् । जबरजस्ती रोक्नकै लागि परापूर्वकालमा पनि ‘छोरी बचाऔँ’ अभियान सुरु भएको पाइन्छ ।
जसरी अहिले कानुनमै केही प्रावधान राखिएको छ, त्यसरी नै त्यतिवेला धार्मिक ग्रन्थमा यस्ता प्रावधान राखिएको पाइन्छ । छोरीलाई कुमारी तथा कन्याका रूपमा पूजा गर्ने, लक्ष्मी, सरस्वती र दुर्गालगायत भगवतीका अवतार मान्ने लगायतका प्रावधानहरू धर्म गन्थमै उल्लिखित गरिएको पाइन्छ । खासगरी, वैदिक सनातन हिन्दू धर्मशास्त्रले कन्या तथा कुमारीको पूजा तथा भक्तिलाई सर्वोत्तम धर्म मानेको छ । बाहिर देखावटी रूपमा यो परम्परा नेपाल र भारतमा सबभन्दा धेरै छ । जहाँ बाहिर कुमारी तथा कन्याको पूजा गरिन्छ तर भित्रभित्रै हत्या गरिन्छ, जन्मन नै दिइँदैन ।
धार्मिक तथा सांस्कृतिक सिद्धान्ततः महिलालाई पूजनीय मानिएको छ तर व्यवहारमा पुरुषको एकल सत्ता कायम गरी महिला हिंसा गरिएको छ । हिन्दू धर्मका मठाधीश मात्रै होइन सबै धर्मका ठेकेदारहरू पनि महिलाप्रति उदार छैनन् । इस्लाम धर्मका ठेकेदारहरूले त महिलालाई उपभोग्य वस्तुभन्दा माथि राखेकै छैनन् । इसाई धर्मको मुकाम भ्याटिकन सिटीमा महिला प्रवेश निषेध छ भन्ने सुनिन्छ ।
भ्याटिकनका मुख्य धर्मधिकारीमा महिला निषेध नै छ । वैदिक सानतन हिन्दू धर्मग्रन्थमा लोग्ने मरेपछि सती नजाने महिलालाई घोर पापिनी भनिएको छ । हजारौँ वर्ष कुम्भीपाकमा बिताउनुपर्ने उल्लिखित गरिएको छ । व्यवहारमा यस्ता कतिपय प्रावधानलाई धर्मगन्थका कागजमै सीमित गरिएको छ । जुन राम्रो कुरा हो ।
धर्मगन्थका प्रावधानहरूलाई राजकीय सत्ताद्वारा प्रयोगमा ल्याउने परम्परा फेरि व्युँत्याउने अभियान पछिल्लो समयमा एक्कासि बढेको सन्दर्भमा यी कुराहरू उल्लिखित गरिएको हो । इसाई तथा इस्लामिक देशहरूमा त यो परम्परा छँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूको बाहुल्यता भएका नेपाल–भारत लगायतका देशहरूमा यो अभियान सुरु भएको छ ।
छिमेकी मुलुक भारतमा तर हिन्दू धर्मग्रन्थका प्रावधानलाई राजकीय सत्ताद्वारा प्रयोगमा ल्याउने मुख्य एजेन्डा बोकेको पार्टी विजेपी सत्तामा पुगिसकेको छ । आफ्नो यो अभियान नेपालमा समेत प्रवेश गराउने रणनीतिमा विजेपी छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नोे साढे ४ वर्षको कार्यकालमा तीनपटक नेपाल भ्रमण गरिसके ।
जबकि यसअघि १६ वर्षसम्म भारतका कुनै पनि प्रधानमन्त्रीको नेपाल भ्रमण भएको थिएन । भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमण तीर्थाटनका लागि भएको बताउँदै आएका छन् । यसपटक विवाह पञ्चमीका अवसरमा यही मंसिर २६ गते भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आउने तय भएको थियो । कार्य व्यस्तताका कारण उनी जनकपुर आउन पाएनन् । उनको सट्टा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदै छन् ।
भगवान् राम र सीताबीच मार्गशुक्ल पञ्चमीका दिन विवाह भएकोले मार्ग शुक्ल पञ्चमीलाई विवाह पञ्चमी भन्ने प्रचलन छ । विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने परम्परा अहिले पनि छ । यही परम्पराअनुसार योगी आदित्यनाथ जन्ती बनेर आउन लागेको जनाइएको छ । तर, सतहमा यस्तो देखिए पनि यो उनको राजनीतिक भ्रमण हो । भारतमा आगामी वैशाखमा लोकसभाको निर्वाचन हुँदै छ ।
हिन्दू मत आफूतिर तान्ने अभियानअन्तर्गत यो भ्रमण भएको हो । तर, यस विषयमा हामी नेपालीहरूले टाउको दुखाउनुपर्ने कुनै कारण छैन । राजनीतिक अभिष्ठकै लागि भए पनि योगी आदित्यनाथको जनकपुर भ्रमणले नेपाललाई नोक्सान भने हुँदैन । धार्मिक पर्यटकीय स्थल जनकपुरको थप प्रचार प्रसार हुन्छ । तर, भारतीय जनता पार्टी विजेपी हिन्दू धर्मको विकृत पक्षलाई अघि बढाउन चाहन्छ कि, विकृत पक्षलाई त्याग्दै प्रगतिशील पक्षलाई अघि बढाउन चाहन्छ ? भन्ने कुरा अझै खुल्न सकेको छ्रैन । यसअघि जनकपुर भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले त्यो कुरा बोल्छन् कि ? भन्ने अपेक्षा गरिएको थियो । तर, बोलेनन् । यस पटक योगीजीले के गर्लान ?
तीन वर्षअघि अर्थात् ०७२ सालको विवाह पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुग्दा कालो झण्डा देखाएर मन्दिर प्रवेश गर्न अवरोध पु¥याइयो । अवरोधलाई छिचोल्दै उनले मन्दिर दर्शन गरिन तर फर्कने वित्तिकै मन्दिर तथा मन्दिर परिसरलाई गंगाजल र सुनपानीले पखालियो । गौमुत्र छर्किइयो । अनि भनियो, ‘विधवाले प्रवेश गरेका कारण मन्दिर अपवित्र भयो । त्यसकारण पवित्र बनाइएको हो ।’ यो कृत्य मधेसी दलहरूको ब्यानरमा भएको थियो ।
राष्ट्रपतिको अपमानभन्दा पनि महिलामाथि भएको यो अपमानको विरोध प्रदेश–२ मै भयो । खासगरी, प्रदेश–२ का महिलाहरूले यो रवैया मन पराएनन् । त्यसपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कुकृत्यलाई अन्यत्रै मोड्ने कोसिस गर्दै भने, ‘जानकी मन्दिरमा कुकुर र बुटसहित सुरक्षाकर्मी प्रवेश गराउनु सांस्कृतिक अतिक्रमण हो । मन्दिरमा विधवा राष्ट्रपति विद्या भण्डारी प्रवेश गर्नाले भन्दा पनि मन्दिरभित्र कुकुर छिराएर जथाभावी पिसाव गराएको र र्याल चुहिएकाले मन्दिर शुद्ध गर्न गंगाजल छर्किनु स्वाभाविक हो ।’
गत वैशाखमा भारतका प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्दा पनि कुकुर परिचालन गरिएकै थियो, सुरक्षाकर्मी बुटसहित मन्दिर परिसर प्रवेश गरेकै थिए । तर, गंगाजल छर्केर पखालिएको देखिएन । अब यी योगी आदित्यनाथ आउँदा के हुन्छ हेर्न बाँकी छ । यदि, योगी आदित्यनाथ साँच्चै नै हिन्दू धर्मको समृद्धि चाहन्छन् भने उनले भनिदिनुपर्छ कि, ‘हिन्दू धर्ममा महिलाको स्थान उच्च हुन्छ, तीन वर्षअघि जनकपुरमा जे भयो त्यो हिन्दू धर्मका लागि ठूलो कलंक थियो ।’
प्रतिक्रिया