गर्भवती १२ वर्षीया बालिका प्रसूतिमा

काठमाडौं । १२ वर्षकै कलिलो उमेरमा गर्भवती भएकी मकवानपुर राक्सिराङकी गंगामाया चेपाङलाई प्रधानमन्त्री कार्यालयको सक्रियतामा राजधानीको प्रसूति गृहमा ल्याइएको छ ।

उनको स्वास्थ्य अवस्था जटिल हुने देखिएपछि राक्सिराङ गाउँपालिका–३ सरिखेतकी गंगामायालाई थप स्वास्थ्य परीक्षणका लागि काठमाडौँ ल्याइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपश्चात् उनको थापाथलीस्थित प्रसूतिगृह अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

कक्षा ४ मा अध्ययन गर्दागर्दै गत वर्ष भागेर विवाह गरेकी गंगामाया ३३ हप्ताको गर्भवती हुन् । चिकित्सकहरूले शारीरिक विकास पूर्ण नहुँदै गर्भवती भएकोले जोखिम बढी भएको बताउँदै आएका छन् ।

यसअघि नै सञ्चारमाध्यममा समाचारहरू सार्वजनिक भएपछि स्थानीय वडाअध्यक्षको पहलमा गंगामायालाई हेटौंडा अस्पतालमा पुर्याइएको थियो । उपचारका लागि हेटौंडाभन्दा राजधानी काठमाडौं नै सुविधा हुने भन्दै प्रधानमन्त्री ओलीले उनलाई काठमाडौं ल्याउन निर्देशन दिएका थिए ।

प्रसूति गृहका निर्देशक प्राडा जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती हुनु खतराजनक भएको बताए । उनले भने, ‘मंगलबार यहाँ ल्याइएको हो । सामान्य परीक्षण रगत जाँच, एक्स–रे भएको छ त्यसको रिपोर्ट पनि मैले हेरेको थिए ।

३३ हप्ता भनिए पनि हाम्रो प्रारम्भिक परीक्षणले ३० हप्ताको गर्भवती हुन् कि जस्तो देखिएको छ ।’ उनले थपे, ‘उनी नै १२ वर्षकी छिन् । १० वर्षमा नै भागेर विवाह गरेकी रहिछन् । हाल पेटमा ८ महिनाको बच्चा छ धेरै नै असहज र खतराजनक पनि हुन्छ ।’

आमाकै पुरै अंगहरू विकास भइसकेको हुँदैन नर्मल डेलिभरी हुन गाह्रो हुन्छ । गर्भवती हुँदा गर्नुपर्ने चेकजाँच गरेकी छिन् कि छैनन् ? आइरन, क्याल्सिएम चक्कि खाएकी छन् कि छैनन् ? टिटी लगाइन् कि लगाइनन् यसले गर्दा सोसल समस्या धेरै हुन्छ ।’ डेलिभरी हुन अझै एक महिना कुर्नुपर्ने हुँदा अब अस्पतालमा नै राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘समय-समयमा चेकजाँचका लागि आउन सक्ने भए अस्पतालमा नै बसिरहनु पर्दैन । अहिले हेर्दा त उनको अवस्था पनि सामान्य नै देखिन्छ । अति सानो उमेरमा गर्भवती भएकोले निगरानीको भने एकदमै खाँचो छ ।’

यसअघि प्रधानमन्त्री कार्यालयले चासो दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङको पहलमा चेपाङलाई सोमबार साँझ हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षले आफ्नै गाडीमा राखेर हेटौंडा ल्याएपछि अत्तालिएकी चेपाङ मंगलबार बिहान आफूलाई केही नभएको भन्दै घर फर्काइदिन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया