नाकबाट सास फेर्दा कस्तो असर पर्छ ?

वासिंगटन । अध्यात्मिक परम्पराले धेरै समय अगाडि नै स्वासप्रस्वास र मानसिक स्थितिबीचको सम्बन्धलाई अप्रत्यक्ष रूपमा व्याख्या गरिसकेको छ । यही मान्यताका कारण हामी गहिरो सोच, चिन्ता, तनाव लगायतका मानिसक असन्तुलनबाट राहत पाउन लामो सास फेर्ने गर्छौं ।

यसलाई पुष्टि गर्ने स्पष्ट वैज्ञानिक प्रमाणहरू नभए पनि हालै यो विषयलाई स्मरण शक्तिसँग जोड्दै अनुसन्धानकर्ताहरूले नयाँ तथ्य पत्ता लगाएका हुन् । यसरी गत अक्टोबरमा ‘जर्नल अफ न्युरोसायन्स’ले हाम्रो सास फेर्ने तरिकाले स्मरण शक्तिमा कस्तो प्रभाव पार्न सक्छ भन्नेबारे खोजी गरेको हो ।

गन्ध पहिचान गर्ने क्षमतालाई मानिससहित अधिकांश प्राणीका निम्ति जीवनोपयोगी मानिन्छ । यसैकारण न्युरो साइन्टिस्टहरू हाम्रो सोच र सास फेर्ने तरिकाबीचको सम्बन्ध सुरुआती जैविक विकासकै समयमा निर्धारित भएको विश्वास गर्छन् ।

यस्तोमा वैज्ञानिकहरूले नाक र मुखबाट सास फेर्नुले हाम्रो स्मृतिमा कति फरक पार्छ भन्नेबारे एउटा सर्वेक्षण गरेका हुन् जसमा दुई दर्जन स्वस्थ महिला र पुरुषहरूले भाग लिएका हुन् । यसमा सबै सहभागीलाई १२ भिन्दाभिन्दै गन्ध सुँघ्न लगाइएको थियो । त्यसमा सुन्तलाजस्ता सामान्य खानेकुराका बास्ना सजिलै पहिचान गर्न सकिन्थ्यो भने कुनै कुनै गन्धचाहिँ सहभागीहरूले सजिलै पत्ता लगाउन सकेनन् ।

यसरी, सबैलाई प्रत्येक गन्ध स्मरण गर्न लगाइएको थियो । दुई चरणको यस अनुसन्धानमा पहिले सबैथरीका बास्ना सुँघेपछि सहभागीहरूको नाकमा क्लिप लगाई मुखबाट मात्र सास फेर्न दिइएको थियो । फेरि अर्को चरणमा भने त्यसको विपरीत मुखमा टेप लगाई नाकबाट मात्र सास लिन दिइएको हो ।

यसो गर्दैगर्दा उनीहरूलाई बीचमा एक घण्टाको ब्रेक दिइएको थियो जसमा सबैलाई प्रत्येक गन्ध याद गर्न लगाइएको थियो । तर एक घण्टा सकिनासाथ सबैलाई फेरि तिनै गन्ध र साथै केही नयाँ बास्नाहरू पनि सुँघाइएको थियो । यसपछि उनीहरूलाई दोहोरिएको गन्ध र नयाँ गन्धको फरकबारे प्रश्न गरिएको थियो ।

यसरी एक घण्टाको ब्रेकमा नाकले सास फेर्दा सबै सहभागीले बास्नाको सही पहिचान गर्न सकेका हुन् भने मुखबाट सास लिँदाचाहिँ धेरैले गलत जवाफ दिएको पाइएको हो । त्यसकारण वास्तवमै नाकबाट सास फेर्दा हाम्रो स्मरण क्षमतामा सुधार आउने स्पष्ट भएको ‘कारोलिन्स्का इन्स्च्युट’ का वरिष्ठ न्युरोविद् तथा यस अध्ययनका प्रमुख आर्टिन आर्समियनले बताएका हुन् ।

मुखबाट सास फेर्दा भने यसले सुँघ्न मद्दत गर्ने ‘ओल्फ्याक्टरी बल्ब’ लाई नजरअन्दाज गरि न्युरोनल जानकारी नटिप्ने हुँदा यो प्रभावकारी सावित नभएको आर्टिनको भनाइ छ । त्यसैले मुखको तुलनामा नाकबाट सास फेर्नुले मानिसको स्मृति लामो अवधिसम्म जीवित राख्न सक्ने उनको दाबी छ ।

यसले हाम्रो दैनिक जीवनको स्मरण शक्तिमा पनि सकारात्मक प्रभाव पार्न सक्ने उनले बताए । यसरी हजारौँ वर्षदेखि हामीले मानसिक अवस्थामा बदलाव ल्याउन स्वास प्रस्वासकै मद्दत लिने गर्दासमेत अझै यो तथ्यबारे कोही पूर्ण रूपमा जानकार नरहेको उनले बताएका हुन् । (न्यूयोर्क टाइम्सबाट)

प्रतिक्रिया