ट्रकोमा निवारणमा नेपाल उत्कृष्ट

उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेपालमा ट्रकोमा (खस्रे रोग) निवारण भएको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार आयोजित ट्रकोमा निवारण समारोहको उदघाटन गर्दै । तस्वीर: रासस

काठमाडौं । संसारकै सबैभन्दा पुरानो संक्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एसियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य संगठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एसियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य संगठन–दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गरे ।

नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रूपमा चिनिन्छ । ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने संक्रामक रोग हो । यसले आँखाको ढकनीमुनिको भागमा खस्रोपना ल्याउने भएकाले खस्रे रोग भनिएको हो । यो रोग लागेपछि आँखा दुख्ने, आँखाको बाहिरी सतह (कर्निया) टुक्रने र अन्त्यमा अन्धोपना हुन्छ । पानीको अभाव, सरसफाइको कमी भएको क्षेत्र र आँखामा बस्ने झिंगा धेरै भएको बाक्लो बस्तीका गरिब समुदायमा यो रोग बढी फैलने चिकित्सकले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले सामूहिक प्रयासबाट रोग निवारण भएको जनाउँदै उपलब्धिलाई कायम राख्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए । संक्रमित व्यक्तिको आँखाको प्रत्यक्ष सम्पर्कबाट वा आँखा वा नाकबाट निष्कने श्रावको सम्पर्कबाट सर्ने रोगलाई सरकारले लामो प्रयासमा निवारण गर्न सफल भएको छ । ट्रकोमा रोग निवारण भएको उपलक्ष्यमा मन्त्रालयले साझेदारी संस्था तथा व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ट्रकोमा निवारण जनस्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको समस्या समाधानमा विशेष रणनीति बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेपालमा सन् १९८१ मा ट्रकोमा फैलिएको पाइएको थियो । एक अध्ययनले अन्धोपनाको दोस्रो मुख्य कारण ट्रकोमालाई देखाएको थियो । अहिले नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका पाँच प्रतिशतभन्दा कम बालबालिकामा मात्र सक्रिय ट्रकोमाका लक्षण रहेको छ । १५ वर्षभन्दा माथि उमेर समूहमा शून्य दशमलव दुई प्रतिशतभन्दा कम व्यक्तिमा ट्रकोमाको विकसित रूप (ट्रकोमाटस ट्रिकायसिस) रहेको मन्त्रालयले जनाएको छ ।

पाँच प्रतिशतभन्दा कम बालबालिकामा ट्रकोमा
इन्टरनेसनल ट्रकोमा इनिसियटिभ (आइटिआई) अमेरिकी सहयोग नीयोग, रिसर्च ट्रयाङग इन्स्टिच्युट इन्टरनेसनल र हेलेन केलर इन्टरनेसनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा सन् २००२ देखि राष्ट्रिय ट्रकोमा कार्यक्रम सुरु गरेको थियो । कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य संठनले सुझाएको रणनीतिअनुसार कार्यक्रम सञ्चालन भएपछि ट्रकोमा प्रमुख जनस्वास्थ्य समस्याबाट सामान्य समस्यामा झारिदिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले बताए । कार्यक्रम सफल पार्न १० हजार सामाजिक परिचालक र १६ हजार बढी स्वास्थ्य स्वयंसेवक परिचालन भएका थिए । सन् २०१४ सम्ममा नेपालमा एक करोड ४७ लाख डोज अजिथ्रोमाइसिन एन्टिबायोटिक वितरण भएको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका पाँच प्रतिशतभन्दा कम बालबालिकामा मात्र सक्रिय ट्रकोमाका लक्षण रहेको र १५ वर्षभन्दा माथिका शून्य दशमलव दुई प्रतिशतभन्दा कम व्यक्तिका ट्रकोमाको विकसित रूप (ट्रकोमाटस ट्रिकायसिस) रहेको मन्त्रालयले जनाएको छ । सन् २०१८ को मे महीनामा विश्व स्वास्थ्य संठनले नेपाललाई ट्रकोमा निवारण भएको देश घोषणा गरेको थियो । जेनेभामा भएको विश्व स्वास्थ्य संठनको ७१औँ महासभामा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्यमा अर्यालले उक्त प्रमाणपत्र ग्रहण गरेकी थिइन् ।

प्रतिक्रिया