केरा खेतीमा गभारो र एकाधिकारको समस्या


पशुपतिनगर । इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि एकाधिकारको समस्या भोग्नुपरेको नगरपालिका–२ का प्रवीण ढाकालले बताए ।

माई नगरपालिका, चुलाचुली गाउँपालिका र माङ्सेबुङ गाउँपालिकाको तल्लो क्षेत्रमा बढी केरा खेती हुँदै आएको छ तर प्राविधिक सहयोग नपाउँदा यसलाई व्यावसायिक रूप दिन नसकिएको त्यहाँका किसानको गुनासो छ । त्यस क्षेत्रमा तीन हजार बढी किसानले केरा खेती गर्ने गरेका छन् ।

यस क्षेत्रमा उत्पादित केरा दिनहुँ झापाको शनिश्चरे, बिर्तामोड हुँदै काठमाडौंको कालीमाटी बजारमा पुग्ने गर्दछ । उत्पादित अधिकांश केरा झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा संकलन भई काठमाडौं पठाउने गरिएको माई नगरपालिकाका प्रमुख दीपक थेवेले बताए । दक्षिणी क्षेत्रमा उत्पादित केरा ‘कालीखोलाको केरा’ नामले काठमाडौंमा पनि लोकप्रिय बनेको छ ।

केरा खेती गर्दा आम्दानीका साथसाथै अन्य बोट विरुवाको संरक्षणसमेत हुने भएकाले किसान केरा खेतीमा आकर्षित भएका हुन् । मलजल र प्राविधिक सेवा नपाउँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । किसानले चिनीचम्पा, मालभोग, धुस्रे, झप्री, जहाजी जातका केरा मिश्रितरूपमा खेती गर्ने गरेका छन् । सरकारीस्तरबाट प्राविधिक सहयोग नपाउँदा केराको बोट नै सुक्ने र गभारो रोगका कारण मेहनतअनुसारको आम्दानी लिन नसकेको किसान सन्तराम योङ्हाङले बताए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयले दुई वर्षअघि मोरङको कानेपोखरीबाट दुई हजार उन्नत जातको रोबेस्ट्रा जातको केराका बिरुवा ल्याएर किसानलाई वितरण गरे पनि त्यसपछि मलजल र केराखेती प्रवद्र्धनको कार्यक्रम नल्याएको नगरपालिकास्थित कृषि सेवा केन्द्र प्रमुख अनिलकुमार तिम्सिनाले बताए ।

चुरे क्षेत्रमा केरा खेतीको उच्च सम्भावना भएपछि चालू आर्थिक वर्षदेखि नगरपालिकाले केरा खेतीलाई तेस्रो खेतीमा राखेको छ । केरा खेतीलाई किसानको तेस्रो आम्दानीको स्रोतमा राखेर चालु आवदेखि प्रवद्र्धनको काम शुरु भएको नगर प्रमुख थेवेले बताए । ‘दक्षिणी क्षेत्रको माटो र हावापानी केराखेतीका लागि अत्यन्तै राम्रो छ’, उनले भने, ‘हामीले ८ सय मिटर माथि कफी, तल्लो क्षेत्रमा सुपारीसँगै केरा खेतीको प्रवद्र्धनका लागि विज्ञ टोली बनाएर अध्ययन गरिरहेका छौं ।’

प्रारम्भिक अध्ययनबाट केराखेतीमा गभारो रोग नियन्त्रण गर्नुपर्ने र झापाको शनिश्चरेमा रहेका व्यापारीबाट भएको बजारीकरणको एकाधिकार अन्त्यका लागि आफैं ‘अक्सन बजार’ (मोलमोलाइ बजार) खोल्ने योजना बनाएको प्रमुख थेवेले जानकारी दिए । नगरपालिका ४ स्थित शुक्रबारेमा कृषि बजारको अक्सन बजार बनाउने र प्रशोधन केन्द्र खोलेर प्याकेजिङसम्मको काम गर्ने योजना बनाइएको छ । झापाको अर्जुनधारास्थित शनिश्चरेमा व्यापारीको एकाधिकार तोड्न जर्मन सहयोग संस्था जिआइजेडको सहयोगमा अक्सन बजार खोल्ने र सुख्खा बनाउने काम चालु आवमा हुने उनको भनाइ छ ।

‘शनिश्चरेमा व्यापारीले भनेको दाममा केरा दिएन भने कुहिने अवस्था आउँछ, व्यापारीको एकाधिकार तोड्ने काम यसै आवदेखि गर्छौं’, उनले भने । किसानले भने उन्नत जातको बिरुवा, मलजल, प्राविधिक सहयोग र केराखेती प्रवद्र्धनको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । रोग नियन्त्रणको काम तत्काल हुनुपर्ने किसान तेजबहादुर घिमिरेले बताए ।

स्थानीय निजी बगानमा रहेका केरा झापाका व्यापारीले बगानमै घरीको ५० देखि २ सय रुपैयाँसम्ममा खरीद गरी बजारमा लगेर ५ सय भन्दा बढीमा बिक्री गर्ने गरेका छन् । राम्रो मूल्य नपाउने किसानले साइकल वा ट्र्याक्टरमा राखेर सोझै आफैँ स्थानीय बजारमा बिक्री गर्दै आएका छन् । गत आर्थिक वर्ष यहाँ २५ हेक्टर बढी क्षेत्रफलमा गरिएको केरा खेतीबाट २ सय ६० मेट्रिक टन उत्पादन भई रु दुई करोड मूल्य बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया