महिलाद्वारा सञ्चालित विद्यालयमा आकर्षण

लमही । महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छन् । कुनै समय विद्यार्थी अभावमा बन्द भएको विद्यालयलाई महिलाकै सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको थियो । महिला नेतृत्व तहमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रमलाई चिर्दै घोराही उपमहानगरपालिका–३ बेलुवामा रहेको रात्रि प्राथमिक विद्यालयलाई महिला शिक्षकले मात्रै सञ्चालनमा ल्याएका हुन् ।

महिलाले पनि अवसर पाएमा नेतृत्व तहमा रहेर पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण बनेका छन् । विद्यार्थीको अभाव भएको भन्दै विसं २०७२ मा बन्द भएको उक्त विद्यालयलाई चार शिक्षिकाको सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको हो । विद्यालय व्यवस्थापन समितिमा पनि सबै महिलामात्रै छन् । विसं २०७३ देखि पुनःसञ्चालनमा आएको उक्त विद्यालयमा शुरुदेखि नै अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ । जसले गर्दा अहिले विद्यालयले नतिजा पनि सन्तोषजनक ल्याउँदै आएको छ ।

कक्षा ३ सम्म चलिरहेको उक्त विद्यालयमा तीन जना आधारभूत तहका शिक्षकको दरबन्दी छ भने एउटा दरबन्दी शिशु कक्षाको छ । जसमा प्रधानाध्यापक छमा सुवेदी हुनुहुन्छ भने शिक्षिकामा सुशीला पोखरेल, रीखा गाह र प्रवीणा चौधरी छन् ।

विद्यार्थीको सङ्ख्या नपुगेपछि बन्द भएको उक्त विद्यालय सञ्चालनमा ल्याउन त्यहाँका अभिभावक, तत्कालीन जिल्ला शिक्षा कार्यालय र ती शिक्षिकाको पहलमा पुनःसञ्चालनमा ल्याइएको थियो । त्यस क्षेत्रको एकमात्र सरकारी विद्यालय बन्द भएपछि त्यहाँका बालबालिका शिक्षाबाट वञ्चित हुने भन्दै उक्त विद्यालयलाई सञ्चालनमा ल्याउन पहल थालको विद्यालयकी प्रअ छमा सुवेदीले बताईन् ।

“त्यस क्षेत्रमा एकमात्र सरकारी विद्यालय छ, त्यही विद्यालय पनि बन्द भएपछि बालबालिकाको भविष्य अन्योलमा पर्ने देखिएपछि हामीले विद्यालय सञ्चालनमा ल्याउन पहल थालेका हौँ”, सुवेदीले भनिन् । विद्यालय सञ्चालनमा ल्याउनका लागि सबै शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शैक्षिकसत्र विसं २०७३ मा विद्यालय भर्ना अभियान सञ्चालन गरेका थिए । त्यतिबेला उक्त विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या धेरै भएपछि पुनःविद्यालय सञ्चालनमा ल्याइएको प्रअ सुवेदीले बताईन् । अहिले विसं २०७५ मा आउँदा ५५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक सुवेदीले महिलाले पनि हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन् भन्ने कुराको प्रमाणित गर्न पनि आफूहरु इमान्दारीपूर्वक लागेको बताईन् । “महिलाले नेतृत्वमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रम थियो”, उनले भनिन् , “हामीले यसलाई चिर्न सफल भएका छौँ ।

साथै महिला पनि हरेक काममा दक्ष हुने भन्दै अब चुलो र चौकोमै सीमित हुने दिन अन्त्य भए महिला हिंसा पनि अन्त्य हुने उनको भनाइ छ । महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न महिला नै विद्यालय सञ्चालन गर्न आँट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीले बताईन् ।

थारू समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका बालबालिका निजी विद्यालयमा पढ्न सक्ने अवस्था नभएको भन्दै उक्त विद्यालयलाई पुनःसञ्चालनमा ल्याउन पहल थालिएको उनको भनाइ छ । “यहाँका सबै बालबालिका गरीब परिवारका छन्”, उनले भनिन् , “उनीहरुको भविष्यका लागि पनि विद्यालय सञ्चालनमा ल्याएका हौँ । एकपटक बन्द हुने अवस्थामा रहेको उक्त विद्यालयलाई नमूना विद्यालय बनाएरै छोड्ने प्रतिबद्धतासमेत उनले ब्यक्त गरिन् ।

अहिले प्रत्येक अभिभावक, व्यवस्थापन समिति, शिक्षिकाले विद्यालय सञ्चालनका लागि मासिक रु १० जम्मा गर्दै आएको अध्यक्ष चौधरीले बताईन् । अभिभावकले पनि सोही विद्यालयमा पढेका विद्यार्थी निजी विद्यालयमा पढेका विद्यार्थी कमजोर नभएको बताएका छन् । गाउँमै राम्रो विद्यालयका रुपमा उक्त विद्यालय सञ्चालन भएपछि अभिभावक पनि खुशी भएका छन् । अहिले विद्यालयमा कम्प्युटर, ल्याप्टप तथा मल्टिमिडियाको प्रयोग गरी अध्यापन गराउँदै आइएको छ ।

प्रतिक्रिया