नेकपा प्रदेश कमिटीले पाए पूर्णता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सातवटै प्रदेश कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले सातैवटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।

नेकपाले यसअघि नै सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुंगो लगाएको थियो । शीर्ष नेताहरूले आन्तरिक गृहकार्य गरेपछि बसेको बैठकले सदस्यहरूको नामावली पनि चयन गरेको छ ।

प्रदेश कमिटीलाई पूर्णता दिएपछि अर्को बैठकमा केन्द्रीय सदस्य र जनवर्गीय संगठनको एकतालाई अघि बढाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले प्रदेश कमिटीलाई बैठकले पूर्णता दिएको जानकारी दिए । यद्यपि, सदस्यको नामावली भने बिहीबार मात्रै सार्वजनिक गरिने बताए ।

नेकपाले यसअघि नै प्रदेश–१ का इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्रीकुमार काप्mले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त गरेको थियो । त्यसैगरी, प्रदेश–२ का इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल, प्रदेश–३ का इन्चार्जमा अष्टलक्ष्मी शाक्य र सहइन्चार्ज नारायण दाहालले पाएका थिए भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली छन् । प्रदेश–५ का इन्चार्जको जिम्मा शंकर पोखरेलले र सहइन्चार्जमा दलबहादुर रानाले पाएका छन् भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा नियुक्त भएका छन् ।

कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यामलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन भएका थिए । सुदूरपश्चिमको इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाएका छन् ।

प्रतिक्रिया