महिला फुटबल प्रतियोगितामा प्रदेश–७ विजयी

काठमाडौं । छैटौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा प्रदेश–७ विजयी भएको छ । भद्रकालीस्थित आर्मी हेडक्वार्टरको खेल मैदानमा भएको खेलमा प्रदेश–७ ले प्रदेश–१ लाई एकका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रदेश–७ को जितमा निलम सिंहले गोल गरिन् । उनले खेलको पहिलो हाफको ४१औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिइन् ।

त्यस्तै, प्रदेश–१ की खेलाडी इमा राईले खेलको ८१आँै मिनेटमा एक गोल फर्काउँदै खेललाई १÷१ गोलको बराबरीमा ल्याइन । तर, त्यो १÷१ गोलको बराबरी लामो समयसम्म टिक्न सकेन । प्रदेश–७ की अर्की खेलाडी अस्मिता चौधरीले खेलको ८७औँ मिनेटमा एक गोल थपेपछि प्रदेश–७ को जित सुनिश्चित भयो ।

विभिन्न १२ टोलीले सहभागिता जनाएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले गरे । उनले आजको खेलको मुख्य रेफ्री माया लामालाई बल प्रदान गर्दै उद्घाटन गरेका हुन् । प्रतियोगितामा तीन विभागीय टोलीसहित भारतका दुई टोली बिहार र सिक्किम तथा सात प्रदेशको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, प्रदेश–१, प्रदेश–७, प्रदेश–५, प्रदेश–२ र भारतको बिहार टोली छन् । त्यस्तै, समूह ‘बी’ मा सशस्त्र प्रहरी बल ९एपिएफ०, नेपाल प्रहरी क्लब, प्रदेश–४, प्रदेश–३, प्रदेश–६ र भारतको सिक्किम छन् । प्रतियोगितामा विजेता टोलीले ३ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी, सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । बिहीबार समूह ‘ए’ बाट प्रदेश–५ र प्रदेश–२ भिड्नेछन् भने समूह ‘बी’ बाट सशस्त्र प्रहरी बल ९एपिएफ० र प्रदेश–४ का बीच खेल हुनेछ ।

प्रतिक्रिया