दक्षिण एसियाली शारीरिक सुगठन ७ मंसिरदेखि

काठमाडौं । पहिलो संस्करणको दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । आयोजक नेप्लिज फेडेरसन अफ बडी बिल्डिङ एन्ड फिटनेसले पत्रकार सम्मेलनका आयोजना गरी प्रतियोगिता मंसिर ७ देखि ९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतियोगितामा दक्षिण एसियाका आठ राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सका गरी एक सय महिला र पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष बडी बिल्डिङ, पुरुष फिजिक्स, महिला फिटनेस र महिला फिजिस्कमा प्रतिस्पर्धा हुने एनएफबीएफका अध्यक्ष शिव लामिछाने विकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगिताले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्ने अवसर पाउने उनको भनाइ थियो । पुरुष बडी बिलिडङतर्फ ६०, ६५, ७०, ७५, ८०, ८५ र ८५ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला फिटनेस खुल्ला तौल समूहको हुनेछ । प्रतियोगिताको लागि कुल रु ४२ लाख खर्च हुने र विदेशी खेलाडीको लागि दर्ता शुल्क ३ सय ५० अमेरिकी डलर तोकिएको छ । नेपाली खेलाडीको छनोट र नेपाली खेलाडीको दर्ता शुल्कबारे केही दिनमा निर्णय हुने बताइएको छ ।

प्रतियोगिता आयोजकको रूपमा रहेको एएफबिएफ इन्टरनेसनल फेडेरेसन अफ बडिबिल्डिङ एन्ड फिटनेस (आइएफबिबी) को महादेशीय सदस्य हो । आइएफबिबीले विश्वकै चर्चित शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर ओलम्पिया’को आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया