रंग‍-विविध

सोरठी नाच जोगाउने प्रयास

मीना बुढाथोकी २०७५ मंसिर ३ गते ७:४७ मा प्रकाशित

सल्यान । पुरुषले महिलाको भेषमा कलात्मक ढंगले नाच्ने सोरठी नाच सल्यान जिल्लाको पहिचान मानिन्छ ।

तर, यो नाच पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले जिल्लाका अधिकांश स्थानमा दसैँ, तिहार, मेला, पर्व, विवाह, व्रतबन्ध आदिमा यो नाच प्रस्तुत हुन्थ्यो । तर, पछिल्ला पुस्ताले सोरठी भनेको के हो भनेर सोध्लान् जस्तो भइसकेको छ ।

लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा सल्यानमा पहल थालिएको छ । विभिन्न स्थानीय तहले मौलिक कला संस्कृति संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएकाहरू ब्युँझने कोसिस गरेका छन् । युवापुस्ता पनि सोरठी सिक्ने प्रयासमा रहेका छन् ।

यस जिल्लामा नाचिने सोरठीमा दुई जना मारुनी र एक जना पुरुसुङे हुन्छन् । केटा मान्छे नै केटीको पहिरनमा मारुनी बनेका हुन्छन् । यस्तै यस नाचमा तीन जना मादले हुन्छन् । सल्यानको हकमा हेर्ने हो भने क्षेत्रीहरूको सोरठी नाचमा सहभागिता केही बढी देखिन्छ ।

सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतिर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टीका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।

सोरठीका विभिन्न चरणहरू रहेका हुन्छन् । सल्यानमा ५२ चरण गाउने गरेको पाइन्छ । तर पछिल्लोसमय यो घटेर १२ देखि १५ चरणसम्म सीमित रहेको वरिष्ठ बाध्यबाधक खर्क बुढाले बताए । उनले भने, ‘सुरुको चरणलाई समेर्ने चरण भनिन्छ ।

सोरठी नाचमा दैवीय शक्ति छ भन्ने पनि विश्वास गरिन्छ । किनकी सुरुको चरण समेर्ने चरणमा केही व्यक्ति काँप्ने गर्छन् । समेर्ने चरणमा सरस्वती लगायतका देवीदेवतालाइ पुकार्ने भएकाले सरस्वती चढ्ने व्यक्ति काँप्ने गर्दछन् ।’ नाच अन्त्य गर्दा नियमअनुसार मारुनी, पुरुसुङे, मादले लगायतकाले आपूmले पहिरिएका नाचका पोसाकहरू नाच्दै क्रमैसँग फुकाल्ने गर्दछन् ।

दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ । समाजमा सानो, ठूलो, जातभात, धनी गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाइ बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीय बुढापाकाको भनाइ रहको छ ।

कतै जीवितै छ सोरठी

उसो त सोरठी नाच कुनै कुनै गाउँमा अझै पनि जीवितै छ । जिल्लाको पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरी, चैवाङ, मार्के, रीम, गर्पा, धनवाङजस्ता क्षेत्रमा यो नाच केही बुढापाकाले बचाएका छन् ।

यस्तै सल्यानको गाँडापानीमा दलित समुदायले यो नृत्यलाई संरक्षण गरेर राखेका छन् । पिमखोलाबाट सोरठी नाच सिकेको जनाउँदै ७५ वर्षीय श्यामलाल विकले यसपालिको तिहार र दसैँमा सोरठी नाच गाउँमा नाचिएको बताए ।

यस्तै गाँडापानीकै रामलाल विकले हरेक वर्ष आफ्नो गाउँमा सोरठी नाचिने र पछिल्ला युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने कार्य चलिरहेको जनाए । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको संगीत र लयको बारेमा पछिल्लो पुस्तालाई पनि जानकारी हुन आवश्यक रहेको सोरठीका संरक्षणकर्ता तथा वरिष्ट वाद्यवादक खर्कबहादुर बुढा बताउँछन् ।

यस जिल्लाको सोरठी निकै लोकप्रिय मानिन्छ । केटा मान्छे केटीको पहिरनमा नाच्ने सोरठी सल्यानको विशेष संस्कृति र कला हो । यसमा मारुनी, पुरुसुङे, मालदे तथा नचारुहरूको बेजोड प्रस्तुतिले जो कोहीको पनि मन लोभिन्छ । यसर्थ सोरठी नाच पनि सल्यानीको धरोहर र पहिचान हो । बुढापाका भन्छन्, ‘थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था पनि आइसकेको छ । त्यसैले यसतर्फ सचेत हुनुपर्छ ।’

पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवाहरू विदेश पलायन हुने वाध्यताले पनि गाउँका यी लोकप्रिय नाचहरू पनि विस्तारै हराउँदै जान थालेको आभाष हुन्छ । यसलाई पछिल्ला सन्ततीहरूले पनि सोरठीको खोजीमा र यो नाच सिक्न तर्फ अग्रसर हुनुपर्छ ।

गाँडापानीका युवा छेत्रबहादुर विकले यो तिहारमा सबैले एकै खाले पोसाक व्यक्तिगत रूपमा किनेर लगाई सोरठी नाचिएको बताए । उनले भने, ‘हामी हाम्रा मौलिक संस्कृति हराउने स्थितीमा नजाउन भनेर संरक्षणमा जुटेका छौँ ।

संस्थाकै रूपमा दर्ता भएर सोरठी तथा वनगाडी नाच जगेर्ना गर्ने अभियानमा लागेका छौँ ।’ सोरठीकै संरक्षणका लागि भन्दै गाँडापानीका युवक धनबहादुर विकले मारुनीका लागी दुई जोडी पोसाकसमेत सहयोग गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय