सहकारीबाट सक्षम बन्दै महिला

कुनै समय सहकारीमा आबद्ध भएर दैनिक २० रुपैयाँ बचत सुरु गरेका महिलासँग अहिले करिब २ करोड रुपैयाँको पुँजी छभन्दा पत्याउन मुस्किल पर्ला । तर, दाङ घोराही–१८ गिठेपानीमा रहेको एकता महिला विकास बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था अहिले आर्थिकरूपमा सम्पन्न भइसकेको छ ।

सहकारीले ठूलो मात्रामा आर्थिक कारोबार गरिरहेको छ । ०५४÷५५ मा रुखमुनि बसेर सुरु गरिएको बचत सहकारीसँग अहिले आफ्नै तीन तले पक्की घरका साथै बेसार उद्योग पनि छ । सुरुमा न्यूनतम २० रुपैयाँ जम्मा गर्न नसक्ने महिला अहिले मासिक पाँच सयदेखि २ हजारसम्म नियमित बचत गर्ने भइसकेका छन् ।

गाउँका ६० जना महिलालई जम्मा पारेर सुरु गरिएको सहकारीमा अहिले करिब ५ सयको हाराहारीमा सदस्य पुगेको सरकारी संस्थाकी अध्यक्ष यशोदा पाण्डेले बताइन् । आफूहरूले सहकारीमा जम्मा गरेको पुँजी कृषि, पशुपालन, व्यापार व्यवसाय, शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको उनले बताइन् ।

सहकारीमा आबद्ध महिलाको पहिले र अहिलेको स्थितिबारे जानकारी गराउँदै अध्यक्ष पाण्डे भन्छिन्, ‘सुरुमा बचत गर्न सिकाउन महिला विकासबाट कर्मचारी आउँदा हामी ढोका थुनेर लुक्थ्यौँ तर अहिले हरेक ठाउँमा पुगेर आफ्नो प्रस्ट विचार राख्ने भइसकेका छाँै ।’
सहकारीले महिलाको आर्थिक पाटो मात्र नभई सीप, क्षमता र चेतना विस्तार पनि गरेको उनको भनाइ छ ।

घोराहीको विकट क्षेत्र मानिने १८ का करिब २ सय महिला सहकारीले बेसार उद्योग पनि सञ्चालन गरेको छ । बेसार हलेदो रोप्नेदेखि बजारमा पु¥याउनेसम्म सहकारीमा आबद्ध महिला आफँैले गरिरहेका छन् । यहाँबाट उत्पादन हुने बेसार अहिले दाङ, पोखरा, काठमाडौंको बजारमा पनि पुगिरहेको छ । बेसार कर्मचारी, चिकित्सक र ठूला होटलमा माग हुनेगरेको उक्त सहकारीले जनाएको छ ।

सुरुमा ४८ महिलाले सय रुपैयाँको सेयर र २५ रुपैयाँको बचत गरेर सुरुआत गरेको अर्को सौभाग्य महिला बचत तथा ऋण सहकारी संस्थासँग अहिले ७५ लाख रकम जम्मा भइसकेको छ । उक्त सहकारीकी अध्यक्ष हुमा डिसीका अनुसार अहिले सहकारीमा २२ लाख रुपैयाँ त सेयर मात्रै पुगेको छ । सहकारी संस्थाले मासिक, दैनिक, ऐच्छिक र बालबचत पनि सञ्चालन गरिरहेको छ ।

अध्यक्ष डिसीका अनुसार बचत मात्र होइन, सहकारीले महिलाका आयआर्जनमा लगानी पनि गरेको छ । महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको लगानीबाट सहकारीमा आबद्ध महिला प्रायः आत्मनिर्भर बनिसकेका छन् । ‘हाम्रो सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेका महिला अहिले सक्षम भइसकेका छन् ।’

अध्यक्ष डिसी भन्छिन्, ‘तरकारीखेती, पशुपालन र व्यापार गर्ने महिला धेरै छन् । सडक नाङ्लोमा व्यापार गरेर बस्नेहरू अहिले सटरमा आइसकेका छन् । सहकारीकै लगानीमा व्यवसाय सुरु गरेका कतिपय महिलासँग अहिले आफ्नै गाडीसमेत रहेको उनको भनाइ छ । सहकारी संस्थाले गरेको राम्रो गतिविधिको आधारमा अहिले सहकारीलाई सरकारी निकायले विश्वास गरेर सेवा केन्द्र सञ्चालन गर्न दिएको छ ।

घोराही १० नारायणपुरमा रहेको सर्वेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था पनि एउटा सक्षम महिला सहकारीको रूपमा चिनिन्छ । उक्त सहकारीमा अहिले करिब ५५ लाख रुपैयाँ रकम जम्मा भइसकेको छ भने ६० लाख रुपैयाँ बराबरको भौतिक सम्पत्ति सहकारीले आफ्नो नाममा जोडिसकेको छ । सहकारी संस्थाले गाउँका करिब ६ सय ५० महिलालाई सहकारीमा आबद्ध गरेको छ ।

सहकारीकी अध्यक्ष मञ्जु न्यौपानेका अनुसार सहकारीको लगानीबाट अहिले त्यहाँका धेरै महिला बाख्रापालन, च्याउ उत्पादन, सिलाइकटाइ र अन्य व्यापार व्यवसाय गर्ने भइसकेका छन् । सहकारी संस्थाले हिंसामा परेकालाई आश्रय दिने उद्देश्यले महिला विकासको सहयोगमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । त्यस्तै, महिलाका लागि चेतनामूलक कार्यक्रम, सीपमूलक र क्षमता अभिवृद्धिका कार्यक्रम आफूले सञ्चालन गरिरहेको अध्यक्ष केसीको भनाइ छ । अब सहकारीको कारोबारलाई कम्प्युटर प्रणालीमा लैजाने तयारी गरिरहेको उनले बताइन् ।

जिल्लाको घोराही क्षेत्रमा मात्रै अहिले ११ महिला सहकारीले सयौँ महिलालाई एकताबद्ध गरेर लाखाैँको कारोबार गरिरहेको घोराही उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत मोती विश्वकर्माले बताइन् ।

घोराहीकै सैघा, सौडियार, लक्ष्मीपुर, रामपुर तथा धर्नालगायत स्थानमा रहेका महिला सहकारी संस्थाले आयआर्जन, सीपमूलक र चेतनामूलकजस्ता काममा अग्रसर रहेको उनको भनाइ छ । ‘महिला सहकारीले गरेको सफलताको कारण अहिले धेरै महिला पैसाको कारोबारमा अगाडि छन् भने आयआर्जनका गतिविधि पनि धैरै छन् ।

अधिकृत विश्वकर्मा बताउँछिन् । ‘सहकारीले महिलालाई सक्षम बनाएको छ ।’ सहकारीमा आबद्ध भए पनि महिलाको जीवनशैलीमा नै परिवर्तन आउनाका साथै महिला एकताबद्ध हुँदा समाजमा सामाजिक, आर्थिक र राजनीतिक रूपमा सकारात्मक परिवर्तन पनि बढ््न थालेको छ ।

प्रतिक्रिया