ललितपुरमा भ्यु टावर

ललितपुर । महालक्ष्मी नगरपालिका–१० लाकुरी भञ्ज्याङमा पात्ले सामुदायिक वन उपभोक्ता समितिको एकल पहलमा भ्यु टावर निर्माण भएको छ । भ्यु टावरबाट मनमोहक हिमालका दृश्यले घेरेको काठमाडौंलाई छर्लंग देखिने गरी निर्माण गरिएको छ ।

कुल १२७ हेकटर क्षेत्रफलमा फैलिएको लाकुरी भञ्ज्याङको सो वनको १ हेक्टर जमिनमा उपभोक्ता समितिले भ्यु टावर निर्माण गरेको हो । भ्यु टावर निर्माण कार्य सम्पन्न भएसंगै लाकुरी भञ्ज्याङमा आन्तरिक तथा बहाय पर्यटकको संख्या बढ्न दैनिक रूपमा बढ्न थालेको छ ।

‘विगतमा चोरी लाग्ने र लुटपाट हुने स्थानको नाममा परिचित लाकुरी भञ्ज्याङको स्वरूप हाल भ्यु टावर बनेसगै आन्तरिक तथा बाह्य पर्यटकिय गन्तव्यकका रूपमा चिनिन्छ’, पात्ले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिरा पौडेलले भने ।

लाकुरी भञ्ज्याङ ललितपुर जिल्लाको पूर्वी भागमा अवस्थित रहे पनि टावरको मुखडा भने उत्तरतर्फ फर्किएको छ । लाकुरी भञ्ज्याङमा निर्मित भ्यु टावरको उचाइ ४० फुुट र तीन तल्ला अग्लो रहेको छ । भ्यु टावर निर्माणको लागि हाल लाकुरी भञ्ज्याङको वन उपभोक्ता समितिले एकल लगानी गरेको छ । यसलाई समुदायले सञ्चालन गर्नेछ ।

लाकुरी भञ्ज्याङमा भ्यु टावर निर्माण हुनुपूर्व वनमा डडेलो, चोरी र लुटपाट हँुदा त्यसलाई नियन्त्रण गर्ने काम वन समुदायले गर्ने गरेको थिए । वनबाट संकलन भएको रकम हाल वनले सदुपयोग गरेको छ, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले बताइन् ।

गत चैत्रबाट निर्माण सुरु गरिएको भ्यु टावरमा हालसम्म कति लगानी लाग्यो भन्ने कुराको जानकारी वन उपभोक्ता समितिले दिन सकेको छैन । पौडेलले भने, ‘हालसम्म खर्च भएको रकमको हिसाबकिताब अहिले गर्न भ्याइएको छैन, सबै काम सकिएपछि यसको हिसाब गरिनेछ ।’ लाकुरी भञ्ज्याङमा जनावरको भय छ । भ्यु टावरमा धेरैभन्दा धेरै पर्यटकको आकर्षण बढाउन वन उपभोक्ता समितिले ड्रेस, लठ्ठी, पन्जा, बुठ, हेलिमेट थप्ने तयारी भएको पौडेलले जानकारी दिए ।

‘भ्यु टावरमा २ महिनाभित्र ट्वाइलेट, पिउने पानी, पिकनिक स्पोट बन्नेछ । हाल वन उपभोक्ता समितिले ट्वाइलेट निर्माण र क्यामेरा जडानमा धमाधम जोड दिइरहेको छ’, पौडेलले थपे, ‘भ्यु टावर घुम्न आउने विद्यार्थीको शिक्षामा जोड पुगोस भन्दै वन उपभोक्ता समितिले २ हेक्टर जमिनमा वनस्पती रोप्ने, तीन किलोमिटर क्षेत्रमा पदमार्ग निर्माण गर्दै छ ।’

लाकुरी भञ्ज्याङको वन क्षेत्रमा रहेका चराचुरुंगीको संरक्षण गर्न गुड निर्माण र चराचुरुंगीको लागि विभिन्न स्थानमा पानी राख्ने स्थान निर्माण र पर्यटकलाई त्यहीको स्वच्छ पानीमा सयर गराउन ७ वटा पोखरी निर्माण हुँदै गरेको पौडेलले बताए ।

प्रतिक्रिया