लोकप्रिय बन्दै कोरियोग्राफर सिम्रन

सिम्रनलाई २० वर्षको यात्रामा कतिलाई सिकाए भन्नेसम्म याद छैन । तर, उनले सिकाएका धेरै विद्यार्थी अहिले प्रशिक्षक भएर आफूसँग प्रतिस्पर्धा गर्ने भइसके । ‘आफैले सिकाएका विद्यार्थीले राम्रोसँग काम गर्न सकेकोमा मलाई खुसी लाग्छ, मैले सिकाएको कोरियोग्राफरले उनीहरू यो समाजमा बाँचेका छन्

लोकप्रियता कमाउन अनेक प्रयोग गर्नेहरूका बीचमा कोरियोग्राफर सिम्रन शाही नामले होइन, आफ्नै कामले लोकप्रिय हुन चाहन्छिन् । हिजोआज कतिपय कलाकारहरू मिडियामार्फत चर्चित हुन चाहिरहेका वेला सिम्रनले भने आफू काममा बढी विश्वास गर्ने भएकाले नामका पछि नलागेको बताइन् । उनलाई आफ्नो कामभन्दा अरू कुनै पनि कुरासँग सरोकार छैन । कर्म गर्नुपर्छ फल मिल्छ भन्ने स्वभाव भएकी उनको समय अहिले कसरी राम्रो कोरियोग्राफ गर्ने भन्नेमा नै बित्ने गर्छ ।

उनलाई अरूले के गर्छन् वा के भन्छन् त्यसमा सरोकार छैन । काम नै उनको पहिलो प्राथमिकता हो । वर्षाैंदेखि पर्दा पछाडि रहेर कोरियोग्राफर गर्नेका बीचमा एउटा सफल पात्र हुन् सिम्रन । उनले सिकाएर नाचिएका नाचमा धेरैले वाह ! वाह ! पाउँछन् । तर, पर्दापछि बसेर सिकाउनेहरू भने दर्शकका आँखामा परेका हुँदैनन् । त्यस्तै, मध्येकी एक हुन् उनी ।

वर्षाै काम गर्दा पनि थोरै दाम मात्रै कामाउनेहरू धेरै छन् यस क्षेत्रमा । उनीहरूले सोचेजस्तो नाम र चर्चा कमाउन सकेका छैनन् । त्यही क्षेत्रमा लाग्नेहरू कैयौँले छोटै समयमा नाम र दाम दुवै कमाएका पनि छन् । नामका लागि अनेक प्रयास गर्नेका बीचमा सिम्रन भन्छिन्, ‘मलाई मिडियामार्फत चर्चा कमाउनु छैन, मिहिनेतले काम गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ, भन्नेमा म पूर्ण विश्वस्त छु ।’ उनी आफ्ना कामले नै स्थापित हुनेमा ढुक्क छिन् ।

२० वर्षदेखि कोरियोग्राफर क्षेत्रमा काम गर्दै आएकी उनले धेरैलाई सिकाएर गुरु बनिन् । आफ्नो कामको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘मैले नाम कमाउँला भनरे यो क्षेत्रमा लागेकी होइन, मेरो बाल्यकालदेखिको सोख हो, कोरियोग्राफर । मेरो परिवारको वातारणले पनि मलाई आकर्षण ग¥यो । सानोमा नृत्यमा सोख थियो, दाजु भाउजूले सहयोग गर्नुभयो, उहाँहरूको प्रेरणाले यो क्षेत्रमा लागेँ, यसमा आफ्नो भविष्य राम्रो नै देखेकी छु ।’

सिम्रनलाई २० वर्षको यात्रामा कतिलाई सिकाए भन्नेसम्म याद छैन । तर, उनले सिकाएका धेरै विद्यार्थी अहिले प्रशिक्षक भएर आफूसँग प्रतिस्पर्धा गर्ने भइसके । ‘आफैले सिकाएका विद्यार्थीले राम्रोसँग काम गर्न सकेकोमा मलाई खुसी लाग्छ, मैले सिकाएको कोरियोग्राफरले उनीहरू यो समाजमा बाँचेका छन् । त्यसमा मलाई खुसी लाग्छ,’ उनले भनिन् ।

०४१ सालमा जन्मिएकी उनलाई सानैमा सफल कोरियोग्राफर बनूँला भन्ने थिएन । स्कुल प्रवेश गर्दादेखि नै नृत्यमा उनको रुचि थियो । तर, दाजु भाउजू कोरियोग्राफर भएका कारण उनलाई पारिवारिक वातावरणले तान्यो । उनले यो ठाउँसम्म पुग्न निकै संघर्ष गर्नु परेको सुनाइन् । स्कुले जीवनमा हुने गरेका धेरै नृत्य प्रतियोगितामा उनले सफलता हासिल गर्दै आइन् ।

उनको सफलताको क्रम अहिले पनि जारी छ । उनले भनिन्, ‘आजको यो अवस्थामा आएर सफल हुँला भन्ने मलाई लागेकै थिएन, मिहिनेतले काम गर्ने र राम्रो वातावरण पाउने हो भने सफल भइँदो रहेछ ।’

उनी यति वेला नेपालमा मात्रै सीमित छैनिन् । आफ्नो कला प्रस्तुति गर्न उनी नेपालबाहिर पनि उत्तिकै जाने गर्छिन् । उनले नेपालबाहिर करिब आधा दर्जन देशमा गएर आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । युरोप, अमेरिका र फ्रान्स लगायतका देशमा उनले आफ्नो कला प्रस्तुत गरेकी छन् । त्यस क्रममा उनले कैयौँ पटक उत्कृष्टता हासिल पनि गरिन् ।

‘मेरो मुख्य पेसा नै कोरियोग्राफी हो । यसैमा मलाई सन्तुष्ट छु । यस क्षेत्रमा लाग्दा नाम र दाम कमाउँला वा यहाँसम्मको सफलता पाऊँला भन्ने लागेको थिएन । तर, मैले जहाँ जे गरेँ सफलता हुँदै आएकी छु । त्यसमा भने गर्व लाग्छ,’ उनले आफ्नो सफलताको कथा सुनाइन्, ‘१२ वर्षको उमेरमा विद्यालयमा हुने स्टेज कार्यक्रमहरूमा भाग लिन्थेँ र सधैँ पुरस्कार हात पथ्र्यो ।’

‘विद्यालयको पढाइ सकाएर कलेज प्रवेश गर्दा समय बिताउन र मनोरञ्जनका लागि दाजु भाउजूसँगै कोरियोग्राफरमा लागेँ । आज यसैमा सफलता पाउँदै छु ।’ अहिले मलाई कोरियोग्राफरबाहेक अरू कुनै पनि काममा रुचि छैन । सायद अबका बाँकी दिन यसैमा बित्छ होला ।’ उनले भनिन् ।

काम मात्रै होइन अनुहार पनि सुन्दर भएकी र सिम्रनलाई धेरै पटक म्युजिक भिडियोमा अभिनय गर्न अफर आएका थिए । तर, अरूलाई नचाउन बानी परेको उनलाई अभिनय गर्ने र अरूको निर्देशनमा नाच्न मनै लागेन । ‘सानैदेखि नाच्ने बानी प¥यो, कति नाचियो नाचियो । आफू मात्रै नाचिएन धेरैलाई कसरी नाच्ने भनेर सिकाएँ । अहिले अभिनय गर्ने काम मेरो होइन जस्तो लाग्छ त्यसमा रुचि नै भएन ।’

‘म यो क्षेत्रमा आउनुअघि परिवारको प्रेरणा र सहयोग नपाएको भए गाह्रो हुन्थ्यो होला । तर, दाजु भाउजूको सहयोगले आज सफल कोरियोग्राफर भएकी छु । मेरो सफलताको अनि प्रेरणाको श्रय दाजु भाउजूलाई नै जान्छ । उहाँहरूकै कारण म आज यस ठाउँमा पुगेकी हुँ । कैयौँ पटक यो काम छोडूँ भन्ने लाग्दा उहाँहरूले सधैँ सहयोग र साथ दिनुभयो र निरन्तर अघि बढ्न हौसाउनुभयो ।’

उनको पहिलो गुरु दाजु भाउजू भए पनि उनले अन्य ठाउँबाट पनि तालिम लिएको बताइन् । ‘पहिलोपटक आफ्नो प्रस्तुतिका लागि पोल्यान्ड जाँदा म अझ धेरै खुसी भएकी थिएँ । त्यस्तै, जापानमा भएको प्रस्तुतिमा मैले धेरै सम्मान पाएँ । त्यसपछि मलाई यो क्षेत्र अझै सुरक्षित र राम्रो लाग्यो अनि छोडनै सकिनँ ।’

‘मैले सिकाएका धेरै विद्यार्थी आज मभन्दा अब्बल भएका छन् । यसले मलाई आत्मसन्तुष्टि मिल्छ मेरो सिकाइ राम्रो भएर भन्ने लाग्छ । उनीहरू मध्ये धेरै मसँग प्रतिस्पर्धा गर्ने भएका छन् । यसले हरेक मन खुसी हुन्छ । एभरेस्ट नेपाल कल्चरल ग्रुपका नृत्य निर्देशक संघ नेपालका रामचन्द्र कोइराला र आफ्नै दाजु शम्भु शाहीलगायत अन्य गुरुहरूबाट धेरै साथ र समर्थन पाएको उनले बताइन् ।

प्रतिक्रिया