‘एसिया प्यासिफिकमा सरकार सहयोगी मात्र’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं एसिया प्यासिफिक सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले उक्त सम्मेलनमा नेपाल सरकार सहयोगीका रूपमा मात्र रहने स्पष्ट पारेका छन् ।

सम्मेलनका बारेमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले अति विशिष्ट व्यक्तिलाई निमन्त्रणा गर्न र उनीहरूको सुरक्षा तथा यातायात व्यवस्थापनमा मात्र सरकारको भूमिका हुने स्पष्ट पारे । सम्मेलन १४ देखि १७ मंसिरसम्म काठमाडौंमा हुँदै छ ।

युनिभर्सल पिस फेडेरेसन (युपिएफ) को आयोजनामा हुने सम्मेलनको विषय ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन, अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ रहेको छ ।

सम्मेलनमा विभिन्न मुलुकबाट सात राष्ट्रका सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्रप्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका १ हजार ५ सय विदेशी अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलन क्रिश्चियन धर्मको प्रचारका लागि नभएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुहरूको सहभागिता हुने बताए । सम्मेलन नेपालमा हुनु मुुलुकका लागि गौरवको विषय भएको उल्लेख गर्दै उनले सम्मेलनका दौरान विदेशी राष्ट्र-सरकारसँग द्विपक्षीय भेटघाटसमेत हुने जानकारी गराए ।

कार्यक्रममा आयोजक समितिका सहसंयोजक एकनाथ ढकालले सम्मेलनको उद्घाटनपछि पाँच सत्रमा विभिन्न विषयमा छलफल हुने र सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नु मुख्य जोड रहने बताए । युनिभर्सल पिस फेडेरेसन केन्द्रको प्रायोजन रहने सम्मेलनको अनुमानित खर्च २० करोड हुने उनले जानकारी दिए ।

प्रतिक्रिया