नेपाल– कम्बोडियाबीच हवाई सम्झौता

काठमाडौं । नेपाल र कम्बोडियाबीच सातामा १४ वटा उडान गर्ने हवाई सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनविच राजधानीको द्वारिका होटलमा भएको भेटवार्तापछि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट पर्यटनमन्त्री रविन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएसन माओ हाभनन्लले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

‘कम्बोडिया नेपालसँग हवाई सम्झौता गर्ने ३९ औं मुलुक भएको छ’, पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका उपसचिव प्रमोद नेपालले बताए । यो सम्झौतापछि अब नेपाली तथा कम्बोडियाका वायुयानले एकअर्का मुलुकमा सातामा १४ वटासम्म उडान भर्न पाउने छन । ९६ प्रतिशत बुद्धिस्ट धर्मावलम्बी भएको कम्बोडियासँग भएको हवाई सम्झौताले लुम्बिनीमा पर्यटक आगमन बढ्ने मन्त्रालयले अपेक्षा गरेको छ ।

यसअघि कम्बोडियालीहरू सीधा उडान नभएकाले चीन, थाइल्याण्ड, भारतलगायत मुलुक हुँदै नेपाल भम्रणमा आउथे । यसका लागि ‘को–अपरेटिभ मार्केटिङ्ग एरेन्जमेन्ट इन्कुलिडङ कोड सेयर’ सम्झौता पनि भएको छ । यो सम्झौताले कम्बोडिया र नेपालका वायुयान कम्पनीहरूले तेस्रो मुलुकका वायुयान कम्पनीसँग सीधा कोड सेयर गरेर सेवा सञ्चालन गर्न पाउने भएका छन् ।

कार्गो उडानमा भने सीमा तोकिएको छैन । दुबै मुलुकले यदी हवाईमार्गबाट आयत–निर्यात गर्नुपर्ने भए जति पनि कार्गो उडान गर्न सक्ने सम्झौता भएको उपसचिव नेपालले बताए । योसँगै नेपालका पर्यटन सचिव र कम्बोडियाका सचिवबीच सांस्कृतिक आदानप्रदानको सम्झौता पनि भएको छ ।

प्रतिक्रिया