शृंखला सेमिफाइनलमा

काठमाडौं । मिस वल्र्ड २०१८ को सेमिफाइनलमा मिस नेपाल शृंखला खतिवडाले प्रवेश गरेकी छन् । उनले आफ्नो फेसबुकमा एक स्टाटस पोस्ट गर्दै आफू मिस वल्र्डको सेमिफाइनलमा छानिएको जनाउँदै दिँदै सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छन् ।

उनले लेखेकी छन्, ‘सेमिफाइनका लागि छनोट हुँदा निकै खुसी छु । प्रेमका लागि नेपाललाई हृदयदेखि नै धन्यवाद ।’ मिस वल्र्डको काउन्टडाउन सुरु हुँदा उनी एसियाबाटै सबैभन्दा लोकप्रिय बन्न सफल भएकी छन् । चीनको सान्या सहरमा जारी ‘मिस वल्र्ड–२०१८’ प्रतियोगितामा अधिकांशलाई उनले प्रभावित पारेकी छन् ।

निर्णायक प्रतियोगिताअघि विभिन्न पक्षबाट भएको सर्वेक्षणमा उनी विजेताको सम्भावित सूचीमा पर्दै आएकी छन् ।
प्रतियोगितामा सहभागी १ सय २१ सुन्दरीसँगको प्रतिस्पर्धामा उनी उत्कृष्ट ३० मा पर्न सफल भएकी हुन् । टप मोडेल विधाअन्तर्गत सेमिफाइनलमा पुगेकी शृंखला यसको श्रेय नेपालीले दिएको माया र विश्वासलाई ठान्छिन् ।

उक्त प्रतियोगितामा सहभागी हुन दश दिनअगावै सान्या पुगेकी उनले त्यहाँ आफूलाई मात्रै होइन नेपाललाई पनि संसारसामु चिनाउने कोशिस गरिरहेकी छन् । शृंखलाले युट्युबमार्फत सार्वजानिक गरेको भिडियोमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विधितालाई प्रस्तुत गरेकी छन् ।

उक्त भिडियोमा सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला, संस्कृति र प्रकृतिलाई समेटिएको छ । उक्त भिडियोमा देश विदेशका हजारौँ मानिसले प्रशंसा गर्दै कमेन्ट लेखेका छन् । इन्जिनियरिङ अध्ययन गरिरहेकी शृंखलाले अहिले आफू र नेपाल चिनाउन निकै मिहिनेत गरेको बताउँछिन् ।

प्रतिक्रिया