सूर्यलाई मधुरो बनाउने उपाय खोजिँदै !

एजेन्सी, लन्डन । वैज्ञानिकहरूले अहिलेको बिगँ्रदो वातावरणीय अवस्थामा सुधार ल्याउन पृथ्वीको वायुमण्डल वरिपरि सूर्यको किरण मधुरो बनाउने केमिकल छर्नेबारे छलफल गरिरहेका छन् । हाभर्ड र येल युनिभर्सिटीका वैज्ञानिकहरूले गरेको सो अध्ययनमा ‘स्ट्राटोस्फेरिक आर्सेनोल इन्जेक्सन’ प्रणालीको प्रयोग गर्न सकिने उल्लेख गरिएको छ जसले अहिलेको जलवायु परिवर्तनको प्रभावलाई आधा कम गराउन सक्ने उनीहरूले दाबी गरेको संचार माध्यम सिएनएनले जनाएको छ ।

यस प्रविधिअन्तर्गत पृथ्वीको तल्लो वायुमण्डल, करिब २० किलोमिटर माथि अधिक मात्रामा सल्फेटका कर्णहरू स्प्रे गर्नुपर्ने हुन्छ । यसका लागि विशेष रूपमा डिजाइन गरिएका धेरै उचाइसम्म पुग्ने बेलुन र नौसेना शैलीका ठूला बन्दुकहरूको प्रयोग गर्न सकिने बताइएको छ । हाल यस प्रकारका यन्त्रहरू निर्माण नभइसकेको भए पनि यसका लागि उपयुक्त ट्याङ्कर र पर्याप्त भार सहने क्षमतायुक्त विमानको निर्माण प्राविधिक रूपमा कठिन नहुने र तुलनात्मक रूपमा यो प्रणाली महँगो पनि नहुने उनीहरूले बताएका हुन् ।

यसरी १५ वर्षको अवधिमा २.२५ अर्ब डलर प्रतिवर्ष लागतसँगै यसलाई लन्च गर्न ३.५ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । इन्जिनियरको दृष्टिकोणमा पनि आगामी १५ वर्षमा यो कार्य सम्पन्न गर्न प्राविधिक हिसाबले सम्भव देखिएको छ । तर अर्कोतर्फ यसका सम्भावित हानिकारक पक्षहरूलाई पनि उत्तिकै महत्वका साथ हेरिने वैज्ञानिकहरूको भनाइ छ । किनकि वास्तवमै यो तरिका सफल हुन धेरै देशहरूसँग सहकार्य गर्नुपर्ने हुन्छ भने आर्सेनल इन्जेक्सन प्रणालीले अन्न उत्पादनमा पनि ठूलो अवरोध ल्याउनेछ र खडेरी लगायत भयानक मौसम निम्त्याउन सक्छ । यस्तोमा अन्य विश्लेषकहरूले यो तरिका उपयुक्त हुनेमा शंका व्यक्त गरेका हुन् ।

त्यसैगरी वातावरण अर्थशास्त्रीहरूको नजरमा पनि सोलार विकिरण व्यवस्थापन ग्रीनहाउस ग्यास उत्सर्जनको तुलनामा सबैभन्दा अनुचित समाधान हुने बताइएको छ किनकी यो लामो अवधिका लागि खतरनाक साबित हुन सक्छ भने उत्तिकै महँगो पनि रहेको बताइएको हो । यता सिकागो युनिभर्सिटीको भूगर्भीय विज्ञान विभागका डेभिड आर्चरले पनि वातावरणलाई यसरी मर्मत गर्नुले अस्थायी समस्याबाट मात्र मुक्त गराउने बताएका हुन् ।

जसकारण जटिल समस्याहरू सधैँका लागि रहिरहने छन् किनकी वास्तवमा इन्धनबाट उत्पन्न कार्बन डाइअक्साइड प्राकृतिक रूपमा हट्न हजारौँ वर्ष लाग्ने उनले बताए । यसरी हाम्रो ऊर्जा प्रणाली बदल्न ढिला गरिरहनु उचित नभएपनि हामीले पृथ्वीलाई जीवन धान्न सक्ने अवस्थामा छाड्न सक्ने वैज्ञानिकहरूको तर्क छ । तर आगामी पिढीले वातावरणको खर्च धान्न नसकेमा भने उनीहरूले एकैपटकमा हाम्रो भागको तातोसमेत खप्नुपर्नेछ ।

प्रतिक्रिया