आर्थिक समृद्धि नै प्रमुख लक्ष्य- पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आर्थिक समृद्धि नै सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

विराटनगरमा शुक्रबार आयोजित औद्योगिक तथा व्यवसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिकर स्थानीय आर्थिक ऐनले पारेको प्रभाव विषयक अन्तरक्रिया  कार्यक्रममा बोल्दै उनले राजनीतिक आन्दोलन समाप्त भएकाले मुलुकको समृद्धिमा अब सरकारको ध्यान केन्द्रित रहेको बताए ।

मन्त्री पण्डितले वैदेशिक रोजगारवाट आर्जन हुने रेमिट्यान्सबाट आर्थिक समृद्ध कायम हुन नसक्ने बताउँदै दक्ष युवाजनशक्तिलाई स्वदेशमा रोजगारी उपलव्ध गराउने खालका योजना ल्याउनुपर्नेमा जोड दिए । उनले उद्योगीहरूलाई सहज रूपमा उद्योग स्थापनाका लागि संघीय सरकारले मुलकका विभिन्न आठ स्थानमा ठूला औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी गरिरहेको बताए ।

मन्त्री पण्डितले देशको समृद्ध र जनतालाई सुखी बनाउन उद्यमीको ठूलो भूमिका रहेको छ भन्दै जनताबाट उठाएको रकम राजस्वको रूपमा सरकारलाई बुझाउन उद्योगीहरूलाई आग्रह गरे ।

प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले संघीयता कार्यान्वयनमा रहेको अवस्थामा करसम्बन्धी समस्या आगामी दिनमा समाधान हुने बताए ।

उनले प्रदेशमा दरबन्दी अनुसारको कर्मचारी समायोजन नहुँदामा सरकारको काममा समस्या भएको बताए । उनले वित्तीय संघीयता समाधानमा रहेको राजस्व बाँडफाँड र प्राकृतिक स्रोत साधनका लागि संघीय सरकारले वित्तीय आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विकास निमार्णका लागि करको दायरा बढाएको बताए । करबाट उठेको पैसा जनताका लागि विकास निमार्णमा खर्च गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया