धानको मूल्य कार्यान्वयनमा

काठमाडौं । खाद्य संस्थानले धानको समर्थन मूल्य पहिलोपटक कार्यान्वयनमा ल्याएको छ । विगतमा पनि मूल्य तोक्ने गरे पनि त्यो कार्यन्वयन हुन सकेको थिएन् । मंगलबार संस्थानको सञ्चालक समितिले समर्थन मूल्य पारित गरेपछि कार्यान्वयनका लागि बाटो खुलेको हो ।

संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार संस्थानले इतिहासमै पहिलोपटक कार्यान्वयन गरेको छ । ‘दुई वर्षअघि सरकारले समर्थन मूल्य तोकेको थियो । बजार भाउभन्दा अस्वाभाविक थियो । बढी मूल्यमा खरिद गरेर दुगर्ममा बिक्री गर्न समस्या भयो,’ गौचनले भने, ‘जसले गर्दा कार्यान्वयन हुन सकेको थिएन ।’

हाल धान खरिद र बिक्रीबीचको अन्तर मूल्य अर्थले व्यर्होने जनाएपछि संस्थानले सरकारकै मूल्यमा किन्न थालेको हो । सरकारले हिउँदे धान मोटाको न्यूनतम मूल्य प्रतिक्विन्टल २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल उत्पादनको १ देखि २ प्रतिशत धान खरिद गर्ने योजना बनाएको छ । सोहीअनुसार खरिद प्रक्रिया अगाडि बढाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिइसकेको छ । संस्थानले सरकारकै मूल्यमा खरिद गर्ने बताए पनि खरिद प्रक्रिया ढिलाइ हुँदा किसानले मूल्य पाउन सकेका छैनन् ।

सरकारले समयमै खरिद गर्दा व्यवसायीले पनि बढी मूल्य तिर्छन् । संस्थानले भने मूल्यबारे अन्योल भएकाले खरिदमा केही ढिलाइ भएको दाबी गरेको छ । संस्थानले चालु आर्थिक वर्षमा मोटा, मध्यम, मसिनो, सोना मन्सुली, जिरा, बास्मती तथा स्थानीय जातका धान खरिद गर्ने योजना बनाएको थियो । सरकारले मध्यम र मोटाको मात्रै समर्थन मूल्य तोकेकाले ती दुई धान मात्रै खरिद गर्नेछ ।

प्रतिक्रिया