२२ वर्षअघि हेटौंडामा जन्मिएकी शृंखला खतिवडाले हेटांैडाबाट एस.एल.सी पास गरेपछि काठमाडौंमा आई प्लस टु र स्नातक अध्ययन पूरा गरेकी ५ फिट ७ इन्चकी सुन्दरी एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् भने आमा मुनु सिग्देल राजनीतिकर्मी हुन् । शृंखला मिलनसार र सबैसँग घुलमिल हुन सक्ने स्वभावकी छिन् ।
गएको २३ कात्तिक ०७५ शुक्रबार मिस वल्र्ड २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा शृंखला खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाली झण्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गर्दै लेखेकी थिइन्, ‘नेपाल ! म तिमीलाई गौरवान्वित बनाउनेछु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आईविल डुयू प्राउड, प्रमिस ।
नेपालको प्रतिनिधित्व हुने महत्वपूर्ण प्रतियोगिताको तयारी थालिसकेकी छु, त्यसका लागि रिसर्च गर्दै छु । ब्युटी विद पर्पसका लागि भूकम्पपछिको पुनर्निर्माणलाई मुख्य विषय बनाएकी छु ।’ शृंखला खतिवडाले पूर्वयोजनाअनुसार नै मिस वल्र्ड–२०१८ को ब्युटी विद पर्पस विधाका लागि प्रशस्त मिहिनेत गरेकी छिन् । उक्त विधाका लागि शृंखलाले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा आफ्नो पहलमा स्वास्थ्य केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पु¥याएको अभियानलाई समेटेकी छिन् ।
उनले प्रशस्त मिहिनेत गरेको प्रोजेक्टले रंग देखाउन थालिसकेको छ । यही मंसिर २२ गते शनिबार (डिसेम्बर ८) का दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीन पुगिसकेकी शृंखला अहिले आफ्नो त्यही प्रोजेक्टका कारण चर्चामा छिन् । त्यसबाहेक विभिन युट्युव च्यानलले गरेको अनुमानमा शृंखला मिस वल्र्ड–२०१८ मा सम्भावित विजेताहरूको सूचीको अग्रस्थानमा छिन् ।
युट्युवमा गोपेजेन्ट च्यानलले एउटा सर्वेक्षणको रिपोर्ट प्रस्तुत गर्दै शृंखलालाई उत्कृष्ठ पाँचभित्र पर्नसक्ने सम्भावना बोकेकी सुन्दरीको रूपमा प्रस्तुत गरेको छ । उत्कृष्ठ पाँचको सूचीमा भारत, चीन, फिलिपिन्स, नेपाल आदि देशका सुन्दरी छन् । च्यानलले शृंखलाको सौन्दर्य, सामाजिक व्यवहार तथा विद्वताले बलियो प्रतिस्पर्धी सावित गरेको छ र प्रोजेक्टसमेत उत्कृष्ठ रहेको उक्त भिडियोमा बताइएको छ भने १५ प्रतिस्पर्धीमध्ये शृंखलालाई पहिलो नम्बरमा राखिएको थियो ।
त्यस्तै, अर्को युट्युव च्यानल म्यानल युनिभर्सले शृंखलालाई मिस वल्र्ड विजेताको सम्भावित सूचीको पहिलो नम्बरमा राखेको छ । शृंखलाले आफ्नो फेसबुक पेजमार्फत् आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीहरूसमक्ष आग्रहसमेत गरेकी छिन् । मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर शृंखला खतिवडाको पेजमा गई फलो गर्नुपर्नेछ र उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्वीप गर्नुपर्छ ।
त्यसो गर्ने बित्तिकै यस लेखिएको देखिनेछ र एक मत प्राप्त गर्ने छिन् । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्टसमेत गर्नुपर्ने छ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वल्र्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्नेछिन् ।
चीनतर्फ प्रस्थान गरेलगत्तै शृंखला खतिवडाले फेसबुकमार्फत प्रेस विज्ञप्ति शैलीको सन्देश नै जारी गरी भनेकी छिन्, ‘धन्यवाद नेपाल’ मिस नेपाल वल्र्डको उपाधिसँगै हाम्रो प्यारो झण्डालाई आफैँसँग लिएर जान पाउँदा म अत्यन्त भावुक भएकी छु । मेरो यात्रा भर्खरै प्रारम्भ भएको छ, त्यसैले यसको थालनी र अन्त्य कसरी गरौँ भन्ने कुराबाट अनभिज्ञ छुु । मैले मिस नेपालको उपाधि जितेको सात महिनाभन्दा बढी भइसकेको छ ।
यो मेरो जीवनकै सबैभन्दा उत्कृष्ठ समय हो भन्दा फरक पर्दैन । सबैभन्दा ठूलो कुरा, यो अवधिमा मैले मान्छे कमाएँ । तपाईंहरूकै प्रेरणाले म यहाँसम्म आइपुगेकी हुँ । तपाईंहरूले मप्रति दर्शाउनुभएको प्रेम, सद्भाव तथा विश्वास नै मेरो ऊर्जा भएको छ । मेरो यात्रा नेपालकै लागि हो । अब विश्वलाई हामीले नेपालीहरू मसँगै छन् भन्ने देखाउनुपर्नेछ ।
हाम्रो मानवता, हाम्रो समर्पण, हाम्रो शालीनता, हाम्रो प्रेम विश्वलाई देखाउने वेला आएको छ । म अझै पनि सबै कुराका लागि पर्फेक्ट भइसकेकी छैन, मलाई लाग्छ कोही पनि हुँदैन । म आफ्नो शक्तिलाई आफैँसँग लिएर जाँदै छु । मैले ती सबै कुरा गरिसकेकी छु, जसबाट नेपाललाई विश्वसामु उत्कृष्ट रूपमा प्रतिनिधित्व गर्न सकियोस् । मप्रति देखाउनु भएको सद्भाव र विश्वासप्रति हार्दिक धन्यवाद ।
तपाईंहरूको माया र सहयोगका कारण नै ममा अहिले प्रशस्त आत्मविश्वास भरिएको छ । मलाई लाग्छ, म तपाईंहरू सबैलाई गौरवशाली बनाउन सक्नेछु । नेपाल फर्कंदा ताज लिएर फर्कन पाऊँ, नेपाल र नेपालीलाई विश्वभर चिनाएर आउन पाऊँ ।’
गएको कात्तिक २४ गते शनिबार चीनको सान्या पुगेलगत्तै नेपाली सुन्दरी शृंखला खतिवडा मिस वल्र्ड–२०१८ अन्तर्गतका विभिन्न गतिविधिमा सहभागी हुन थालेकी छिन् । सान्या पुगेकै दिन ‘डेटू एट सान्या’ शीर्षकमा शृंखलाले केही तस्बिरसहितको स्टाटस अपलोड गरेकी छिन् ।
शृंखलाका अनुसार सान्या पुगे लगत्तै उनी मिस वल्र्डका लागि आफ्नै परिचयात्मक भिडियोको छायाँकनमा व्यस्त भइन् । त्यसपछि उनले डान्स अफ द वल्र्डका लागि अडिसन दिइन् । अडिसन लगत्तै उनले एउटा अन्तर्वार्ता दिइन् । त्यसपछि मात्र उनले आफ्नो रुममेटलाई भेटिन्, मिस बंगलादेश । सान्या पुगेकै दिन अधिकांश प्रतिस्पर्धीसँग भेट, आ–आफ्नै कथा रोचक, तेस्रो दिन होटलमै आयोजित परेडमा सहभागी, त्यस अवसरमा नेपाली कला, संस्कृति तथा वेशभूषामा प्रस्तुत, आ–आफ्ना रोजाइका गीतसमेत गाएकी बताएकी छिन् शृंखलाले ।
शृंखलाको परिचयात्मक भिडियोले १० लाख भ्युअर्स पाएकोमा खुसी व्यक्त गरेकी छिन् । २२ वर्षअघि हेटौंडामा जन्मिएकी शृंखला खतिवडाले हेटौंडाबाट एस.एल.सी, त्यसपछि काठमाडौं आएकी प्लस टु तथा स्नातक अध्ययन पूरा गरेकी ५ फिट ७ इन्चकी सुन्दरी एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् भने आमा मुनु सिग्देल राजनीतिकर्मी हुन् । शृंखला मिलनसार र सबैसँग घुलमिल हुन सक्ने स्वभावकी छिन् ।
शृंखला खतिवडाका पिता विरोध खतिवडाले भने, ‘शृंखला हात हालेको काम फत्ते गरेरै छाड्ने स्वाभाविक युवती हुन् । भिडियो प्रबल दाबेदार बन्ने छ, भने मल्टिमिडियातर्फ उनी पहिलो स्थानमा छिन् । नेपालीहरूले भोट गरेर उनलाई अग्रस्थानमा कायम गर्न सहयोग पु¥याउने कुरामा म ढुक्क छु । शृंखलाले मिस वल्र्डमा नेपाललाई गौरवशाली बनाउनेछु भनेर चीन पुगेकी छिन् ।
उनले चिताएको कुरा पूरा भयो भने पक्कै पनि देशले उनीप्रति गर्व गर्नेछ ।’ द हिडेन ट्रेजरका निर्देशक गोपाल सुन्दरलाल कक्षपतिले भने, ‘विभिन्न सर्वेक्षणले मिस वल्र्डमा भाग लिन जानुभन्दा केही महिनाअघिदेखि नै शृंखला खतिवडालाई मिस वल्र्डका उत्कृष्ट २०, उत्कृष्ट १० र उत्कृष्ट ५ हुँदै विजेता नै बन्नसक्ने अनुमान सार्वजनिक गरिसकेका छन् ।
म शृंखलाले मिस वल्र्डका लागि गरेका तयारीबाटै प्रभावित छु । मकवानपुरको विकट चेपाङ बस्तीमा हेल्थ पोस्ट निर्माण गर्ने अभियान सार्वजनिक भएपछि उचाइ अझ बढ्नेछ, मंसिर २२ को प्रतिक्षामा छौं, उक्त दिन नेपालले आश्चर्यजनक परिणाम पायो भने हामी अचम्म मान्ने छैनौँ ।’ नेपालको सान र मानमा शृंखला अघि बढ्न सकून्, हाम्रो शुभकामना !
प्रतिक्रिया