विद्यालयमा निःशुल्क प्याड र विश्रामकक्ष

सल्यान । सल्यानको कपुरकोटमा रहेको किमुचौर माविमा अध्ययनरत छात्रा सिर्जना सेर्पाइलीले आप्mनो विद्यालयमा विश्राम कक्ष स्थापना भएको भन्दै अब विद्यालयमा नियमित उपस्थित हुन समस्या नहुने बताएकी छन् ।

महिनावारी भएको बेलामा पेट दुख्ने समस्या र दिनमा पटकपटक आवश्यक पर्ने प्याडको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयमा विश्राम कक्ष स्थापना भएपछि उनी अब विद्यालय नियमित हुने कुरा सम्झेर खुसी भएको बताउँछिन् ।

विद्यालयमा विश्रामकक्ष स्थापनासँगै दुखाई कमगर्ने औषधि निःशुल्क रूपमा स्यानेटरी प्याड र अन्य प्राथमिक औषधिको समेत व्यवस्था गरेको उनले बताइन् । उनी जस्तै यस विद्यालयमा कक्षा ९ र कक्षा १० मा अध्ययनरत ६९ जना छात्रालाई महिनावारी भएको वेला विद्यालय अनुपस्थित हुने समस्या टरेको छ ।

विश्राम कक्षमा कुनै पनि छात्राले महिनावारी भएको वेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने र अत्यधिक दुखाइ भएमा औषधिसमेत सेवन गर्नसक्ने व्यवस्था रहेको छ ।

‘पहिले पहिले महिनावारी भएको वेला छात्राहरू स्कुलमा आउँदैनथे । आए पनि पेट दुखेको छ भनेर बीचमै कक्षा छाडेर घर जाने गर्दथे,’ उनले भने, ‘अब महिनावारी भएका छात्रा निर्धक्कसँग विश्राम कक्षमा गएर आराम गर्न सक्छन्, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले भने ।

प्रअ विष्टले कपुरकोट गाउँपालिकाले यहाँका सबै माध्यमिक विद्यालयमा महिनावारी हुने छात्राहरूको समस्यालाई मध्यनजर गर्दै विश्राम कक्ष निर्माण गरिदिएको भन्दै गाउँपालिकाको यस्तो कामलाई धन्यवादसमेत दिएका छन् ।

विश्राम कक्षका लागि कपुरकोट गाउँपालिका भित्रका पाँच वटा माध्यामिक विद्यालयहरूले एउटा छुट्टै कोठाको व्यवस्था गरेका छन । ‘हामीले छात्राहरूका लागि एउटा छुट्टै कोठाको व्यवस्था गरेका छौंँ’, भवानी माविका प्रअ दलबहादुर खड्काले भने, ‘जसमा गाउँपालिकाले आराम गर्नका लागि बेड, स्यानेटरी प्याड, प्रयोग गरेको प्याड राख्ने डस्बिन, टाउको, पेट देखेमा, ज्वरो आएमा, चोटपटक लागेमा प्रथमिक उपचार गर्ने आवश्यक औषधि र सामग्रीहरूको व्यवस्था गरिदिएको छ ।’ उनले आफ्नाे विद्यालयमा कक्षा ९ र कक्षा १० मा ६८ छात्राले सुविधाको प्रयोग गर्ने बताए ।

‘यहाँ रहेका पाँच वटै माविमा कक्षा ९ र कक्षा १० मा अध्ययनरत छात्राहरूलाई मध्यनजर गर्दै हामीले विश्राम कक्षका लागि सामग्री हस्तान्तरण गरेका छौँ’, गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । उनले भने, ‘विशेषगरि पहिलोपटक महिनावारी हुने छात्राको लागि बढी पीडा हुन सक्छ ।

विद्यालयमा रहेको वेला महिनावारी भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छन् । त्यही समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ ।’ कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै अध्यक्ष सेनले अव अभिभावकले पनि महिनावारी भएको वेलामा छात्रालाई विद्यालय पठाउनुपर्ने बताए ।

सल्यानका धेरैजसो विद्यालयमा शौचालय, आराम गर्ने ठाउँ नहुँदा छात्राहरूले निकै समस्या बेहोर्ने गरेका छन् । महिनावारी भएको वेला पाँच÷६ दिनसम्म स्कुल नआउने समस्या रहेको कालिका माविका प्रअ चुडामणी केसीले बताए ।

उनले यस विद्यालयमा पनि छात्राहरूका लागि विश्रामकक्ष निर्माण गरेको र एक÷दुई दिनभित्रै सबै सामान गाउँपालिकामा गएर ल्याउने जानकारी दिए । यस्तो कार्य नमुना र प्रभावकारी भएको भन्दै विद्यालयहरूले कपुरकोट गाउँपालिकाको प्रशंसा गरेका छन् ।

गत वर्ष अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले विद्यालयमा छात्राहरूलाई आराम गर्ने कोठा निर्माण गरिने प्रतिवद्धता गरेका थिए । त्यही प्रतिवद्धता अनुसार हरेक विद्यालयमा किशोरीमैत्री शौचालय, रेस्ट रुम र सेनेटरी प्याडको व्यवस्था गरिएको उनले बताएका छन् ।

महिनावारी भएको बेलामा दैनिक सरफाइ गर्नुपर्ने र सन्तुलित खानाका साथै आरामको व्यवस्था गराउनुपर्ने बारेमा विद्यालयस्तरमा जनचेतना फैलाउने कार्य पनि गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालको भनाइ छ । हालसम्म पनि महिनावारी भएको वेलामा लाज मान्ने, खुलेर कुरा गर्न नसक्ने र सरसफाइमा समस्या आउने भएकाले धार्मिक संस्कारभन्दा पनि सरसफाइमा जागरुक गराउनुपर्ने उनको जोड रहेको छ ।

प्रतिक्रिया