नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार मात्रै टुंगिने भएको छ ।

पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुंगो लगाउने निर्णय गरेको हो ।

केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । बैठकपछि उनले भने, ‘सोमबार फेरि बैठक बस्छौँ, त्यसपछि केन्द्रीय सदस्यहरूको कार्यविभाजन सकेर जनवर्गीय संगठनहरूको एकता विषयमा छलफल थाल्छौँ ।’ एकता भएको लामो समयसम्म केन्द्रीय सदस्यहरू जिम्मेवारीविहीन छन् र यही कारण पार्टीभित्र असन्तुष्ट पनि देखिन थालेको छ ।

लामो समयसम्म जिम्मेवारी विहिन भएर बस्नु पर्ने अवस्था आएपछि केही केन्द्रीय सदस्यले पार्टीलाई ज्ञापनपत्र बुझाउँदै केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् । तल्लो तहमा पनि एकता हुन पार्टी फ्रिज जस्तो अवस्थामा रहेको भन्दै नेता कार्यकर्ता पनि रुष्ट हुँदै आएका छन् ।

प्रतिक्रिया