लुम्बिनीमा दश महिनामै ११ लाख पर्यटक

काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा सन् २०१८ को दश महिनामा ११ लाख ४८ हजार ४८२ जना स्वदेशी तथा विदेशीले भ्रमण गरेका छन् । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी भ्रमणमा नेपालीको संख्या अत्यधिक रहेको छ । १० महिनाको अवधिमा आठ लाख ९२ हजार ३६१ जनाले लुम्बिनीको भ्रमण गरेका छन् ।

यस्तै, एक लाख ३२ हजार १८२ भारतीय पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । तेस्रो मुलुकका एक लाख २३ हजार ९३९ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । सन् २०१८ को जनवरीमा ९५ हजार ८ सय २३ नेपालीले लुम्बिनी भ्रमण गर्दा १२ हजार ९ सय ८८ भारतीय र अन्य देशका नौ हजार ७ सय १४ जनाले भ्रमण गरेका छन् ।

यस्तै, सन् २०१८ को अक्टोबरमा ८८ हजार ५ सय ८२ नेपालीले भ्रमण गर्दा १६ हजार ९ सय ८ जना भारतीय र अन्य देशका १८ हजार ३ सय ८८ जनाले भ्रमण गरेका छन् । कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले हरेक वर्ष लुम्बिनी भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको जानकारी दिए ।

उनकाअनुसार लुम्बिनीमा श्रीलंकाका ३७ हजार १३ जनाले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै, म्यान्माका १४ हजार २ सय २४ जनाले लुम्बिनी भ्रमण गर्दा थाइल्यान्डका १४ हजार ७ सय ७९ पर्यटकले भ्रमण गरेका छन् । यस्तै, सन् २०१८ को अगस्तसम्म १० हजार ५ सय ७७ जना चिनियाँ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

उपाध्यक्ष त्रिपाठीले लुम्बिनी क्षेत्रको भौतिक पूर्वाधार निर्माणमा विशेष ध्यान दिइएको र पर्यटकमैत्री बनाइएका कारण पनि पछिल्ला दिनमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा बढोत्तरी भएको जानकारी दिए । आगामी जेठभित्र गौतमबुद्ध विमानस्थलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आउने भएकाले पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने उनको दाबी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी क्षेत्रको भौतिक विकासका लागि सरकारले दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको छ । आगामी तीन वर्षभित्र लुम्बिनी गुरुयोजनालाई पूरा हुने गरी काम अगाडि बढाइएको छ । लुम्बिनी क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, प्रचारप्रसारलाई समेत विशेष जोड दिइएको जानकारी दिँदै उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा लुम्बिनीसमेत विशेष प्राथमिकतामा रहेको बताए ।

प्रतिक्रिया