‘विकास तीव्र गतिमा हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तीव्र रूपमा बढाइने बताएका छन् ।

सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब तीव्र गतिमा विकासका काम अघि बढाइने बताएका हुन् ।

‘विकासलाई द्रुत गतिमा कसरी बढाउनुपर्दछ भन्ने यो सरकारलाई जानकारी छ’, प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौँ ।’ उनले योजनाबद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको बताए ।

‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौँ । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनुपर्दछ ।’ प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्दै भने, ‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तिलाई मार्गदर्शन गर्नुपर्दछ ।’

उनले कार्यदलका सदस्यहरूलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन पनि दिए । ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ,’ उनले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगतरूपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ ।’

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरूले पनि योजना बनाउने भएकोले यसलाई त्रुटिरहित बनाउन प्रधानमन्त्रीको निर्देशन थियो । ‘अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनबद्धरूपमा काम गरी प्रतिवेदनमा नयाँ निष्कर्षहरू आउनु पर्दछ ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रूपमा अध्ययन गर्नका लागि असोज २८ गते डा. रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो । समितिका सदस्यहरूमा डा.माधव दाहाल, डा.इन्दिरा पराजुली, डा.विश्ववाला थापा, डा.विजय दत्त, डा. ध्रुव गौतम र डा.राजेश अहिराज छन् । कार्यदलको निर्देशक समितिमा शिक्षा मन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।

प्रतिक्रिया