कुवामा लाम बस्ने बासिन्दा पानीको बिल तिर्दै

बनेपा । कुनैबेला काकाकुल जस्तो बनेका नमोबुद्ध नगरपालिका–४ मेथिनकोट आसपासका स्थानीय बासिन्दा अहिले शुद्ध खानेपानी उपभोग गर्दै आइरहेका छन् ।

पानीकै लागि कुवा, पँधेरो र इनारमा गाग्री लिएर लाइन बस्नुपर्ने बाध्यता थियो । पहिला कुवा र पँधेरोमा लाइने बस्ने उनीहरू अहिले पानीको बिल तिर्न लाइन बसेर रकम तिर्दै पानीको सुविधा उपभोग गर्न पाएकामा दङ्ग छन् ।

वडा कार्यालय र सहयोगी निकायको साथ पाएका स्थानीय बासिन्दाले अहिले आफ्नै वडा कार्यालयसँगै रहेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यालयमा मासिक रूपमा बिल भुक्तानी गरी खानेपानी उपभोग गर्न पाएका हुन् । स्थानीयवासी उद्धवप्रसाद चिमौरियाका अनुसार महीनाको रु २८५ तिरेर आवश्यकताअनुसारको पानी उपयोग गर्न पाएका छन् ।

अर्का स्थानीय बासिन्दा हरिकृष्ण सिलवालले यसअघि आधा घण्टा लगाएर कुवामा गई पानी ल्याउनुपर्ने झण्झटिलो काम अब अन्त्य भएको बताए । ‘दुई महीना जति भयो, अब त आँगनमा नै धारामा आएको पानी उपभोग गर्न पाएको छु,’ उनले भने ।

वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले तीन ठाउँबाट पानी सङ्कलन गरी ५०२ घरधुरी वडाबासिन्दालाई खानेपानीको व्यवस्थापन गरेको बताए । खानेपानी वितरण गरेबापत उपभोक्ताबाट उठाएको पैसाले पानी तान्नको लागि प्रयोग हुने विद्युत् महसुल, काम गर्ने मान्छेलाई तलब उपलब्ध गर्ने गरेको बताए ।

अहिले त्यहाँका स्थानीय बासिन्दाले खानेपानीसँगै चार जनाले रोजागरी समेत पाएका छन् । ‘समितिमार्फत काम गर्नेले मुहानबाट पानी लिफ्ट गर्ने, बिहान–बेलुका पानी खोल्ने र बन्द गर्ने काम गर्छन्’, वडा अध्यक्ष काफ्लेले भने ।

खानेपानी व्यवस्थापन गर्नको लागि रोशीखोलाको पानी लिफ्ट गरी कानपुर खानेपानी आयोजनाबाट मेथिनकोटको माथिल्लो भेगका ९० घरधुरीलाई वितरण गरेको छ भने चुवाने खानेपानी आयोजनाबाट कटुञ्जे खोलाको पानी फिल्टरसहितको लिफ्ट गरी १३७ घरधुरीलाई खानेपानी वितरण गरेको उनको भनाइ छ ।

त्यस्तै मेथिनकोट खानेपनी आयोजनाअन्तर्गत २७५ धारा वितरण गरिसकेको र अन्य बाँकी ८० घरधुरीको लागि पनि खानेपानी उपभोग गर्न थप धारा विरतण गरी पानी उपलब्ध गराउने काम लगभग सम्पन्न भइसकेको वडा अध्यक्ष काफ्लेले बताए ।

सुख्खा क्षेत्रको रूपमा परिचित भकुण्डे आसपासका बासिन्दाले यसअघि खानेपानीको लागि कुवा तथा पछिल्लो अवस्थामा इनार बनाएर पानी उपभोग गर्दै आएकामा अहिले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी घरघरमा नै उपभोग गर्न पाएकामा निकै खुशी रहेको बताउँछन् ।

प्रतिक्रिया