‘अल्टिमेट आकाश’ बजारमा

काठमाडौं । डायोस्पोरिक साहित्यकार सन्तोष लामिछानेको उपन्यास ‘अल्टिमेट आकाश’ सार्वजनिक भएको छ । अमेरिकामा बसोबास गर्दै आएका लामिछानेको उक्त कृतिमा नेपाली युवाले गर्नुपरेको संघर्ष र सफलताको विषयवस्तलाई समेटिएको छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित उक्त उपन्यास ‘आमाजोन’ बाट अनलाइनमा बिक्री भइरहेको बताइएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्ती एवं ‘नाफा साहित्यिक साँझ २०७५’ का अवसरमा नेपाली अमेरिकी मैत्री संघ ९नाफा०ले आयोजना गरेको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । कृतिमाथि समीक्षा गर्दै लेखक कृष्ण बजगाईंले नेपाली डायास्पोरिक साहित्यमा विषयवस्तु, भाषा र शैलीका हिसाबले रोचक ढंगले उपन्यास आएको धारणा व्यक्त गरे ।

उपन्यासकारका पिता डा। भरत लामिछानेले उपन्यासका सकारात्मक पक्ष र चुनौतीमाथि चर्चा गरेका थिए । उपन्यासकार लामिछानेले अमेरिकी भूमिमा नेपाली युवाका भोगाइलाई उपन्यासको रूप दिइएको र केही हदसम्म भए पनि यसबाट नेपाली युवालाई फाइदा हुनसक्ने विचार व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार विजय मल्लका सुपुत्रीबाट प्रायोजित ‘विजय मल्ल साहित्य पुरस्कार’ कविता प्रतियोगितामा १५ कविता र कृष्णदास मल्लको परिवारबाट प्रायोजित ‘नाफा बालसाहित्य पुरस्कार’ कविता प्रतियोगितामा १५ कविता वाचन गरिएको आविष्कार भारतीले जानकारी दिए ।

‘विजय मल्ल साहित्य पुरस्कार’ तर्फ गंगा मल्ल प्रथम, अप्सरा गिरी द्वितीय र विश्वजित अधिकारी तृतीय भई क्रमशः १५०, १०० र ७५ अमेरिकी डलर प्राप्त गरेका थिए । त्यसैगरी, ‘नाफा बालसाहित्य पुरस्कार’तर्फ एरिना उप्रेती प्रथम, खुसी श्रेष्ठ द्वितीय र जुना रिजाल तृतीय भएबापत क्रमशः अमेरिकी डलर ७५, ५० र ३० प्रदान गरिएको थियो । सो अवसरमा नाफाद्वारा सञ्चालित नेपाली भाषा सिकाउने कक्षाका गुरु र विद्यार्थीले आफ्ना बुबाआमाका लागि ‘तिम्रो लागि सारा संसार’ गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युवावर्गलाई प्रोत्साहन गर्न नेपाली अमेरिकी मैत्री संघ र रिन्युएबल एनर्जी ग्रुप म्याडिसनले रिभा श्रेष्ठ र निऋती अधिकारीलाई छात्रवृतिस्वरूप जनही अमेरिकी डलर ५ सय र प्रमाणपत्र तथा पर्वत रेग्मीलाई ‘नाफा विशिष्ट युवा स्वयंसेवक पुरस्कार २०७५’ प्रदान गरिएको थियो ।

सो अवसरमा अवैतनिक नेपाली महावाणिज्यदूत प्रेमराजा महतले देशबाट टाढा भए पनि देशकै तर्कनामा रहेर नेपाली भाषा र संस्कृति उकास्न र नयाँ पुस्तालाई सिकाउन लागिपरेको नेपाली समुदाय देखेर आफूलाई खुसी लागेको बताए । साहित्यकार गोवद्र्धन पूजाले सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो औँल्याए ।

प्रतिक्रिया