बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ?

अमेरिका । शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रिनमा बच्चाको लोकप्रिय अनलाइन खेल ‘फोर्टनाइट’ खेल्न थालिसकेका छन् ।

‘लौ ? मैले जित्नै लागेको थिएँ, म त मरेँ,’ उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई-चार घर टाढा मात्र छ । ‘साथी, मैले हार्नु हुँदैनथ्यो ।’ उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः सुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ ? ‘सम्भवतः’ उनी स्वीकार्छन् ।

उनीहरूले भनेजति खेल्न पाउँदैनन् । अरू धेरै बाबुआमाभैmँ, हेलीहरूले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदै छ । उनीहरू ज्यादै व्यस्त हुन्छन् र जताततै भेटिने डिजिटल सामग्रीसँग कति जुध्नु ?

हेनरीलाई स्क्रिनबाट छुटाउन दिनहुँ संघर्ष नै गर्नुपर्दछ, उनका बुबाआमाले भने । ‘उसलाई स्क्रिनबाट छुटाएर अरू केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,’ उनकी आमा बार्ब हेली भन्छिन् । ‘ऊ रिसाउँछ, निराश हुन्छ । आमा कति खराब हुनुहुन्छ भन्छ । यो किन, केका लागि गरेको भन्छ ।’

विज्ञहरूको भनाइमा यसको लक्ष्य नै बच्चाहरूले ठूलो भएपछि आफ्नै ढंगले केही सोचुन्, गरुन् तथा शारीरिक रूपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनुपर्दछ । अफलाइन हुँदा उनीहरू बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरूको भनाइ छ । तर, धेरै अमेरिकी घरपरिवारमा अभिभावकले बालबच्चासँग धेरै नै संघर्ष गर्नुपरिरहेको छ ।

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चामा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ । तीमध्ये ७० प्रतिशतले दिनमा धेरैपटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन् । सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे । आधाभन्दा बढीले मोबाइलले उनीहरूलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए ।

केही प्रविधि क्षेत्रका कम्पनीले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन् । एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा ‘स्क्रिन टाइम’ सुविधा थपेको छ । यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरूका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ । ‘गुगल फर फेमिलिज’ र ‘गुगल प्ले’ तथा अरू धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन् । तर, यी सुविधाहरू मोबाइलमा आफैँ सेट हुँदैनन् ।

सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो । वाइफाइमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे । छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकुदका भिडियोहरू, अरू मनोरञ्जनात्मक खेल र सामाजिक सञ्जालका साथीसँग गफिएर बिताएका थिए ।

‘मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,’ एलेन भन्छन् । त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाइ बन्द गर्ने निर्णय गरे । कुनै चेतावनी नदिई उनले एकरात वाइफाइ बन्द गरिदिए । एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो । ‘त्यसपछि ऊ बाहिरियो ।’ यो अन्याय भो भन्दै ऊ बाहिर गयो । बाबुले एभरेटको कुरा सुनिरहे । उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने । ‘मैले केही गल्ती त गरेको छैन नि,’ एभरेटले पटकपटक भनिरह्यो ।

यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाता यसलाई ‘कुलत’ भन्नचाहिँ रुचाउँदैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई ‘गेमिङ हलचल वा गडबडी’ भनेको छ । डिजिटल खेलले सम्बन्ध, स्कुल र काममा गम्भीररूपमै व्यवधान ल्याउँछ । अमेरिकी स्वास्थ्य निकायबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ ।

कहिलेकाहिँ, विज्ञका भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ संकटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ । त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ ।

‘एउटा लक्षणमा प्रायः सधैँजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,’ न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन् । ‘यो नै सबैभन्दा ठूलो समस्याको रूपमा पाइएको छ ।’

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे । वाइफाइमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो । आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन् । एभरेटले सेक्सोफोन पनि बजाउँछ । हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन् ।

प्रतिक्रिया