तीन अमेरिकी सैनिक मारिएको पुष्टि

वासिंगटन । अफगानिस्तानको घाज्नी प्रान्तमा मंगलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्वारा प्रकाशित एक विज्ञप्तिमा दुई सैनिक र एक वायु सैनिक मारिएका बताइएको हो ।घाज्नी प्रान्तको आन्दार क्षेत्रमा विस्फोटक पदार्थ विस्फोटमा परी ती सदस्य मारिएका थिए । यस विस्फोटमा परी अन्य तीन सैनिक घाइते भएका पनि पेन्टागनले जानकरी दिएको छ ।

यस आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको जनाइएको छ । यस विस्फोटमा परी ज्यान गुमाएका सैनिकको परिचय भने खुलाइएको छैन । सन् २०१७ यता अफगानिस्तानमा अमेरिकी सैनिकमाथि गरिएको यो भीषण आक्रमण भएको बताइएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त घाज्नीमा हालैका सातामा तालिबान आतंककारी समूहले आफ्ना आतङ्ककारी क्रियाकलाप बढाएका छन् ।

गत शनिबार भएको एक आतङ्ककारी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि पुनःमंगलबार आक्रमण भएको बताइएको छ । यसै महिनामा अमेरिकी सेनाको राष्ट्रिय गार्डका प्रमुख अफगान सुरक्षाबलका एक सदस्यले हत्या गरेका थिए । सन् २००१ यता अफगानिस्तानका अमेरिकी सेनाले तालिबान विरुद्ध कारबाही शुरु गरेयता अमेरिकी सेनाका दुई हजार चार सय सदस्यले ज्यान गुमाएका छन् ।

अमेरिकी सरकारले हालै गरेको एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै सिएनएनले दिएको जानकारीअनुसार हाल अफगानिस्तानको सरकारले देशका ५६ प्रतिशत जिल्लामा मात्र आफ्नो नियन्त्रण कायम गर्न सकेको अवस्था छ । बताइएअनुसार सन् २०१५ को नोभेम्बर महिनासम्म त्यहाँको सरकारले ७२ प्रतिशत नियन्त्रण कायम गरेको थियो । यसरी हेर्दा देशमा अफगानिस्तानको सरकारले तालिबानका विरुद्धमा नियन्त्रणको अवस्था गुमाउँदै गएको देखिएको छ ।

गत सोमबार अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानको एम्बुस आक्रमणमा परी कम्तीमा पनि २० जना अफगान प्रहरी अधिकारी मारिएका छन् । अल जजिरा समाचार संस्थाले मारिने प्रहरीको संख्या २० पुगेको पुष्टि गरेको छ । यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको थियो । पछिल्ला केही महिनायता आएर तालिबानले अफगास्तिानको राजधानी काबुलमै पनि सशस्त्र हमला बढाएका छन् ।

प्रतिक्रिया