सप्तरी दुर्घटनाका मृतक परिवारलाई एक लाख राहत 

राजविराज । प्रदेश नं २ को सरकारले सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई रु एक-एक लाख राहत दिने भएको छ । दुर्घटनामा घाइते भएकाको अवस्था तथा मृतकलाई श्रद्धाञ्जलि दिन सप्तरी आउनुभएका प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मृतक परिवारलाई रु एक÷एक लाख राहतस्वरुप दिने दिने घोषणा गरे ।

यसका साथै घाइते भएकाको उपचारमा लाग्ने खर्चसमेत प्रदेश सरकारले व्यर्होने मन्त्री यादवले घोषणा गरे । सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नंको बस अनियन्त्रित भई सप्तरीको भारदह राजविराज सडकखण्ड अन्तर्गत इनरुवा नजिकै रहेको पोखरीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका वडा नं ५ की ७० वर्षीया वेचनीदेवी यादव, २ की ६० वर्षीया शिकिलादेवी साह, वडा नं ४ का ५५ वर्षीय दिनेश रजक, सोही वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नं ५ की ६० वर्षीया भुखनीदेवी यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

सो दुर्घटनामा ४८ जना यात्रु घाइते समेत थिए । घाइतेमध्ये गम्भीर भएका १४ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

शोकमा स्थानीय तह बन्द

बस दुर्घटनामा पाँच तीर्थयात्रीको मृत्यु भएको शोकमा आज सप्तरीको सवै स्थानीय तह बन्द गरिएका छन् । जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकले बस दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आज एक दिन जिल्लाका सम्पूर्ण स्थानीय तह बन्द गर्ने निर्णय गरिएको छ ।

सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह रहेका छन् । सबै स्थानीय तहका सरकारी कार्यालय, सार्वजनिक संस्था, शिक्षण संस्था, इमर्जेन्सीबाहेक स्वास्थ्य संस्था र अन्य कामकाजलगायत सबै बन्द गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया