अस्ट्रेलियामाथि भारतको जित

एजेन्सी, सिड्नी । अस्ट्रेलियासँगको अन्तिम तथा तेस्रो टी–२० खेलमा भारत ६ विकेटले विजयी भएको छ । आइतबार सिड्नीमा भएको खेलमा घरेलु टोली अस्ट्रेलिया ६ विकेटले पराजित भएसँगै तीन टी–२० क्रिकेट शृंखला १–१ को बराबरीमा सकिएको छ । यसअघि पहिलो खेलमा भारत ४ रनले पराजित हुँदा दोस्रो खेल वर्षाको कारण रद्द भएको थियो ।
अस्ट्रेलियाले प्रस्तुत गरेको १ सय ६५ रनको विजयी लक्ष्य भारतले कप्तान विराट कोहलीको उत्कृष्ट अर्धशतकमा २ बल अगाडि नै ४ विकेटको क्षतिमा पूरा गरेको हो । भारतलाई सहज जिताउन कोहलीले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे । त्यस्तै दिनेश कार्तिकले १८ बलमा समान १ चौका र छक्का प्रहार गर्दै २२ रन जोडे ।

ओपनर शिखर धवनले पनि आक्रमक ब्याटिङ गर्दै २२ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४१ रन बनाउँदा रोहित शर्माले २३ र के.एल राहुलले १४ रन बनाउन सके । अस्ट्रेलियाका लागि मिचेल स्टार्क, एडम जम्पा, एन्ड्रयु टाई र ग्लेन म्याक्सवेलले समान एक(एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाउन सक्यो । पहिलो विकेटको लागि कप्तान आरोन फिन्च र डार्सी सर्टले ८.२ ओभरसम्म ६८ रनको साझेदारी गर्दै बलियो सुरुआत दिलाएका थिए । तर नवौँ ओभरको तेस्रो बलमा कुलदीप यादवले कुनाल पान्ड्याको हातबाट क्याच गराउँदै फिन्चलाई आउट गर्दै भारतलाई पहिलो विकेट दिलाएका थिए । फिन्चले २८ रन बनाए ।

लगत्तै अर्को (९) ओभरको पहिलो बलमा सर्ट र दोस्रो बलमा बेन म्याकडर्मोटलाई क्रुनाल पान्ड्याले लगातार एलबीडब्लुको धराप पार्दै पेभिलिएन फर्काएपछि भारत खेलमा फर्किएको थियो । सर्टले २९ बलमा ५ चौका प्रहार गर्दै ३३ रन आउट भए । विकेट किपर एलेक्स करी २७, क्रिस लिन १३, मार्कस स्टोइनिस २५ र नाथन कुल्टर नाइल १३ रनमा नट आउट रहे ।

पान्ड्याले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट हात पार्दा कुलदीप यादवले एक विकेट आफ्नो नाममा लेखाए । अब भारत र अस्ट्रेलियाबीच चार टेस्ट र ३ वान डे खेल हुनेछ । पहिलो टेस्ट डिसेम्बर ६ देखी एडिलेडमा सुरु हुने छ ।

प्रतिक्रिया