रंग‍-विविध

रुकुममा साहित्यिक जमघट

सौर्य अनलाइन २०७५ मंसिर ५ गते ८:१२ मा प्रकाशित

मुसिकोट । साहित्यमार्फत रुकुम (पश्चिम) लाई चिनाउने उद्देश्यका साथ चार दिने साहित्यिक भ्रमण सुरु भएको छ । देशका विभिन्न स्थानबाट मुसिकोटमा साहित्यकारको जमघट भएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले मंगलबार साहित्यिक भ्रमण तथा सिर्जनशील लेखन कार्यक्रम गर्दै छ । रुकुम पश्चिम र पूर्वका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसँगै सिर्जनशील लेखन तथा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखाकी अध्यक्ष मनला ओलीले जानकारी दिइन् ।

कार्यक्रमको पहिलो दिन बिहान ७ बजे यमुना नन्द नमुना माविको सेरीगाउँमा रहेको पारिजातको मूर्तिमा माल्यार्पण गरी कार्यक्रमको सुरुआत गरिएको छ । त्यसलगत्तै मुसिकोट बहुमुखी क्याम्पसमा पुगेर सिर्जनशील लेखन कक्षा उद्घाटन र लक्ष्मीप्रसाद देवकोटाको मूर्तिमा माल्र्यापण गरिएको छ ।

कार्यक्रममा घोस्ट राइटिङ नेपालको संयोजन छ । अभियानमा सहभागी साहित्यकारको टोलीले यहाँको डिग्रे मन्दिर, जन्ती बस्ने लेक, बहुमुखी क्याम्पसका साथै साँखको ठूली दहलगायत स्थानमा पुगेर साहित्यिक कार्यक्रम गर्ने भएको छ । त्यस्तै, जिल्लाका त्रिवेणी, बाँफीकोट र चौरजहारी र रुकुम पूर्वको रुकुमकोटमा पनि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । अभियानले रुकुम पूर्व र पश्चिमका विभिन्न पर्यटकीयस्थलमा पुगेर साहित्यिक लेखरचना वाचन, अवलोकन तथा कविका मूर्तिमा माल्यार्पण पनि गर्ने भएको छ ।

सो साहित्यिक अभियानमा आख्यानकार नयनराज पाण्डे, निबन्धकार युवराज नयाँघरे, पत्रकार अश्विनी कोइराला, घोस्ट राइटिङका कमल ढकाल, कवि भूपिनलगायत जिल्लाका प्रसिद्ध लेखक तथा साहित्यकार एवं राप्ती साहित्य परिषद् जिल्ला शाखाका पदाधिकारीको पनि सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय