कृषि विकास फार्मले भण्डारण गरेको गहुँको बिउमा कीरा

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको कृषि विकास फार्मले भण्डारण गरेको गहुँको मल बिउमा कीरा लागेपछि सफा गर्न थालिएको छ । किसानलाई गहुँको बिउ अभाव भएका वेला फार्मका कर्मचारीको लापर्बाहीका कारण भण्डारण गरिएको गहुँमा कीरा लागेको हो ।

भण्डारण गर्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा गहुँमा कीरा लागेको बताइएको छ । भण्डारण गरिएको १ सय ५० क्विन्टल गहुँमध्ये विजय जातको ५० क्विन्टल बढी गहुँमा कीरा लागेको फार्मका वरिष्ठ बागबानी विकास अधिकृत गोविन्दराज जोशीले जानकारी दिए ।

‘गहुँ काटेपछि खेतमै भिज्यो,’ अधिकृत जोशीले भने, ‘राम्ररी सुक्न पाएन, त्यसै कारणले कीरा लागेको हुनसक्छ ।’ भदौमा कार्यालय र कर्मचारी समायोजन गरिएको कारणसमेत भण्डारण गृहको रेखदेख हुन नपाउँदा गहुँमा समस्या देखिएको उनको तर्क छ । विषादी हाल्दासमेत किरा नियन्त्रण नभएपछि गहुँलाई ग्रेडिङ मेसिनमा राखेर सफा गरिन थालिएको छ ।

गहुँमा कीरा लागे पनि नबिग्रिएको अधिकृत जोशीले बताए । भण्डारण गरिएको गहुँको उम्रने शक्ति ९० प्रतिशत रहेको फार्मका कर्मचारीको दाबी छ । फार्मको स्वामित्वमा रहेको १३ हेक्टर जग्गामा ३ सय ५० क्विन्टल बढी गहुँको मल बिउ उत्पादन हुने गरेको छ ।

दुई दशकपछि फार्म कार्यालय पुनः स्थापना
दुई दशकअघि बन्द भएको कृषि विकास फार्म कार्यालय पुनः सञ्चालनमा आएको छ । ०५५ सालअघि बन्द रहेको कार्यालय गत भदौदेखि सञ्चालनमा आएको हो । फार्म कार्यालय यसअघि क्षेत्रीय बिउबिजन प्रयोगशालाले हेर्दै आएको थियो ।

फार्म कार्यालय पुनः सञ्चालनमा आएपछि फार्मको रेखदेख गर्ने, बिउ उत्पादन गर्ने, नयाँ प्रविधिको विकास गर्ने, स्थानीय बाली संरक्षण गर्ने, कृषि जैविक विविधता संरक्षणको कार्य अगाडि बढाउने र तरकारीका बिरुवा उत्पादन गरी किसानलाई उपलब्ध गराउने काम अघि बढाइनेछ ।

किसानलाई सहजरूपमा कृषि उपकरण र औजार उपलब्ध गराउनका लागि कस्टम हायर सेन्टर सञ्चालन गर्ने योजनासमेत अघि सारिएको वरिष्ठ बागबानी विकास अधिकृत गोविन्दराज जोशीले बताए ।

प्रतिक्रिया