मधुमेहको औषधि उत्पादन अब नेपालमै

काठमाडौं । नेपाली औषधि बजारमा नयाँ–नयाँ उत्पादन गर्दै आइरहेको कम्पनी म्याग्नस फर्माले मधुमेहको उपचारमा प्रयोग हुने औषधि इम्पाग्लिफ्लोजिनको उत्पादन बजारमा ल्याएको छ । ‘ग्लिाफज’ ब्रान्डनेम भएको औषधि विश्वव्यापी रूपमा पछिल्लो समयमा मधुमहीले प्रयोग गर्ने प्रभावकारी औषधि हो ।

कम्पनीका बजार प्रबन्धक सुधीरप्रकाश मास्केका अनुसार बढ्दो मधुमेहको प्रयोगसँगै सहज र सुलभ रूपमा नेपाली विरामीसम्म सेवा पुर्याउन यसको उत्पादन सुरु गरिएको हो । मधुमेहका औषधिले प्याङक्रियाजमा गएर काम गर्ने र इन्सुलिनको मात्रा वा प्रभाव बढाउने हो ।

यो औषधिले भने, मृर्गौलामा हुने ग्लुकोजको मात्रा र्याबसोर्वलाई घटाएर शरीरमा भएको अतिरिक्त ग्लुकोजलाई मात्रै पिसाबमार्फत फाल्दछ ।
रगतमा चिनीको मात्रा सामान्यभन्दा अधिक हुनुलाई चिनीरोग या मधुमेह भनिन्छ । मधुमेह भएका व्यक्तिहरूमा सामान्यतया बढी तिर्खा लाग्ने, छिन–छिनमा पिसाब लागिरहने, अत्यन्त थकान महसुस हुने र क्रमशः शरीरको वजन घट्दै जाने हुन्छ ।

नेपालमा यो औषधि हालसम्म पनि आयतित ब्रान्डमै निर्भर रहनुपर्दा सहज र सुलभ थिएन । योसँगै नेपाली उत्पादन विदेशी ब्रान्डको तुलनामा आधा सस्तो पर्ने मास्केको भनाई छ । कम्पनीका अनुसार ग्लिफाज नेपाली उत्पादनको १० एमजीको ट्याब्लेटलाई ४५ रूपैयाँमा पर्नेछ ।

जुन विदेशी उत्पादनको त्यतिकै एमजीको औषधिको मूल्य ७५ रुपैयाँ पर्छ । उनले थपे, ‘हामिले विश्व बजारमा बिक्रि हुने गुणस्तरकै औषधि सस्तोमा उत्पादन गरेका छौं । यसले बिरामीलाई औषधि खरिद गर्ने आर्थिक बोझ पनि घट्नेछ ।’ नेपाली बजारमा यो औषधि ग्लिफाज ५ र १० एमजीका उपलब्ध छ । यसअघि पनि कम्पनीले पहिलोपटक मष्तिस्कघातका बिरामीका लागि दिइने ब्रानटोन (सिटीकोलिन), छारेरोगको औषधि लेभेटाम (लेभिटेरासिटाम) जस्ता औषधिको समेत उत्पादन गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अत्यधिक मोटोपन र निस्क्रिय जीवनशैली मधुमेहको प्रमुख कारण हो । नेपालमा मधुमेहसम्बन्धी आधिकारिक तथ्यांक नभए पनि सन् २०१६ मा जारी गरिएको डायबेटिक प्रोफाइलका अनुसार ९ दशमलब १ प्रतिशत नेपालीमा मधुमेह देखिएको छ । यसअघि विश्वभर राम्रो बजार तथा उत्पादन भए पनि नेपालको सन्दर्भमा भने इम्पाग्लिफ्लोजिनको लागि मधुमेहका बिरामीले आयातित ब्रान्डमै निर्भर रहनुपरेको थियो ।

प्रतिक्रिया