राष्ट्रपति र उपराष्ट्रपतिलाई अपमानित गर्नु गलत : सरकार

काठमाडौं । सरकारले राष्ट्रपति र उपराष्ट्रपतिजस्ता सम्मानित संस्थालाई गाडी तथा कार्यालय व्यवस्थापनको विषयलाई लिएर अपमानित गर्न नहुने बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी किन्न लागिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा समेत व्यापक विरोध भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त विषयको खण्डन गरेका हुन् ।

‘राष्ट्रपतिमाथि लगाइएका सम्पूर्ण आरोप निराधार, कपोलकल्पित र खण्डनयोग्य छ । त्यसमा कुनै सत्यता छैन’, प्रवक्ता बाँस्कोटाले भने, ‘१८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि हो ।’ राष्ट्रपतिको सवारी खरिदको विषय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको वेला नै उठेको भन्दै बाँस्कोटाले सरकारको निर्णय बचाउसमेत गरे ।

उनले यो विषय संसद्मा पनि प्रवेश पाइसकेको प्रष्टीकरण दिए । गणतन्त्रको जीवित संकेत नै राष्ट्रपति र उपराष्ट्रपति रहेको उल्लिखित गर्दै मन्त्री बाँस्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरूले नकारात्मक प्रचार गरी स्थापित हुने क्रममा रहेका संस्थाहरूमा समस्या पार्न खोजिएको आरोप लगाए । राष्ट्रपति र उपराष्ट्रपतिले अहिलेसम्म सरकारसँग यस्तो चाहियो भनेर नमागेको भन्दै प्रवक्ता बाँस्कोटाले भने, ‘यो सरकारको आफ्नो कर्तव्यको विषय हो ।’

विदेशी राष्ट्रप्रमुख आउँदा आफ्नै देशबाट गाडी लिएर आउनुपर्ने ‘लज्जास्पद’ अवस्थाको आँकलन गर्न पनि मन्त्री बाँस्कोटाले बताए । राष्ट्रपति विदेश जाँदा वा फर्कदा सडक जाम भएर सर्वसाधारणले दुःख पाउने गरेका कारण प्रहरी प्रतिष्ठान भवनमा ‘हेलिप्याड’ बनाउने निर्णय गरिएको बाँस्कोटाले स्पष्ट पारे । ०७१ सालमा प्रहरी प्रतिष्ठान भवन काभ्रेको पनौतीमा सार्ने भनेर भारत र नेपाल सरकारबीच ‘एमओयू’ भएको बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘अहिले आएर प्रहरी प्रतिष्ठान हटाउन खोजियो भनेर अनावश्यक उचाल्नु जरुरी छैन ।’

प्रतिक्रिया