जलरङ महोत्सव हुँदै

काठमाडौं । कलामार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यका साथ ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव–२०१८’ हुने भएको छ । ४० देशका २ सय ७० भन्दा बढी कलाकार सहभागिता हुने उक्त महोत्सव बबरमहलस्थि नेपाल आर्ट काउन्सिलमा हुँदैछ ।

इन्टरनेसनल वाटरकलर सोसइटी (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको उक्त महोत्सव १७ मंसिरदेखि २३ गतेसम्म हुने सोसाइटीका अध्यक्ष एनबी गुरुङले जानकारी दिए । हरेक दुई–दुई वर्षमा आयोजना गर्ने बृहत् कला प्रदर्शनी तथा स्थलगत चित्रकला कार्यशाला काठमाडौं र लुम्बिनी गर्ने तयारी पूरा गरिसकेको गुरुङले बताए ।

उनका अनुसारमा काठमाडौं कला प्रदर्शनी तथा लाइभ डेमोस्ट्रेसन तथा लुम्बिनीमा स्थलगत कार्यशाला हुँदैछ । जलरङमा चित्र बनाउने कलाकारको अन्तर्राष्ट्रिय संस्थाको रूपमा परिचित आइडब्लुएस नेपालले दुई वर्षअघि पनि नेपालमा प्रदर्शनीको आयोजना गरेको थियो ।

‘अहिलेसम्म ४० देशका कलाकारहरूले सहभागिता निश्चित गरिसकेका छन् भने २ सय ७० को संख्यामा कलाकृति प्रदर्शनी गरिनेछन्,’ अध्यक्ष गुरुङले भने, ‘केही विदेशी चर्चित कलाकार नेपालमा आउन लागेका छन् । विदेशका तथा नेपालका प्रख्यात १३ जना जलरङकर्मी कलाकारले काठमाडौंमा आमकलाकार र कलापारखी माझ डेमोस्ट्रेसन दिनेछन् ।’

त्यस्तै, लुम्बिनीमा हुने दुई दिने स्थलगत कला कार्यशालामार्फत नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्य राखेको गुरुङले बताए । सहभागी सबै कलाकारले बुद्धभूमिलाई अनुभूत गरेको विषयलाई जलरङमार्फत कलामा उतार्ने बताउँदै गुरुङले भने, ‘यस वर्ष हामीले स्थलगत कार्यशालाका लागि बुद्धको जन्मस्थल लुम्बिनीलाई छानेका छौँ । त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा यो कार्यशाला तथा प्रदर्शनी कोसेढुंगा बन्नेछ भन्ने विश्वास लिएको छौँ ।’

सोसाइटीले सन् २०१६ मा प्रथम अन्तर्राष्ट्रिय जलरङ महोत्सव गरेको र त्यसले नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको महासचिव दीपेन्द्रमान बनेपालीले बताए । उनले भने, ‘उक्त महोत्सव काठमाडौं र सुन्दर पर्यटकीय गाँउ घान्द्रुकमा सम्पन्न भएको थियो । त्यसवेला विदेशी र विभिन्न भू–भागका नेपाली कलाकारहरूलाई सहभागी गराई कला कार्यशाला र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।’

सो महोत्सवमा विश्वका ३९ देशका ३० भन्दा बढी कलाकारले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, ३ सयको हाराहारीमा कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको थियो । बनेपालीका अनुसार सन् २०१६ मा नेपाल आएका विदेशी कलाकारले नेपाली भूगोल र प्रकृतिलाई समावेश गरी अहिलेसम्म पनि कला सिर्जना गरिरहेका छन् ।

नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महोत्सव निकै फलदायी हुने सोसाइटीका कोषाध्यक्ष तथा कलाकार भीम श्रेष्ठले बताए । उनले भने, ‘नेपाली कलाको समकालीन अवस्था बुझ्न तथा विदेशी कलाको पछिल्लो चिन्तन र परिवेश बुझ्न प्रदर्शनीले निकै मद्दत पुर्याउँछ ।’

प्रतिक्रिया