छात्रा जिस्काएको निहुँमा झडप

रौतहट । रौतहटको गौर नगरपालिकामा विद्यालयमा अध्ययन गर्न जाने छात्राहरूलाई जिस्काएको निहुँमा झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

गौर नगरपालिका–६ पुरेनवाबाट विद्यालय पढ्न आउने छात्राहरूलाई बरहवा खोलामा रहेको झोलुंगे पुलमा वडा–५ का केटाहरू बसेर जिस्काउने गरेका थिए । छात्राहरूले आप्mना अभिभावकलाई भनेपछि केटाका अभिभावकलाई सम्झाउन जाँदा वादविवाद भई दोहोरो झडप भएको हो । झडपमा परी वडा–६ पुरेनवाका ५० वर्षीय बदामी साह, २८ वर्षीय शिकारचन राम र २४ वर्षीय अनील साहसहित ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये बदामीको टाउकोको हड्डी भाँचिएको, राम र साहको पनि टाउकोमा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल गौरमा सामान्य उपचारपछि थप उचारको लागि वीरगञ्ज पठाइएको थियो । वीरगञ्जस्थित न्युरो अस्पतालमा तीनै जनाको उपचार भइरहेको छ भने उपचारमा संलग्न चिकित्सकका अनुसार बदामीको अवस्था चिन्ताजनक रहेको छ । अन्यको अवस्था भने सुधारोन्मुख रहेको छ ।

यसैबीच घटनामा संलग्न रहेका जितेन्द्र कुश्वाहालाई प्रहरीले. पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कुश्वाहाको बयानका आधारमा दोषीहरू पहिचान भइसकेको हुँदा उनीहरूलाई यथाशीघ्र पक्राउ गरिने रौतहट प्रहरीका प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

दोहरो झडपमा परेर गम्भीर घाइतेहरूको घरायसी अवस्था अत्यन्तै दयनीय रहेको हुँदा उपचार गर्नसमेत रकम अभाव भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता शम्भु साह कानुले उनीहरूको उपचारका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको पीडित परिवारले जनाएको छ ।

प्रतिक्रिया