पहिचानको खोजीमा भोटखोलावासी

नेपाल अनेक जातजाति र भाषाभाषी भएको देश हो । यहाँका हरेकजसो हिमाल, पहाड, तराई, गाउँ वा सहर जहाँ पनि विभिन्न जाति र भाषी मिलेर बसेको पाइन्छ । उनीहरूका बीचमा सामाजिक सहिष्णुता र भावनात्मक एकता पनि छ । तर, संखुवासभाको एउटा क्षेत्र यस्तो छ जहाँ सीमित जातका मान्छे बसोबास गर्छन् । र, उनीहरूको आफ्नै पहिचान बनेको छ । जसले पहिचान बनाउन सकेका छैनन् उनीहरूले पहिचानका लागि संघर्ष गरे ।

नेपाल एकीकरणपछि वा बसाइँसराइका कारण यस्तो संरचनामा पूर्णतः कायमै नरहे पनि हरेक जातजातिको ऐतिहासिक थातथलो तराई, पहाड र हिमालमा कुनै खास ठाउँ रहिआएको छ । अनि हामीलाई गर्व लाग्छ कि हामी नेपाली हुनुमा अनि हाम्रो देश नेपाल हो भन्नुमा । तर, जिल्लाको विकट क्षेत्र मानिने भोटखोला गाउँपालिकाका नागरिहरू भने अहिले आफ्नो खास पहिचान के हो भनेर खोज्न थालेका छन् । उनीहरूमा अन्योलता छ आफू नेपाली हुँ वा चिनियाँ नागरिक भन्नेमा । यसले प्रस्ट बनाउँछ कि नेपाली भएर पनि उनीहरू राज्यको पहुँचबाट कति टाढा छन् भन्ने ।

नेपाली उखान छ । ‘माल पाएर चाल पाएन भन्ने’ नेपालको पूर्वी हिमाली जिल्ला संखुवासभा पनि त्यस्तै भएको छ । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा अनेक प्रकारका बहुमूल्य जडिबुटी, लोपोन्मुख दुर्लभ प्रजातिका जीवजन्तु र लाखौँ पर्यटक तान्न सक्ने प्राकृतिक दृश्य तथा दर्जनौँ हिमशृंखलाले भरिपूर्ण जिल्लाको उत्तरी क्षेत्र भोटखोला राज्यबाट पूर्णरूपमा उपेक्षित रहेको स्थानीयको गुनासो छ । नेपाली भएर पनि चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर रहँदै आएको त्यहाँका स्थानीयले अब चाहिँ नेपाली भएको अनुभूति गर्न पाइएला र राज्यको सेवा सुविधाबाट वञ्चित हुन नपर्ला कि भन्ने आशा गरेका छन् ।

 

नेपाली हुँ भनेर गर्व गर्ने उनीहरू राज्यबाट भने उपेक्षित छन् । भोटखोला क्षेत्रमा बसोबास गर्ने भोटे, शेर्पा र तामाङ जातिका नागरिकहरू सधँै चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर रहँदै आएका छन् । उनीहरूलाई म नेपाली हुँ भन्ने थाहा छ । तर, नेपाली भएका कारण राज्यले नागरिकप्रति के कस्ता जिम्मेवारी पूरा गर्छ भन्ने कुराको अनुभूति भने गर्न पाएका छैनन् ।

भोटखोला गाउँपालिकाकै किमाथांका गाउँ नेपालको तिब्बतसँग जोडिएको अन्तिम बिन्दु हो । किमाथांका पुग्ने कुनै पनि व्यक्तिलाई लाग्दैन कि म नेपालको कुनै भागमा छु भन्ने । यहाँका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतको रियू जिल्लामा पर्ने देन्दाङ सहर र नजिकैका चाँगासँग जोडिएर बसेका छन् । उनीहरूका लागि नेपालका बजार र अन्य बस्तीभन्दा तिनै सहर नजिक र सुगम पर्छन् । ‘हामी आफूलाई चाहिने दैनिक खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामानका लागि चीनको स्वशासित क्षेत्र तिब्बतीय बजारको नै नै भर पर्छौं । त्यसैले, हाम्रो पहिचान के हो भन्ने लाग्न थालेको छ’ स्थानीय मुटुक भोटेले भने ।


उनीहरूको बस्तीबाट करिब ५ किलोमिटरको दूरीमा रहेको देन्दाङ सहर र नेपाली भू–भाग किमाथांकाबीच विकासको सन्दर्भमा आकाश जमिनको फरक छ । उनीहरूले उताको विकास हेरेका छन् र आफ्नो अनेकन समस्या र अभाव व्यहोरेका छन् । तिब्बतीयन जीवनशैली र हिमाली भेगमा बस्ने नेपालीको जीवनशैली करिब–करिब उस्तै देखिन्छन् । तर, तिब्बत सरकारले उपलब्ध गराएको सेवा सुविधा, सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य सेवा र विकास निर्माणका कारणले किमाथांकाका नेपाली जनताहरू आफूहरूलाई राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेका छन् ।

अनेकन समस्या र अभावमा रहेको राज्यको पहँचबाट धेरै टाढा भएका भोटखोलाका बासिन्दा विकास निर्माणका चाहनाहरू पूरा हुने आशामा छन् । त्यहाँका स्थानीयले ३ सय ६२ किलोमिटरको चीन र भारत जोड्ने किमाथांका नाका खुल्ने सपना साँचेको दशकौँ बित्यो । उनीहरूले दर्जनौँपटक योजनाका बारेमा सुनी मात्रै रहेका थिए । विकासका नारा र योजनाको खोक्रा भाषण सुनेर बसेका उनीहरूको आश भने अझै मरेको छैन । विश्वमा समृद्ध हुँदै गरेको मुलुक चीन र भारत जोड्ने संखुवासभाको सबैभन्दा छोटो नाका किमाथांका सञ्चालनका लागि हरेकपटक फेरिने सरकारले उनीहरूसामु प्रतिबद्धताहरू व्यक्त गरिसकेका थिए र छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा मुलुकका प्रभावशाली नेताहरूले ६ लेनको बाटो बनाउने सरकारी घोषणा गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, तत्कालीन उप–प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व–परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्व–अर्थमन्त्री रामशरण महत लगायतका दर्जनौँ नेता र मन्त्रीहरूले उक्त क्षेत्रको भ्रमण गरिसकेका छन् । हरेक नेता र मन्त्रीको भ्रमणमा प्रमुख एजेन्डा बन्ने गरेको छ । किमाथांका नाका खोल्ने विषय । प्रतिबद्धता गर्ने नेताहरूले संखुवासभा छोड्दै गर्दा आफ्नो बचाऊ बिर्सिए होलान् तर यहाँका जनताले भने नेता र सरकारी निकायका व्यक्तिको मिठो भाषण भने बिर्सेका छैनन् ।

यतिवेला मुलुकमा पुनः केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भएको एक वर्ष पुगेको छ । र यहाँका भोटखोलाका जनतामा नेताहरूले वेलावेला बोलेका बाचा पूरा गर्छन् कि भन्ने आशा पलाएको छ । पुस्तौँदेखि भोग्दै आएको कष्टकर जीवनबाट सहज जीवनयापनका लागि यसपटकको सरकारले आफूहरूलाई न्याय दिने उनीहरूको विश्वास छ । पटकपटक राष्ट्रका प्रमुख व्यक्तित्वहरूको आश्वासन संगाल्दै आएका उनीहरूले अबको नयाँ सरकारबाट भने आफूहरूको सपना पूरा हुने आशा राखेका छन् ।

अहिले संखुवासभाबाट प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ६ जना सांसद भएका छन् । भोटखोला–२ रुकुमाका शिक्षक कमल लामाले भने, ‘मलाई मेरो गाउँसम्म सडक पुगोस् भन्ने लागेको छ । मेरो गाउँसम्म बाटो पुगेको हेर्ने चाहना बुवाको पालामा भएन मेरो पालमा हुन्छ कि भन्ने आश छ, उनले भने । बाटो बनेपछि विकासका अन्य पूर्वाधार खुल्दा रहेछन, त्यो पनि हेर्ने रहर छ ।

सदरमुकाम खाँदबारीबाट हप्तादिनको पैदल यात्रापछि पुगिने किमाथांकाको सयौँ पटक यात्रा गर्दा आफूलाई राज्य र सरकारप्रति सधैँ ग्लानी हुने गरेको उनले बताए । उनले भने, ‘आफ्नै देशमा पाहुनाजस्तै हुनुपरेको छ’ । राष्ट्रका लागि करोडौँको आम्दानी भि¥याउने गरेको, दर्जन बढी बहुमूल्य जडिबुटी, लोपोन्मुख दुर्लभ प्रजातिका जीवजन्तु र लाखौँ पर्यटक तान्न सक्ने प्राकृतिक दृश्य तथा दर्जनौँ हिमशृंखलाले भरिपूर्ण भोटखोला क्षेत्र राज्यबाट पूर्णरूपमा उपेक्षित रहेको उनले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले यो पटक घरदैलोसम्म आएर भोटखोला क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी र बिजुली बत्तीलाई प्राथमिकता दिनेछौँ भनेका छन्, यसपटक भने आपूmहरू निकै आशावादी रहेको भोटखोला ४ सिप्रुंगका वाङछेदर भोटेले बताए ।

तर, यसपटक भने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले भोटखोला क्षेत्रका विभिन्न गाउँमा लामो समय लगाएर भ्रमण गरेपछि भने भाटखोलाका जनताका आशा पलाएको छ । ‘अब त विराटनगरबाट किमाथाकां जोडिन पनि जम्माजम्मी २३ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी छ । त्यो पनि नेपाली सेनालाई दिने तयारी छ, भन्ने सुनेर हामीलाई आशा पलाएको छ’ भोटखोलाका मुटुक भोटेले भने ।

निर्माणाधिन किमाथांका सडक खण्डलाई दु्रत गतिमा अघि बढाइ कच्ची सडक ढलान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राख्ने हो भने भारतसँगको एकल परनिर्भरता हट्ने निश्चित छ, भने दुई समृद्ध मुलुकहरू भारत र चीनसँगको व्यापार प्रवद्र्धनमार्फत समृद्धि भित्राउन थप सहज हुने संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए ।

चीनको उद्गमस्थल रहेको सप्तकोसी नदीको सबैैभन्दा ठूलो सहायक अरुण हिमनदी यसै भोटखोला क्षेत्र हुँदै नेपाल प्रवेश गरेको छ । यसबाट ९ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना निर्माणाधिन अवस्थामा छ । अझै हजारौँ मेगावाट बिजुली उत्पादन गरी अरबौँको वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिने प्रशस्त सम्भावना भोटखोला क्षेत्रले बोकेको छ । यसलाई उपयोग गर्ने हो, भने भोटखोलाले यस क्षेत्रको मात्र नभएर सिंगो मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान दिनसक्ने भोटखोला गाउँपालिकाका अध्यक्ष ठिलेन भोटे बताउँछन् । भोटखोला प्राकृतिक स्रोतसाधन र जडिबुटीको खानी हो । राज्यले यसलाई उपभोग र यहाँको विकास गर्न भनेको सकेको छैन ।

सरकारले त्यस क्षेत्रको प्राकृतिक स्रोतसाधनको सही परिचालन गर्ने हो भने प्रदेश–१ का १४ जिल्लाको मात्र नभएर देशकै अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने नेकपाका नेता खड्ग राईले बताए । खाँदबारीबाट २ सय किलोमिटरको दूरीमा रहेको विराटनगर रानी सडक अहिले दैनिक सञ्चालनमा रहेकाले अब किमाथांका र भारतको जोगबनी नाका सञ्चालन हुने भोटखोलाका बासिन्दाहरूले आशा राखेका छन् ।

मुलुकका प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू हेलिकोप्टरमार्फत आएर यहाँका स्थानीयसमक्ष किमाथांका नाका सञ्चालन र भोटखोला क्षेत्रको विकासका लागि वचन दिएकाले यसपटक भोटखोलावासीहरू बढी आशावादी देखिएको स्थानीय भोटखोला–२ का दावा रिञ्जिन भोटले बताए ।

मुलुक संघीयतामा गएको र जिल्लाका धेरै नेता संघ र प्रदेशका सांसद भएकाले पनि अब यस क्षेत्रको विकासको मार्गअघि बढ्नसक्ने यहाँका जनताको आशा छ । नेताहरूले आश्वासन दिने कामभन्दा अब कामलाई प्राथमिकता दिऊन भन्ने उनीहरूको सुझाव छ ।

प्रतिक्रिया