विदेशी मुद्राका कारोबारी पक्राउ

पोखरा । अवैध रूपमा विदेशी मुद्राको कारोबार गरेको आरोपमा भारतीय नागरिकसहित एक नेपाली महिला पक्राउ परेका छन् ।

अबैध विदेशी मुद्राको कारोवार गरेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यलय कास्की प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ गर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह र काठमाडौं महानगरपालिकाकी ३५ वर्षीया चन्दा थापा रहेका छन ।

प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर, भारतीय रूपैयाँ, इंगल्यान्डको पाउन्ड तथा युरो गरी ३१ लाख २८ हजार ७ सय ९ रूपैयाँ बरामद गरेको छ । पोखरा लेकसाइडको एक होटलबाट वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाह र थापाको साथबाट प्रहरीले नेपाली रूपैयाँ २४ हजार ८ सय ५, भारतीय रूपैयाँ २ हजाको नोट ४३ थान, भारतीय रूपैयाँ ५ सयको ११ थान, भारतीय रूपैयाँ सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान बरामद गरेको छ ।

त्यसैगरी अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इंग्ल्यान्डको पाउन्ड ५ को दुइथान नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुंले जानकारी दिए ।

डलरसंगै उनीहरूको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, एम आइ कम्पनीको एन्ड्रोइड मोबाइल एक थान, विभिन्न बैंकको एटिएम ६ थान, विभिन्न बैंकको चेकबुक ४ थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान र शाह र थापाको राहदानी एक एक थान समेत बरामद गरेको छ ।

पक्राउ परेको उनीहरूलाई राजस्व अनुसन्धान विभाग काठमाडांै पठाइएको प्रहरी प्रवक्ता गुरुङले बताए । ‘पक्राउ परेकाहरूलाई विदेशी मुद्दा अपचलन गरी राजस्व ठगेको केसमा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएका छौँ’ गुरुङले भने ।

प्रतिक्रिया