नदी दोहन रोकिएन

प्रिमेश शिवाकोटी, रौतहट । रौतहटका पछिल्लो समय नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन गर्ने क्रम बढ्दै गएको छ । जिल्लामा रहेको खोलाबाट अनुमति नलिइकन एक्जाभेटरको प्रयोग गरेर नदीजन्य पदार्थका अबैध उत्खनन जारिरहेको छ ।  सम्बन्धित निकायबाट स्वीकृती नै नलिई वृन्दावन नगरपालिकाको भागमा पर्ने बागमती नदीको रमौली घाटबाट र गुजरा नगरपालिकाको बकैया खोलाबाट दैनिक सयौँ टिपरभन्दा बढी गिटी, बालुवा र ढुंगा उत्खनन हुने गरेको छ ।

वृन्दावनको बागमती खोलाबाट गरुडा नगरपालिका–५ झाँझपुलमा रहेको शिवशंकर क्रसर उद्योगले विनाअनुमति निर्वाध रूपमा खोला दोहन गर्दै आएको छ भने गुजरा नगरपालिकाको बकैया खोलाबाट रमन सगरमाथा जेभी कन्सट्रक्सनले निर्वाध रूपमा नदीजन्य पदार्थ दोहन गरिरहेको छ । दुबै खोलाको दोहन भइरहँदा स्थानीय तहका प्रमुख तथा जिल्लाका प्रमुखले आपूmहरूलाई जानकारी नरहेको बताएका छन् ।

वृन्दावन नपाले बागमतीको रमौली घाटलाई गिटीबालुवा उत्खनन गर्न चालुु आवको लागि १ करोड ६० लाखमा बाबा विश्वकर्मा निर्माण सेवा हर्दिया–४ लाई ठेक्का दिएको छ । तर, यस निर्माण सेवाका प्रमुख हरेन्द्र ठाकुर लोहारले भने बागमती नदी उत्खननको विषयमा आफूलाई जानकारी नै नभएको बताए ।

यता गुजरा नगरपालिकाले बकैया नदीको नदीजन्य बस्तुको ठेक्का अझै लगाउन नसकेको अवस्था छ । गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले जिल्ला समन्वय समितिबाट मौखिक रूपमा आदेश आएकोले नगरपालिकाबाट एक्जाभेटर प्रयोग गर्न अनुमति दिएको भन्दै आपूूm जोगिन खोजेका थिए । यता जिल्ला समन्वय समितिबाट कुनै अनुमति नदिएको इन्जिनियर दीपेन्द्रप्रसाद यादवले बताए ।

वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव टेकराज पन्थीले विनाइजाजत नदी उत्खननको अधिकार कसैलाई नभएको बताए । उनले नगरपालिकाको तर्फबाट अहिलेसम्म कसैलाई पनि खोला उत्खननको अनुमति नदिइएको पन्थीले दाबी गरे । जिल्ला अनुगमन समिति रौतहटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अनुगमन समितिबाट चालु आवको लागि कसैलाई पनि नदीमा उत्खननको अनुमति नदिएको बताए ।

अनुगमन समितिले अझै कसैलाई अनुमति नदिएको बताउँदै रिजालले अवैधरूपमा उत्खनन गरिरहेको खबर थाहा पाए कारबाही हुने बताए । गत वर्षको तुलनामा खोलामा बाढी निकै कम आएकोले खोलामा ढुंगा, गिटी र बालुवा पर्याप्त नभएको अवस्थामा तीनदेखि चार मिटरसम्म गहिरो खाल्टो खनेर अवैधरूपमा उत्खनन गर्दा नदी किनारका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा परेको स्थानीयवासीको आरोप छ । वातावरणीय मूल्यांकनसमेत नगरी जथाभावी नदीजन्य बस्तु निकालिँदा भविष्यमा यसले तराईका बस्ती र उर्वरा जमिन मरुभूमिमा परिणत हुने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

प्रतिक्रिया