मन्दिरालाई ‘लोक आवाज’को उपाधि

तनहुँ । मौलिक लोकगीत गायन प्रतियोगितामा भिमाद नगरपालिका निवासी मन्दिरा थापाले उपाधि जितेकी छन् । तनहुँ कलाकार संघले आयोजना गरेको ‘तनहुँ लोक आवाज–२’ मा ११ प्रतिस्पर्धीलाई पछि पार्दै मन्दिराले उपाधि हात पार्र्न सफल भएकी हुन् ।

संघले शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको प्रतियोगितामा घिरिङ गाउँपालिका निवासी बोमाया थापाले द्वितीय, भिमाद नगरपालिका निवासी निशान सुनारले तृतीय र रिसिङ गाउँपालिका निवासी शान्तिमाया थापाले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । उपाधिसँगै विजेताले क्रमशः ३० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ हात पारेका छन् । मौलिक लोकगीत संरक्षण गर्ने उद्देश्यले संघले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको छ ।

पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश विभिन्न संस्कृतिले भरिपूर्ण रहेकाले संस्कृति संरक्षणका लागि प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेलगायत कलाकारले संस्कृति संरक्षणका लागि थालेको प्रयास उदाहरणीय रहेको भनाइ व्यक्त गरे ।

संघका अध्यक्ष यामसागर विकले कलाकारको अधिकार स्थापित गर्दै अग्रज कलाकारलाई सम्मान र अनुज कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताए । सोही अवसरमा तनहुँका प्रगतिशील लोक सर्जक दिलीपकुमार श्रेष्ठलाई यस वर्षको ‘स्रष्टा सम्मान’ प्रदान गरियो ।

प्रतियोगितामा संगीतकार तथा गायक दिवान किनार, खड्ग गन्धर्व, रञ्जिता गुरुङ, कृष्णप्रसाद गौतम र केसीमाया रामदामले निर्णायकको भूमिका निर्वाह गरेका थिए । गत भदौ १६ गतेदेखि सुरु भई विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा १२ कलाकारले प्रतियोगितामा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सोही अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमरविरही गुरुङले समेत आफ्नो गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया