प्रकाश स्मृतिकप प्लानिङ ब्वाइज युनियनलाई

निता राउन, दोलखा । प्रथम प्रकाश स्मृति कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनियन काठमाडांैले हात पारेको छ । सदरमुकाम चरिकोटमा शुक्रबार भएको फाइनल खेलमा दोलखा जिल्ला फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनियनले उपाधि हात पारेको हो ।

खेलको विजेता बनेसँगै प्लानिङ ब्वाइज युनियनले नगद २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ ।
खेलको उपविजेता बनेको दोलखा जिल्ला फुटबल संघले नगद १ लाख २५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तृतीय हुने एपिएफ नेपाल क्लब र दिपशीखा युवा समूह नैकापको समूहले नगद ३०÷३० हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् ।

प्रतियोगितामा ३ जना खेलाडीले उत्कृष्टको उपाधि पाएका छन् । दोलखा जिल्ला फुटबल संघका विवेक बुढाथोकीले बेस्ट डिफेन्डर, बेस्ट स्टाइकरको उपाधि हिमाल श्रेष्ठ र म्याच अफ दि टुर्नामेन्टको उपाधि सुजन श्रेष्ठले पाएका थिए ।
प्रतियोगितामा उत्कृष्ट किपरको उपाधि प्लानिङ ब्वाइज युनियनका विष्णु केसी, हाई स्कोररको उपाधि दिपशिखा युवा समूह नैकापका दावा शेर्पाले पाएका छन् ।

उत्कृष्ट खेलाडीले नगद १०/१० हजारसहित सिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । विजेता समूहलाई खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ट्रफी प्रदान गरेकी थिइन् । पुरस्कार वितरण गर्दै खानेपानी तथा तथा सरसफाइमन्त्री विना मगरले समृद्ध नेपाल र सुखी नेपालीको लागि पनि खेलाडीहरूमा जस्तै आत्मविश्वास, संकल्प राष्ट्रभाव हुनुपर्ने बताइन् ।
पुनर्संगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल संघको सह–आयोजनामा प्रतियोगिता भएकोे हो ।

प्रतिक्रिया