सञ्चार माध्यमलाई कर छुट र प्रोत्साहन घोषणा

एजेन्सी, ओन्टारियो । क्यानडाको संघीय सरकारले संघर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।  क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताए । यो कार्यक्रमको विस्तृत विवरण आगामी वार्षिक बजेटमार्फत सार्वजनिक गरिनेछ ।

यो कर छुट खासगरी समाचार उत्पादनमा लाग्ने श्रमको लागतमा मद्दत गर्न सञ्चारमाध्यमलाई उपलब्ध गराइनेछ । डिजिटल समाचारसँग सम्बन्धित पोर्टलका ग्राहकका लागि हाल अस्थायीरूपमा कर छुट दिइएको छ ।

गैर–नाफामूलक सञ्चार संस्थाले पनि यो कार्यक्रममा आवेदन दिन सक्ने बताइएको छ । संसद्मा सम्बोधन गर्दै अर्थमन्त्री मोर्निउले भने, ‘हाम्रो लोकतन्त्र र समुदायमा स्वतन्त्र सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण छ र राज्यले त्यसको संरक्षण गर्नुपर्दछ । यही धारणाका आधारमा क्यानडाको पत्रकारितालाई मद्दत गर्ने सोच अघि सारिएको हो ।’

टोरन्टो स्टारका मालिक एवं टार्सटार कर्पोरेसनका अध्यक्ष जोन होन्डेरिकले सरकारको उक्त प्रस्ताव स्वागतयोग्य रहेको बताए । विगत १० वर्षको अवधिमा क्यानडामा २ सय ५० भन्दा बढी अखबार बन्द भइसकेका छन् भने सन् २०१२ यता अखबारको आम्दानीमा ४० प्रतिशतको हाराहारीमा कमी आएको छ ।

प्रतिक्रिया