सुरुङमार्ग बनाउन जापान तयार

काठमाडौं । राजधानीको कोटेश्वर क्षेत्रमा भइरहेको चर्को सवारी जाम अन्त्यका लागि सुरुङमार्ग बनाउन जापान सरकार तयार भएको छ । कोटेश्वरमा र भक्तपुरबाट बनेपा जादा सूर्यविनायकमा सुरुङमार्ग बनाउन जापान तयार भएपछि वैशाखमा ऋण पत्रमा सम्झौताको तयारी गरिएको छ ।

पूर्वमन्त्री तथा भक्तपुर–२ का प्रतिनिधिसभा सांसद महेश बस्नेतका अनुसार केही समयअघि भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको भ्रमणका क्रममा जापान सरकारले यो सुरुङमार्ग बनाउने अनौपचारिक सहमति गरेको हो । परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा भएको सहमति अनुसार कोटेश्वर सुरुङमार्ग र सूर्यबिनायक–धुलिखेल ६ लेनको सडक निर्माणका लागि चाँडै हस्ताक्षर हुने भएको छ ।

परराष्ट्र मन्त्रीको भ्रमणका क्रममा अनौपचारिक सहमति जुटेपछि नेपालस्थित सडक विभागको वैदेशिक सहायता महाशाखामा भएको बैठकमा जापानी प्रतिनिधिहरूले कोटेश्वर–भक्तपुर सुरूङ मार्ग बनाउन अध्ययन थाल्ने बताएका थिए । सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले एक महिनापछि सुरूङमार्गको अध्ययन थालिने जानकारी दिएका छन् ।

त्यस्तै, अरनिको राजमार्गको कोटेश्वर–सूर्यविनायक खण्डस्थित चारदोबाटो चोक, मनोहरा पुल, लोकन्थली र राधेराधे चोकमा आकाशे पुल निर्माण गरिने भएको छ । जडीबुटी चोकदेखि टंकप्रासाद आचार्यको शालिकसम्म र ठिमीस्थित क्षयारोग अस्पताल क्षेत्रमा सर्भिस ट्र्याक निर्माण र ट्राफिक बत्ती राखिने भएको छ ।

जडीबुटी, लोकन्थली, कौशलटार, ठिमी लगायत ठाउँमा दुईतल्ले सर्भिस ट्रयाक र निर्माणाधीन राधेराधेको हनुमन्ते पुल र लोकन्थलीको मनोहरा पुल निर्माणलाई तीव्रता दिने निर्णय भएको थियो । बैठकमा सांसद महेश बस्नेत, उप–महानिर्देशक सञ्जय श्रेष्ठ, कोटेश्वर–सिन्धुली सडकको डिभिजन इन्जिनियर राकेश महर्जन लगायत थिए ।

‘यसबारे जापानी टिमले अध्ययन गर्दैछ, अध्ययनपछि कहाँदेखि कहाँसम्म बनाउने टुंगो लाग्छ,’श्रेष्ठले भने । उनका अनुसार सुरूङ मार्ग जडीबुटी, तीनकुने हुँदै बालकुमारीसम्म निकाल्ने गरी बनाउने तयारी पनि गरिएको छ । ‘तत्काललाई मनोहरा खोलामा अस्थायी पुल बनाएर मोटरसाइकलका लागि नयाँ सर्भिस ट्रयाक पनि खोल्ने तयारी गरेका छौँ’, सांसद बस्नेतले भने ।

प्रतिक्रिया